काठमाडौं । उद्योगी शेखर गोल्छाले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा मानवीय सहायता कार्यका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा १ करोड ५० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् ।
गोल्छाले बिहीबार फेसबुकमार्फत बाढी प्रभावित क्षेत्रबाट आइरहेका तस्बिर र भिडियोले सबैलाई स्तब्ध र दुःखी बनाएको उल्लेख गर्दै विपद्मा ज्यान गुमाउनेका परिवारप्रति हार्दिक समवेदना व्यक्त गरेका छन् । उनले अझै पनि आफ्ना आफन्तको खोजीमा रहेका परिवारको पीडा र चिन्तामा आफूहरू साथमा रहेको बताएका छन् ।
उनले अहिलेको अवस्थामा सबैभन्दा ठूलो प्राथमिकता उद्धार, राहत र प्रभावित परिवार तथा समुदायसम्म आवश्यक सहयोग पुर्याउनु रहेको उल्लेख गरेका छन् ।
गोल्छाले विपद्को समयमा निजी क्षेत्र पनि सरकार र समुदायसँग हातेमालो गर्दै राहत तथा पुनर्स्थापनामा सक्दो योगदान दिनुपर्ने साझा जिम्मेवारी रहेको बताएका छन् ।
सोही प्रतिबद्धताअनुसार गोल्छा ग्रुपले बाढी प्रभावितहरूको उद्धार, राहत तथा मानवीय सहायता कार्यमा सहयोग पुर्याउन प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा १ करोड ५० लाख रुपैयाँ उपलब्ध गराउने घोषणा गरेको हो ।
गोल्छाले विपद्बाट प्रभावित सबै परिवार र समुदायप्रति गोल्छा ग्रुपको साथ र ऐक्यबद्धता रहने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।