प्रहरीको आग्रह– फेसबुकमा राहतको नाममा पैसा मागेमा नदिनू

काठमाडौं । नेपाल प्रहरीले राहत कोषका नाममा सामाजिक सञ्जाल र अन्य डिजिटल माध्यमबाट स्क्याकम तथा दुरूपयोग हुने भएकाले नागरिकहरूलाई सचेत रहन आग्रह गरेको छ ।

‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ वा ‘प्रधानमन्त्री राहत कोष’ को नाम प्रयोग गरेर व्यक्तिगत बैंक खाता वा ई–वालेटमा रकम माग्ने, आधिकारिक निकायको लोगो, नाम वा ढाँचा नक्कल गरी बनाइएका फर्जी क्यूआर कोड सामाजिक सञ्जालमा प्रसार गर्ने जस्ता स्क्यामका सम्भावित तरिकाहरू हुन सक्ने हुनाले त्यसप्रति सचेत रहन नेपाल प्रहरीले अनुरोध गरेको छ ।

यसैगरी, फेसबुक, ह्वाट्सएप, टिकटक, इन्स्टाग्राम, भाइबर लगायतका प्लेटफर्ममा फरक–फरक ‘राहत कोष’ वा ‘सहयोग अभियान’ का नाममा बनाइएका फर्जी पेज वा समूह सञ्चालन गर्ने, ‘राहत सहयोग दर्ता’ का नाममा फोन कल मार्फत व्यक्तिगत तथा बैंकिङ विवरण माग्ने, फिसिङ लिंक पठाई ओटीपी, पासवर्ड चोरी गर्ने, ‘म सुरक्षित छु, मलाई पैसा पठाइदिनू’ भनेर अपरिचित नम्बरबाट मेसेजहरू पठाई आर्थिक सहयोग माग्न सक्ने प्रहरीर्ले जनाएको छ ।

पैसा माग गर्ने प्रति सचेत रहन र कुनै पनि सहयोग रकम पठाउनुअघि सम्बन्धित कोषको खाता विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आधिकारिक वेबसाइट वा प्रमाणित सामाजिक सञ्जाल पेज बाट मात्र पुष्टि गर्न प्रहरीले उल्लेख गरेको छ।

अपरिचित व्यक्ति वा पेजबाट आउने क्यूआर कोड, लिंक वा खाता नम्बरमा तत्काल विश्वास नगर्न, कसैले फोन वा म्यासेजमार्फत बैंक खाता नम्बर, कार्ड विवरण, पिन वा ओटीपी माग्यो भने साझा नगर्न एवं अपरिचित व्यक्तिले सहयोग रकम माग गरेमा, पैसा पठाउनु अघि अनिवार्य रूपमा भिडियो कल गरेर वा प्रत्यक्ष फोन गरेर पुष्टि गर्न प्रहरीले नागरिकहरूलाई अनुरोध गर्दछ ।

कुनै पनि व्यक्ति वा समूहले विपद् राहतको नाममा स्क्याम गरेको वा गर्न खोजेको शंका लागेमा नजिकको प्रहरी कार्यालय वा साइबर ब्यूरोमा तुरुन्त सम्पर्क गर्न समेत अनुरोध गरिएको छ ।

Share News