सर्वोच्चको आदेशपछि कांग्रेस एकताबद्ध हुने सम्भावना बढ्यो : शशांक कोइराला

काठमाडौं । नेपाली कांग्रेसका राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले सर्वोच्च अदालतको पछिल्लो आदेशपछि पार्टीभित्र एकताको सम्भावना थप बलियो बनेको बताएका छन् ।

शुक्रबार (आज) सम्पर्क कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले अदालतको आदेशले कांग्रेसभित्र नयाँ राजनीतिक परिस्थिति सिर्जना गरेको उल्लेख गर्दै राष्ट्रिय भेलाप्रति नेता–कार्यकर्ताको आकर्षण बढ्दै गएको दाबी गरे । 

उनका अनुसार भेलामा सहभागी हुनेको संख्या अपेक्षाभन्दा बढी हुने संकेत देखिएको छ ।

पूर्वसभापति शेरबहादुर देउवा साउन २६ गते स्वदेश फर्किने कार्यक्रम रहेको उल्लेख गर्दै कोइरालाले उनको आगमनका क्रममा कुनै धरपकड नहुनेमा विश्वास व्यक्त गरे । 

यदि त्यस्तो अवस्था सिर्जना भए त्यसको राजनीतिक प्रतिवाद गरिनेसमेत उनले चेतावनी दिए ।

‘उहाँ फर्किँदा त्यस्तो धरपकड हुँदैन भन्ने हाम्रो विश्वास छ । यदि त्यस्तो भइहाले हामी विरोध गर्छौं,’ उनले भने ।

पत्रकार सम्मेलनमा पार्टीका वरिष्ठ नेता पूर्णबहादुर खड्का अनुपस्थित हुनुको कारण स्वास्थ्य अवस्था रहेको जानकारी पनि उनले दिए। 

खड्काको स्वास्थ्यमा सुधार भइरहे पनि चिकित्सकको सल्लाहअनुसार आराम गरिरहेकाले कार्यक्रममा सहभागी हुन नसकेको उनले बताए ।

त्यसैगरी, अर्का नेता डा. शेखर कोइरालाले पनि राष्ट्रिय भेलालाई समर्थन गरेको दाबी गर्दै उनले विराटनगरस्थित निजी निवास निर्माणको काममा व्यस्त रहेकाले कार्यक्रममा उपस्थित हुन नसकेको बताए ।

Share News