राहदानी विभागमा नयाँ प्रणाली सञ्चालन सुरू, अत्यावश्यक भए मात्र आवेदन दिनू

काठमाडौं । राहदानी विभागले राहदानी अतिआवश्यक भएका व्यक्तिहरूलाई मात्र आवेदन दिन आग्रह गरेको छ ।  विभागले सोमबारदेखि नयाँ राहदानी उत्पादन तथा व्यवस्थापन प्रणाली कार्यान्वयनमा ल्याउँदै सेवा सञ्चालन सुरु गरेपछि अतिआवश्यक सेवाग्राहीलाई मात्र आवेदन दिन अनुरोध गरेको हो । नयाँ प्रणालीलाई चाँडै पूर्ण क्षमतामा सञ्चालनमा ल्याएपछि थप सेवाग्राहीले आवेदन दिन सक्ने विभागले जनाएको छ । परराष्ट्र मन्त्रालय अन्तर्गत रहेको नेपालको सूचना प्रविधि इतिहासकै सबैभन्दा ठूलो ‘डेटा माइग्रेसन’ समेत सम्पन्न गरेको छ । यस प्रक्रिया अन्तर्गत करिब एक करोड नेपाली नागरिकका राहदानीसम्बन्धी व्यक्तिगत विवरणहरू सुरक्षित रूपमा नयाँ प्रणालीमा स्थानान्तरण गरिएको विभागले जनाएको छ । यो वृहत् प्रणाली कार्यान्वयनसँगै राहदानी सेवा थप आधुनिक र व्यवस्थित हुने विभागले उल्लेख गरेको छ । नयाँ प्रणाली ‘गो लाइभ’ भएपछि सुरुवाती दिनहरूमा केही प्राविधिक चुनौतीहरू देखिनु स्वाभाविक रहेको विभागको भनाइ छ ।  प्रणालीमा केही सुस्तता र राहदानी वितरणमा सामान्य ढिलाइ हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै विभागले पूर्वतयारी स्वरूप प्राविधिक टोलीलाई तयारी अवस्थामा राखेको छ । विभागका अनुसार प्रणाली विकास गर्ने कम्पनीका विशेषज्ञ र विभागको प्राविधिक टोली चौबीसै घण्टा प्रणालीको अनुगमन, परीक्षण र सुधारमा खटिएका छन् । सुरुवातीमा देखिएका समस्याहरूको शीघ्र र दीर्घकालीन समाधानका लागि विभाग पूर्ण रूपमा सक्षम र प्रतिबद्ध रहेको जारी विज्ञप्तिमा उल्लेख छ । नयाँ प्रणालीलाई स्थिर र थप प्रभावकारी बनाउन सहयोग पुर्‍याउन विभागले सेवाग्राहीहरूमा विशेष अनुरोध गरेको छ ।  साथै, राहदानी सेवासम्बन्धी कुनै पनि भ्रममा नपर्न र विभाग वा मन्त्रालयको आधिकारिक माध्यमबाट सम्प्रेषित सूचनालाई मात्र आधार मान्न सम्पूर्ण सेवाग्राहीहरूलाई सूचित गरिएको छ । विभागले नेपाली नागरिकहरूलाई छिटो, छरितो र विश्वसनीय सेवा प्रदान गर्न विभाग सदैव तत्पर रहने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।

अन्सारीलाई भेटेका सहमहामन्त्री रसाइली भन्छन् - सरकारले प्रतिशोधपूर्ण व्यवहार गरिरहेको छ

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाश स्नेही रसाइलीले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररत अधिकारकर्मी मजिद अन्सारीलाई भेट गरी उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । भेटका क्रममा रसाइलीले अन्सारीको अधिकारको लडाइँप्रति आफ्नो ऐक्यबद्धता व्यक्त गर्दै उनीमाथि राज्यले प्रतिशोधपूर्ण व्यवहार गरिरहेको आरोप लगाए । अस्पतालबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै रसाइलीले सुकुम्बासी समुदायको अधिकारका पक्षमा आवाज उठाएकै कारण अन्सारीलाई राज्यको निशानामा पारिएको दाबी गरे । लोकतान्त्रिक व्यवस्थामा अधिकारका लागि संघर्ष गर्ने व्यक्तिलाई दण्डित गर्ने प्रयास स्वीकार्य हुन नसक्ने उनको भनाइ थियो । ‘सुकुम्बासीको अधिकारका पक्षमा उभिएकै कारण एउटा अधिकारकर्मीले यस्तो तहको प्रतिशोध खेप्नुपर्ने अवस्था आउनु लोकतन्त्रका लागि लज्जास्पद विषय हो,’ रसाइलीले भने, ‘अधिकारका लागि आवाज उठाउने नागरिकलाई अपराधीसरह व्यवहार गर्नु लोकतान्त्रिक मूल्य र मान्यताविपरीत हो ।’ रसाइलीले उपचाररत अन्सारीमाथि सरकारले अभद्र व्यवहारसम्बन्धी मुद्दा चलाउने तयारी गरिरहेको सूचना आफूले पाएको बताए । उनले अन्सारीलाई आफ्ना कानुनी प्रतिनिधिसँग समेत एकान्तमा भेट गर्न नदिइएको तथा स्वास्थ्य अवस्था पूर्ण रूपमा सामान्य नभइसकेकै अवस्थामा अस्पतालबाट डिस्चार्ज गराउन दबाब दिइएको जानकारी पनि आफूले पाएको दाबी गरे । उनले उपचाररत व्यक्तिको आधारभूत कानुनी तथा मानवीय अधिकारको सम्मान गर्न सरकारसँग आग्रह गर्दै अन्सारीलाई निष्पक्ष र मानवीय व्यवहार गर्नुपर्नेमा जोड दिए । रसाइलीले अधिकारकर्मीमाथि हुने कुनै पनि प्रकारको दमन वा प्रतिशोध लोकतान्त्रिक समाजका लागि चिन्ताको विषय भएको उल्लेख गरे । अधिकारकर्मी अन्सारी हाल त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररत छन् ।

सडक भासिँदा मेची राजमार्ग बन्द, पाँचथर र ताप्लेजुङको झापासँग सम्पर्क टुट्यो

काठमाडौं । मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क-राजदुवाली सडकखण्ड अवरुद्ध भएको छ । दुई दिनदेखिको वर्षाका कारण इलाम नगरपालिका-९ स्थित उक्त सडकखण्ड भासिएपछि सडक बन्द गरिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले जानकारी दिए ।  ढकालका अनुसार उक्त सडकमा विगत चार दिनदेखि ठूला सवारीसाधन सञ्चालन हुन सकेका छैनन् । आइतबारसम्म मोटरसाइकल सञ्चालन गर्न दिइएको भए पनि गएराति सडक थप भासिएपछि सोमबारदेखि सबै प्रकारका सवारीसाधन सञ्चालन पूर्ण रूपमा बन्द गरिएको हो । सडक अवरुद्ध भएपछि इलाम सदरमुकामसहित पाँचथर र ताप्लेजुङको झापासँगको सडक सम्पर्कविच्छेद भएको छ । इलाम, पाँचथर र ताप्लेजुङबाट झापातर्फ गएका तथा झापाबाट इलाम, पाँचथर र ताप्लेजुङतर्फ आएका ठूलो सङ्ख्याका मालवाहक तथा अन्य सवारीसाधन माइखोलाको दुवै किनारमा रोकिएका छन् । ‘दिनदिनैको वर्षाले सडक भासिने र पहिरो झर्ने क्रम बढ्दो छ,’ प्रमुख जिल्ला अधिकारी ढकालले भने, ‘आइतबारसम्म मोटरसाइकल सञ्चालन गर्न दिएका थियौँ । जोखिम झन बढेकाले आजदेखि उक्त सडकखण्ड अनिश्चितकालका लागि पूर्ण रूपमा बन्द गरेका छौँ ।’ राजदुवाली खण्डको वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आएको तिल्केनी-सिमलगोला सडकअन्तर्गत जोगमाई खोलाको डाइभर्सन आइतबारको बाढीले बगाएपछि उक्त सडक पनि अवरुद्ध भएको छ । यस्तै, इलाम-झापा जोड्ने छोटो दूरीको केचना-कञ्चनजङ्घा सडक (मेची करिडोर) अन्तर्गत पुवा खोलाको डाइभर्सन पनि बाढीले बगाएपछि इलाम, पाँचथर र ताप्लेजुङको झापासँगको सडक सम्पर्कविच्छेद भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।  सडक डिभिजन इलामका प्रमुख भवन भट्टराईका अनुसार जोगमाई र पुवा खोलामा बेलीब्रिज जडानका लागि डेढ महिनाअघि नै सिभिल संरचना तयार भए पनि भारत सरकारले निःशुल्क उपलब्ध गराएको बेलीब्रिजको सामग्री हालसम्म नआउँदा समस्या समाधान हुन सकेको छैन । सडक पूर्ण रूपमा अवरुद्ध भएपछि अत्यावश्यक कामका लागि यात्रा गरेका सर्वसाधारण पहिरो प्रभावित राजदुवाली खण्ड पैदल पार गरेर गन्तव्यतर्फ जान बाध्य भएका छन् ।