विद्युत मर्मतमा अब ढिलाइ नहुने, कर्णालीमा अत्यावश्यक क्रेन पठाइँदै

काठमाडौं । कर्णाली प्रदेशमा विद्युत सेवा थप भरपर्दो र प्रभावकारी बनाउने उद्देश्यले नेपाल विद्युत प्राधिकरणलाई आवश्यक यान्त्रिक क्रेन उपलब्ध गराइने भएको छ । यस निर्णयसँगै विद्युत अवरोधपछि मर्मत कार्य छिटो सम्पन्न गर्न सहज हुने अपेक्षा गरिएको छ । गत असारको दोस्रो सातामा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले कर्णाली प्रदेशसहित तीन प्रदेशका पाँच जिल्लाको स्थलगत अनुगमन गरेका बेला सुर्खेतलगायत क्षेत्रमा लाइन ट्रिपिङका कारण पटक–पटक विद्युत आपूर्ति अवरुद्ध हुने समस्या र मर्मतका लागि आवश्यक यान्त्रिक क्रेनको अभावबारे जानकारी प्राप्त भएको थियो ।  सो क्रममा नेपाल विद्युत प्राधिकरण कर्णाली प्रदेश कार्यालयले आवश्यक उपकरण व्यवस्थापनका लागि मन्त्रीको ध्यानाकर्षण गराएको थियो । अनुगमनपछि मन्त्री श्रेष्ठको पहलमा आवश्यक समन्वय अघि बढाइएको र त्यसकै परिणामस्वरूप नेपाल विद्युत प्राधिकरणको खरिपाटीस्थित ट्रान्सफर्मर वर्कशपमा रहेको यान्त्रिक क्रेन आवश्यक प्रक्रिया तथा सर्भिसिङ सम्पन्न भएपछि कर्णाली प्रदेशमा पठाउने निर्णय भएको हो । हालसम्म विद्युत उपकरण मर्मतका लागि अन्य प्रदेशबाट क्रेन ल्याउनुपर्ने अवस्थाका कारण सेवा पुनःस्थापनामा ढिलाइ हुने गरेको थियो । अब प्रदेशमै आवश्यक उपकरण उपलब्ध भएपछि मर्मत कार्य तीव्र हुने, विद्युत अवरोधको अवधि घट्ने तथा सेवा प्रवाह थप प्रभावकारी बन्ने विश्वास गरिएको छ । ऊर्जा मन्त्रालयले स्थानीय तहमा देखिएका व्यावहारिक समस्या समाधान गर्दै विद्युत सेवाको गुणस्तर सुधार र नागरिकलाई छिटो तथा सहज सेवा उपलब्ध गराउने प्रयासलाई निरन्तरता दिएको जनाएको छ ।

रविलाई भेट्न निवासमै पुगे प्रधानमन्त्री बालेन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले रास्वपा सभापति रवि लामिछानेसँग भेटवार्ता गरेका छन् ।  प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार उनले आइतबार (आज) दिउँसो लामिछानेकै निवासमा पुगेर भेटवार्ता गरेका हुन् ।  उनी निकट स्रोतका अनुसार यो भेट नियमित हो । यसअघि पनि सभापति लामिछानेसँग राजनीतिक र संगठनात्मक कुराहरूबारे छलफल हुने गरेको थियो ।  आजको भेटमा पनि सरकारका पछिल्ला काम कारबाही र संगठनात्मक विषयमा छलफल भएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ । 

सुकुमवासी समस्याको समाधानका लागि सरकार गम्भीर छः गृहमन्त्री सुधन

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले सुकुमवासी समस्याको दीर्घकालीन समाधानका लागि सरकार गम्भीर रहेको बताएका छन् । भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा अस्थायी बसोबास गर्दै आएका सुकुमवासी परिवारसँगको छलफलमा उनले सुकुमवासी/भूमिहीन नागरिकका समस्या समाधानमा सरकारको प्रयास केन्द्रित भइरहेको बताए ।   ‘तपाईंहरूको समस्या हाम्रो पनि समस्या हो, यसलाई सरकारले गहनसँग बुझेको छ’, गृहमन्त्री गुरुङले भने, ‘यहाँहरूले पनि सरकारलाई सहयोग गर्नुपर्‍यो ।’  सुकुमवासीरभूमिहीन समस्यालाई समाधान गर्ने सरकारको प्रयासमा कसैले पनि राजनीति गर्न नहुने उनको भनाइ छ ।