माजिद अन्सारीमाथि भएको कुटपिटबारे मानवअधिकार आयोगमा उजुरी

काठमाडौं । जेनजी अभियन्ता माजिद अन्सारीमाथि प्रहरीले कुटपिट गरी नियन्त्रणमा लिएको घटनालाई लिएर राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी परेको छ । अन्सारीको तर्फबाट जेनजी मुभमेन्ट अलायन्सले इमेलबाट उजुरी पठाएको आयोगले जनाएको छ । आयोगका सहप्रवक्ता श्यामबाबु काफ्लेका अनुसार उजुरी आयोगमा अध्ययनको क्रममा छ ।

जेनजी मुभमेन्ट अलायन्सले सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, नेपाल प्रहरी तथा घटनामा संलग्न रहेको आरोप लागेका प्रहरी टोलीविरुद्ध आयोगमा उजुरी दिएको हो ।

अलायन्सले गत शनिबार कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा अन्सारीमाथि कुटपिट गर्ने प्रहरी टोलीसँगै प्रधानमन्त्री कार्यालय तथा गृह मन्त्रालयको प्रतिनिधि भएको दाबी गर्ने ओजस्वी थापाविरुद्ध पनि उजुरी दिएको जनाएको छ । थापाले घटनाका क्रममा प्रहरीलाई निर्देशन दिँदै परिचालन गरेको आरोप अलायन्सको छ ।

उजुरीमा अन्सारीमाथि भएको व्यवहारले संविधानको धारा १६, १७, २० र २२ ले प्रत्याभूत गरेको सम्मानपूर्वक बाँच्न पाउने हक, विचार तथा अभिव्यक्तिको स्वतन्त्रता, शान्तिपूर्ण भेला हुने स्वतन्त्रता तथा पक्राउ परेका व्यक्तिको संवैधानिक अधिकार उल्लङ्घन भएको दाबी गरिएको छ ।

अलायन्सले घटनासम्बन्धी भिडियो फुटेज, कीर्तिपुर अस्पतालको स्वास्थ्य परीक्षण प्रतिवेदन तथा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको उपचारसम्बन्धी कागजातसमेत आयोगमा प्रमाणका रूपमा बुझाएको जनाएको छ ।

कुटपिटबाट घाइते भएका अन्सारीको हाल महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

Share News