काठमाडौं । भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट भएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा एमालेका महासचिव शंकर पोखरेल नेतृत्वको टोली नुवाकोटतर्फ प्रस्थान गरेको छ ।
च्यासलस्थित एमाले केन्द्रीय कार्यालयबाट प्रस्थान गरेको टोलीमा सचिव राजन भट्टराई, स्वास्थ्य विभाग प्रमुख कृष्णगोपाल श्रेष्ठ, प्रचार विभाग प्रमुख निरज आचार्य, पूर्वउपमहासचिव विष्णु रिमाल र केन्द्रीय सदस्य पार्वत गुरुङ सहभागी छन् ।
त्यस्तै, जिफन्टका अध्यक्ष विनोद श्रेष्ठ, भूतपूर्व सैनिक तथा प्रहरी संगठनका अध्यक्ष अवकाश प्राप्त सहायक रथी विनोद पाण्डे, मोर्चा संगठन प्रमुख विशाल भट्टराई तथा युवा तथा खेलकुद विभाग प्रमुख अमित लामासमेत टोलीमा छन् ।
एमाले प्रचार विभाग प्रमुख आचार्यका अनुसार टोलीले बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्नुका साथै स्थानीय बासिन्दासँग अन्तरक्रिया गर्नेछ ।
टोलीले स्थानीय तहका जनप्रतिनिधिसँग उद्धार तथा राहत वितरणको अवस्थाबारे जानकारी लिनेछ ।
यस्तै, स्थानीय प्रशासनसँग उद्धार, राहत तथा पुनःस्थापनाका विषयमा छलफल गर्ने कार्यक्रम रहेको आचार्यले जानकारी दिए ।
उनका अनुसार बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि एमालेका स्थानीय नेता तथा कार्यकर्तालाई समेत परिचालन गरिनेछ ।
टोलीले स्थलगत अवस्थाको जानकारी लिएपछि प्रभावित क्षेत्रमा आवश्यक सहयोग र पार्टीको तर्फबाट गर्नुपर्ने कामबारे थप निर्णय गर्ने बताइएको छ ।