अन्सारीलाई भेटेका सहमहामन्त्री रसाइली भन्छन् - सरकारले प्रतिशोधपूर्ण व्यवहार गरिरहेको छ

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाश स्नेही रसाइलीले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररत अधिकारकर्मी मजिद अन्सारीलाई भेट गरी उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

भेटका क्रममा रसाइलीले अन्सारीको अधिकारको लडाइँप्रति आफ्नो ऐक्यबद्धता व्यक्त गर्दै उनीमाथि राज्यले प्रतिशोधपूर्ण व्यवहार गरिरहेको आरोप लगाए ।

अस्पतालबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै रसाइलीले सुकुम्बासी समुदायको अधिकारका पक्षमा आवाज उठाएकै कारण अन्सारीलाई राज्यको निशानामा पारिएको दाबी गरे । लोकतान्त्रिक व्यवस्थामा अधिकारका लागि संघर्ष गर्ने व्यक्तिलाई दण्डित गर्ने प्रयास स्वीकार्य हुन नसक्ने उनको भनाइ थियो ।

‘सुकुम्बासीको अधिकारका पक्षमा उभिएकै कारण एउटा अधिकारकर्मीले यस्तो तहको प्रतिशोध खेप्नुपर्ने अवस्था आउनु लोकतन्त्रका लागि लज्जास्पद विषय हो,’ रसाइलीले भने, ‘अधिकारका लागि आवाज उठाउने नागरिकलाई अपराधीसरह व्यवहार गर्नु लोकतान्त्रिक मूल्य र मान्यताविपरीत हो ।’

रसाइलीले उपचाररत अन्सारीमाथि सरकारले अभद्र व्यवहारसम्बन्धी मुद्दा चलाउने तयारी गरिरहेको सूचना आफूले पाएको बताए । उनले अन्सारीलाई आफ्ना कानुनी प्रतिनिधिसँग समेत एकान्तमा भेट गर्न नदिइएको तथा स्वास्थ्य अवस्था पूर्ण रूपमा सामान्य नभइसकेकै अवस्थामा अस्पतालबाट डिस्चार्ज गराउन दबाब दिइएको जानकारी पनि आफूले पाएको दाबी गरे ।

उनले उपचाररत व्यक्तिको आधारभूत कानुनी तथा मानवीय अधिकारको सम्मान गर्न सरकारसँग आग्रह गर्दै अन्सारीलाई निष्पक्ष र मानवीय व्यवहार गर्नुपर्नेमा जोड दिए ।

रसाइलीले अधिकारकर्मीमाथि हुने कुनै पनि प्रकारको दमन वा प्रतिशोध लोकतान्त्रिक समाजका लागि चिन्ताको विषय भएको उल्लेख गरे । अधिकारकर्मी अन्सारी हाल त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररत छन् ।

Share News