भाषाबाट नेपाललाई एकतामा बाँध्ने आदिकवि भानुभक्तको जन्मजयन्ती मनाइँदै
काठमाडौं । आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज देश तथा विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपालीलाई ठूलो गुन लगाएका छन् । उनले लेखेको रामायण अहिले पनि नेपालीको घरघरमा सस्वर लय हालेर पाठ गरिन्छ । पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गरेको नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत एकीकरण गरेका हुन् । वि.सं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घामा जन्मिएका भानुभक्तलाई एक सामान्य घाँसीले ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’ भनी अर्ती दिएकाले रामायणलाई नेपालीमा रचना गर्न प्रेरित भएका थिए । त्यसैगरी, ‘वधुशिक्षा’ उनको अर्को प्रसिद्ध कृति हो । ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘रामगीता’, फुटकर रचनालगायत उनका कृति छन् । नेपाली जातीय एकता, राष्ट्रिय पहिचान र नेपाली सांस्कृतिक चेतना जगाउन र राष्ट्रिय संस्कृतिलाई बलियो बनाउनमा भानुभक्तको ऐतिहासिक योगदान छ । आदिकविको स्मरण गर्दै आज उनको प्रतिमामा माल्यार्पण र प्रभातफेरी गर्ने कार्यक्रम रहेको छ । नेपाल प्रज्ञा प्रतिष्ठान परिसरमा रहेको आदिकवि भानुभक्तको प्रतिमामा पनि माल्यार्पणसहित विशेष कार्यक्रमको आयोजना गरिएको छ । घरघरमा उनले नेपाली भाषामा भावानुवाद गरेको रामायण पाठ गरी भानु जयन्ती मनाउँछन् । यस अवसरमा भाषा, साहित्य र संस्कृतिका क्षेत्रमा काम गर्ने संस्थाले आज विभिन्न कार्यक्रम गरी भानु जयन्ती मनाउँदैछन् । भानु प्रतिष्ठान र नेपाली शिक्षा परिषदलगायत सङ्घसंस्थाले पनि विभिन्न कार्यक्रम आयोजना गरेका छन् । भानुभक्तको जन्मजयन्ती भारतको दार्जिलिङ, सिक्किम, भुटान, बर्मालगायत नेपाली भाषाभाषी धेरै रहेका देश एवं स्थानमा पनि मनाउने गरिएको छ ।
व्यवसायीले निर्माणस्थल छाडेर हिँडेपछि अलपत्र करोडौंका योजना
काठमाडौं । निर्माण व्यवसायीले समयमा काम नगर्दा खोटाङका दुई सडकको कालोपत्र योजना अधुरै रहने भएको छ । मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल-हलेसी सडकको नुनथलाबाट जौबारी-कुभिन्डे-हरमटार हुँदै ऐँसेलुखर्क बजार जोड्ने सडक र सोही खण्डको हुर्लुङबाट जालपा-सप्तेश्वर-बाक्सिलाबजार जोड्ने ग्रामीण सडक कालोपत्र योजना अपूरो हुने भएको हो । कोशी प्रदेश सरकारबाट विनियोजित बजेमार्फत अस्फाल्ट कालोपत्र गर्ने भनिएको यी दुई सडकको काम कालोपत्र गर्ने चरणमा पुगेपछि अलपत्र परेको छ । दुवै सडकको कालोपत्रको काम यही असार १५ गतेभित्र सक्नेगरी निर्माण कम्पनी बिसी-पिसी-पीकेबी जेभीले भौतिक पूर्वाधार विकास कार्यालय खोटाङमा ठेक्का सम्झौता गरेको थियो । निर्माण व्यवसायीले सडक कालोपत्र गर्न आवश्यक सामग्री तयार पारे पनि म्याद र मौसमका कारण काम अघि बढ्न नसकेको भौतिक पूर्वाधार विकास कार्यालय खोटाङका प्रमुख इन्जिनियर विनम दाहालले जानकारी दिए । नुनथला-जौबारी-कुभिन्डे-हरमटार सडक २ करोड ३८ लाख ३८ हजार रुपैयाँमा २ हजार २०० मिटर खण्डमा कालोपत्र गर्नेगरी निर्माण व्यवसायीले काम सुरु गरेको थियो । सोही ठेकेदार कम्पनीले हुर्लुङबाट जालपातर्फ २ हजार ५०० मिटरमा अस्फाल्ट कालोपत्र गर्नेगरी २ करोड ५३ लाख ५४ हजार रुपैयाँमा सम्झौता गरेको थियो । हालसम्म नुनथला-जौबारी-कुभिन्डे-हरमटार सडकको प्रगति १८ प्रतिशत र जालपा-हुर्लुङ-सप्तेश्वर-बाक्सिला सडकको भौतिक प्रगति १३ प्रतिशतमात्रै भएको कार्यालयले जनाएको छ । सम्झौताअनुसार ड्रेन, रिटेनिङ वाल, ग्याविन जाली, सवबेस, कजवे ढलानलगायतका काम गरिसकिएको छ । तर बेस राखेर कालोपत्र गर्ने समयमा निर्माण व्यवसायीले काम अघि बढाउन नसकेको स्थानीयले बताएका छन् । करिब महिना दिनको काम बाँकी रहँदा नियमित वर्षा भइरहेका कारण ठेकेदार कालोपत्र गर्नबाट पछि हटेको कार्यालय प्रमुख दाहालले जानकारी दिए । बेलामा ‘बिटुमिन’ किनेर ल्याउन नसकिएका कारण कालोपत्रको काम पूरा गर्न नसकिएको निर्माण व्यवसायीका प्रतिनिधिले बताएका छन् । कालोपत्र हाल्ने चरणमा पुगेपछि कालोपत्र नै नगरी काम छाडिँदा राज्यको रकम खेर जाने अवस्था सृजना भएको हुर्लुङका स्थानीयवासी महन गुरुङले बताए । म्याद थप भए करिब महिना दिनमा कालोपत्र सकिने कार्यालयले जनाएको छ । ठेकेदार कम्पनीले गत वैशाख ३ गते दुवै सडकको कालोपत्र गर्ने कबोलसहित ठेक्का सम्झौता गरेको थियो । सम्झौता गरेको लामो समयसम्म विभिन्न बहानामा निर्माणको काम सुरु नगरी बसेका निर्माण व्यवसायीका प्रतिनिधिले अन्तिममा आएर काम सुरु गरे पनि वर्षाका कारण काम रोकेर हिँडेका हुन् । कार्यालय तथा स्थानीयको पर्याप्त सहयोग हुँदाहुँदै दुवै सडक कालोपत्र नगरी निर्माण व्यवसायी निर्माणस्थल छाडेर हिँडेपछि स्थानीय आक्रोशित बनेका छन् । १० स्थानीय तह रहेको जिल्लामा मध्यपहाडी लोकमार्गबाहेक अन्य ग्रामीण सडक अहिलेसम्म कालोपत्र भएका छैनन् । निर्माण व्यवसायीले सडक कालोपत्रका लागि निर्माणस्थलमा ल्याएका निर्माण सामग्रीसमेत निर्माणस्थलमै छाडेर हिँडेपछि यातायात सञ्चालनमा समस्या भएको यातायात व्यवसायीले बताएका छन् ।
उद्योग वाणिज्य सङ्घ इटहरीको अध्यक्षमा भण्डारी निर्वाचित
काठमाडौं । उद्योग वाणिज्य सङ्घ इटहरीको अध्यक्षमा गायत्री कटुवाल भण्डारी निर्वाचित भएकी छिन् । आइतबार राति सम्पन्न भएको मतगणनाअनुसार भण्डारीले आफ्ना निकटतम् प्रतिस्पर्धी नवराज काफ्लेलाई १५ मतले पराजित गर्दै निर्वाचित भएको निर्वाचन समितिका संयोजक टङ्क दुलालले जानकारी दिए । अन्तिम मतपरिणामअनुसार भण्डारीले ७५८ मत प्राप्त गरिन् भने काफ्लेले ७४३ मत प्राप्त गरेको उनले बताए । त्यसैगरी वाणिज्य सदस्यतर्फ जीवनकुमार न्यौपाने, सञ्जीव खड्का, बलराम बस्नेत, सिनेट रिजाल, सञ्जय साह, बलबहादुर न्यौपाने, सन्नी चौधरी, दिनेशप्रसाद धमला र महेश थापा निर्वाचित भएका छन् । महिला सदस्यतर्फ मीना आचार्य ढकाल र सुमित्रा घिमिरे भट्टराई निर्वाचित भएका छन् । उद्योग सदस्यतर्फ अभिषेक बस्नेत, शिवप्रसाद भट्टराई ‘भूपाल’, हरिप्रसाद तिम्सिना र किसनकुमार खेडिया निर्वाचित भएका छन् । दुई हजार ३६९ मतदाता रहेकामा एक हजार ५४३ मत खसेको निर्वाचन समितिले जनाएको छ ।