काठमाडौं । आकर्षक रोजगारीको प्रलोभन देखाएर अनलाइन ठगी गर्नुका साथै अवैध क्रिप्टो कारोबारमा संलग्न रहेको आरोपमा एक नेपाली र चार बंगलादेशी नागरिक पक्राउ परेका छन् ।
नेपाल प्रहरीको साइबर ब्युरोका अनुसार फेसबुकमार्फत ‘कतारस्थित कम्पनीमा अन्तर्वार्ताबिनै (डाइरेक्ट हायर) रोजगारी प्राप्त गर्न सकिने’ भन्दै भ्रामक विज्ञापन प्रकाशित गरी सेवाग्राहीलाई मोबाइल एप डाउनलोड तथा प्रयोग गर्न लगाएर बैंक खातामा रहेको रकम अन्य खातामा स्थानान्तरण गरी ठगी गरेको उजुरीपछि अनुसन्धान अघि बढाइएको थियो ।
प्राविधिक विश्लेषण तथा अनुसन्धानका क्रममा उक्त कार्यमा संलग्न रहेको आरोपमा काठमाडौंको कोटेश्वर बस्दै आएका महोत्तरीका २९ वर्षीय सुभाषकुमार मण्डल रहेका छन् । यस्तै बंगलादेशका २५ वर्षीय एमडी जुबाएर अहमेद, २६ वर्षीय एमडी नुर आलम, २४ वर्षीय एमडी नासिम मिया र २७ वर्षीय एमडी रानी कमाल पनि पक्राउ परेका छन् ।
उनीहरूलाई असार २६ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बंगलादेश जान लागेको अवस्थामा पक्राउ गरिएको हो । अनुसन्धानका क्रममा उनीहरू अनलाइन ठगीका साथै बाइनान्स मार्फत क्रिप्टो तथा यूएसडीटी कारोबारमा समेत संलग्न रहेको खुलेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका पाँचै जनाविरुद्ध विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको साइबर ब्युरोले जनाएको छ।