राष्ट्रिय संकटमा सबै राजनीतिक शक्ति एकजुट हुनुपर्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्राकृतिक विपत्तिको सामना गर्न सबै राजनीतिक शक्ति एकजुट भएर साझा संकल्पका साथ अघि बढ्नुपर्ने बताएका छन् ।

सिंहदरबारमा आयोजित सर्वदलीय बैठकमा बोल्दै प्रचण्डले विपत्तिमा परेका नागरिकले आफूलाई एक्लो महसुस गर्न नपाउने अवस्था सिर्जना गर्नुपर्नेमा जोड दिए ।

उनले मुलुक अहिले गम्भीर प्राकृतिक विपत्तिको सामना गरिरहेको भन्दै यस्तो अवस्थामा राजनीतिक आग्रह–पूर्वाग्रह र लामो बहसभन्दा उद्धार, खोजी तथा राहतलाई प्राथमिकता दिनुपर्ने बताए ।

‘राष्ट्रिय संकटको सामना गर्न एकजुट बनौँ,’ प्रचण्डले भने, ‘अहिले देश एउटा गम्भीर प्राकृतिक विपत्तिको सामना गरिरहेको छ । यस्तो अवस्थामा लामो बहस वा राजनीतिक आग्रह–पूर्वाग्रहमा अल्झिने होइन, सबै राजनीतिक शक्ति एक ठाउँमा उभिएर खोजी, उद्धार र राहतमा जुट्ने समय हो ।’

उनले विपत्तिबाट प्रभावित नागरिकको जीवनरक्षा तथा राहतका लागि राज्यका संयन्त्रसँगै राजनीतिक दलहरू पनि समन्वयात्मक रूपमा परिचालित हुनुपर्ने धारणा राखे ।

Share News