मुखभित्र खैरो हेरोइन लुकाएर नेपाल आएका युवक पक्राउ

काठमाडौं । लागूऔषध तस्करहरूले सुरक्षा जाँच छल्न नयाँ-नयाँ उपाय अपनाउन थालेका छन् । मुखभित्र खैरो हेरोइन लुकाएर नेपाल प्रवेश गर्दै गरेका एक युवक यहाँ पक्राउ परेका छन् ।  जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रञ्जन अवाका अनुसार शनिबार साँझ भारतबाट पैदल नेपाल प्रवेश गरेका अर्जुनधारा नगरपालिका-९ का २२ वर्षीय अरमान खानलाई शङ्का लागेर जाँच गर्दा निजको मुखमा प्लास्टिकमा पोको पारेको खैरो हेरोइन भेटिएको थियो । 

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । स्थानीय बजारमा आइतबार (आज) सुनचाँदीको मूल्य केही बढेको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा रु एक हजार ६०० र चाँदी रु ६० ले बढेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ८७ हजार १०० र त्यति नै परिमाणको सेतो धातुको भाउ रु चार हजार ४१० निर्धारण भएको छ । गत शुक्रबार एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ८५ हजार ५०० र त्यति नै परिमाणको सेतो धातुको भाउ रु चार हजार ३५० निर्धारण भएको थियो ।  गत बिहीबार एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ९१ हजार ३०० र चाँदी रु चार हजार ५०५ मा कारोबार भएको थियो ।    अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज एक औंस सुन चार हजार ५२ र चाँदी ५८ अमेरिकी डलरमा कारोबार भइरहेको छ । 

बोरिङको बिल पास गर्न साढे ७ लाख रुपैयाँ घुस खाने दुईजना अख्तियारको फन्दामा

काठमाडौं । बोरिङ र मोटर जडानको काम सम्पन्न भएपछि त्यसबापतको भुक्तानी गरिदिने क्रममा सेवाग्राहीसँग घुस माग्ने दुईजना अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका छन् । सर्लाहीस्थित भूमिगत जलश्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका डिभिजन प्रमुख र एक मेकानिकल अधिकृतलाई आयोगले नियन्त्रणमा लिएको हो । कार्यालयका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरीलाई आयोगले नियन्त्रणमा लिएको हो । ढकाल र चौधरीले बोरिङ तथा मोटर जडानको काम सम्पन्न गरिसकेपछि सेवाग्राहीलाई हैरानी दिँदै घुस मागेको सूचना तथा उजुरी प्राप्त भएको थियो ।  त्यसपश्चात अख्तियारको बर्दिवास कार्यालयबाट खटिएको टोलीले निगरानी तथा अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानका क्रममा उनीहरूलाई सेवाग्राहीबाट रु. ७ लाख ५० हजार घुस लिइसकेको अवस्थामा सर्लाहीको बागमती नगरपालिका–१२ स्थित कार्यालय प्रमुखको सरकारी क्वाटरबाट नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ । कारबाहीका क्रममा घुसबापत लिइएको ७ लाख ५० हजार, स्रोत नखुलेको ७१ हजार ११५ नगद र तीन थान मोबाइल समेत बरामद गरिएको आयोगले जनाएको छ । अख्तियारले दुवै जनालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ ।