काठमाडौं । चिकित्सा शिक्षा सुधारका विभिन्न माग राख्दै २४औँ आमरण अनशनमा बसेका वरिष्ठ चिकित्सक डा. गोविन्द केसीसँग सरकारले औपचारिक वार्ता थालेको छ । सरकारको उच्चस्तरीय वार्ता टोली शनिबार धनगढी पुगेर उपचाररत केसीसँग संवादमा जुटेको हो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार वार्ता टोलीमा शिक्षा सचिव चुडामणि पौडेल, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विकास देवकोटा तथा प्रधानमन्त्रीका स्वास्थ्य विज्ञ सल्लाहकार प्रा. डा. जगदीश अग्रवाल सहभागी छन् । शिक्षा सचिव पौडेल शनिबार नै धनगढी पुगिसकेका छन् ।
अनशनका क्रममा स्वास्थ्य अवस्था जटिल बनेपछि डा. केसीलाई सेती प्रादेशिक अस्पतालको आईसीयूमा भर्ना गरिएको छ । उनी चिकित्सकहरूको निगरानीमा उपचाररत रहँदै वार्तामा सहभागी भएका छन् ।
सरकार र डा. केसी पक्षबीच पाँच बुँदे मागबारे छलफल भइरहेको छ । स्रोतका अनुसार केसीले अघि सारेका पाँचमध्ये दुई मागमा सकारात्मक सहमतिको संकेत देखिए पनि गेटास्थित शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रारलाई पदमुक्त गर्नुपर्ने मागमा भने सहमति जुट्न सकेको छैन ।
विवादित बुँदामा सहमति खोज्न आज पनि दुवै पक्षबीच थप छलफल जारी रहने जनाइएको छ । सरकारले संवादमार्फत निकास निकाल्ने प्रयास गरिरहेको जनाएको छ भने डा. केसी पक्षले मागहरूको स्पष्ट कार्यान्वयनको सुनिश्चितता खोजिरहेको छ ।