कांग्रेस इतरमा तीन धार, गगन नेतृत्वमाथि बढ्दो दबाब

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनले पार्टी नेतृत्व परिवर्तनसँगै आन्तरिक राजनीतिक शक्ति समीकरणलाई पनि पूर्ण रूपमा फेरिदिएको छ । लामो समयसम्म पार्टी भित्र संस्थापनको रूपमा चिनिएको समूह अहिले इतर समूहको भूमिकामा पुगेको छ ।  त्यही इतर समूह स्वयं पनि अहिले एउटै राजनीतिक धारमा देखिएको छैन । कांग्रेसका नेताहरू, केन्द्रीय सदस्यहरू र पार्टीसँग निकट स्रोतहरूसँग गरिएको कुराकानीले इतर समूह अहिले कम्तीमा तीनवटा फरक राजनीतिक धारमा विभाजित भएको देखाउँछ।  बाहिरबाट एउटै समूहजस्तो देखिए पनि उनीहरूको रणनीति, नेतृत्वप्रतिको दृष्टिकोण र आगामी राजनीतिक लक्ष्य फरक फरक रहेको स्रोतको दाबी छ । एउटा पक्ष सभापति गगनकुमार थापाको नेतृत्वलाई चुनौती दिने तयारी गरिरहेको छ । अर्को पक्ष सम्मानजनक शक्ति सन्तुलन खोजिरहेको छ भने एउटा पक्ष सहकार्यको ढोका बन्द गर्न नहुने निष्कर्षमा पुगेको छ । राजनीतिक विश्लेषकहरूका अनुसार यही विभाजनले इतर समूहको सामूहिक प्रभाव घटाउँदै गएको छ । सभापति थापाको राजनीतिक व्यवस्थापन क्षमताको पनि परीक्षा लिइरहेको छ । विशेष महाधिवेशनअघि कांग्रेसभित्र शक्तिकेन्द्र पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा वरिपरि केन्द्रित थियो । नेतृत्व परिवर्तनसँगै पार्टीको कमान्ड थापाले सम्हालेपछि पुरानो संस्थापन शक्ति अहिले नयाँ समीकरण खोज्ने अवस्थामा पुगेको छ । तर त्यो खोज एउटै दिशामा देखिएको छैन । एक केन्द्रीय सदस्य भन्छन्, ‘पहिले साझा नेतृत्व थियो । अहिले साझा असन्तुष्टि छ, तर साझा रणनीति छैन । यही कारण इतर समूहको बैठकमा समेत एउटै निष्कर्ष ननिस्कने अवस्था बनेको छ ।’ मीन र मोहन भिड्ने मुडमा पार्टीभित्र सबैभन्दा आक्रामक धार पूर्वमन्त्री मोहनबहादुर बस्नेत र पूर्वप्रवक्ता मीन विश्वकर्मा निकट नेताहरूको मानिन्छ । यो समूह सभापति थापाको नेतृत्वलाई सहज रूपमा स्वीकार गर्ने पक्षमा नरहेको कांग्रेसका एक पदाधिकारी बताउँछन् । उनीहरू संगठनमा वैकल्पिक शक्ति निर्माण गरेर नेतृत्वमाथि निरन्तर दबाब कायम राख्ने रणनीतिमा रहेको दाबी गरिएको छ । यस समूहमा कान्छा लामा लगायतका नेताहरू सक्रिय छन् । पूर्वतरुण नेता तथा सांसद जितजंग बस्नेत यस समूहका पप्रभावशाली नेताका रूपमा हेरिएका छन् । पार्टीका एक नेता भन्छन्, ‘उहाँहरू अहिले नै सहमतिभन्दा पनि आफ्नो शक्ति देखाउने पक्षमा हुनुहुन्छ । सभापति थापासँग नमिल्ने र पार्टीनै फुटाउनु परे पनि अगाडि वढ्ने तयारीमा यो समूह रहेको छ ।’ यस समूहलाई पूर्वउपसभापति विमलेन्द्र निधि र प्रकाशमान सिंह निकट नेताहरूको पनि सहानुभूति रहेको कांग्रेस स्रोतहरूको भनाइ छ । खड्काको सन्तुलन राजनीति इतर समूहभित्र सबैभन्दा व्यवस्थित र संस्थागत समूहका रूपमा पूर्णबहादुर खड्का नेतृत्वको धारलाई हेरिएको छ। खड्का लामो समयदेखि कांग्रेसभित्र टकरावभन्दा वार्ता र सहमतिका राजनीतिज्ञका रूपमा चिनिन्छन् । उनी निकट एक नेताका अनुसार उनीहरू विभाजन नभई सम्मानजनक भूमिका चाहन्छन् ।  यही कारण यो समूह सुरुदेखि नै प्रत्यक्ष विद्रोहभन्दा वार्गेनिङको राजनीतिमा विश्वास गर्ने गरेको पाइएको छ । पार्टीका एक पदाधिकारीका अनुसार खड्का समूह अहिले पनि अन्तिम समयमा सहमति हुने विश्वासमै छ । तर सभापति थापाले राजनीतिक रूपमा उपेक्षा गरे विभाजनको जोखिम बढ्न सक्ने उनीहरूको बुझाइ छ ।  एक पूर्वपदाधिकारी भन्छन्, ‘सभापति थापाले एकता चाहँदासम्म यो समूह लचक बन्न सक्छ । अहिले बेलुन फुलेजस्तै फुलेका थापाले यो समूहको राजनितिक र वैचारिक धारलाई कति समेट्न सक्लान् ? संशय नै रहेको छ।’ विश्लेषकहरूका अनुसार कांग्रेसको इतिहास हेर्दा निर्णायक क्षणमा खड्का समूह प्रायः शक्ति सन्तुलन कायम गर्ने भूमिकामा देखिएको छ । यसपटक पनि अन्तिम निर्णय यही समूहले गर्ने सम्भावना बलियो रहेको उनीहरूको आँकलन छ ।  कोइराला समूह मिसिन आतुर वरिष्ठ नेता डा. शेखर कोइरालाले नेतृत्व गरेको समूह अहिले सबैभन्दा संयमित देखिएको छ । विशेष महाधिवेशन विरोधीधार भए पनि अहिले यो समूह लामो समयसम्म विवादमा रहन नहुने निष्कर्षमा पुगेको बताइन्छ । नेता कोइराला, पूर्वसहमहामन्त्री बद्री पाण्डे लगायतका नेताहरू सक्रिय रहेको यो समूह सभापति थापाबाट सकारात्मक राजनीतिक सन्देश आउने प्रतीक्षामा रहेको स्रोतहरू बताउँछन् । कोइराला निकट एक नेताले भने, ‘पार्टीलाई कमजोर बनाउने गरी आन्दोलन गर्नु हाम्रो उद्देश्य होइन । सम्मानजनक सहकार्य सम्भव भए त्यो नै पहिलो विकल्प हो ।’ तर उनीहरूले संगठन, विभाग, भातृ संस्थाको नेतृत्व र निर्णय प्रक्रियामा उचित प्रतिनिधित्व खोजिरहेको पनि स्रोतहरूको भनाइ छ । कांग्रेसभित्रका नेताहरूका अनुसार तीनवटै समूहको साझा समस्या एउटै भए पनि समाधानको बाटो फरक छ । एक समूह शक्ति प्रदर्शनमार्फत दबाब दिन खोजिरहेको छ । अर्को समूह अन्तिम समयसम्म वार्ता गर्नुपर्ने तर्क गरिरहेको छ ।  शेखर पक्ष सहकार्यबाटै आफ्नो राजनीतिक भविष्य सुरक्षित गर्न सकिने निष्कर्षमा पुगेको छ । यही कारण इतर समूहले संयुक्त रणनीति बनाउन नसकेको विश्लेषण गरिएको छ ।  पार्टीका एक वरिष्ठ नेता भन्छन्, ‘असन्तुष्टि साझा छ, तर नेतृत्वको विकल्प साझा छैन ।’ सभापति थापाको चुनौती एक केन्द्रीय सदस्य अहिले सबैभन्दा ठूलो चुनौती सभापति गगन थापासामु रहेको बताउँछन् । ‘नेतृत्व जित्नु एउटा कुरा हो, नेतृत्व टिकाउनु अर्को । यदि उनले असन्तुष्ट समूहलाई समेट्न सके कांग्रेस लामो समय स्थिर रहन सक्छ,’ उनले भने।  निर्णय प्रक्रिया केही नेतामा मात्र सीमित भयो भने अहिलेका तीन धार अझ स्पष्ट गुटमा परिणत हुन सक्ने विश्लेषण ती नेताको छ । त्यसैले सभापति थापा ती समूहका नेता छनौट गर्दै आफ्नो समूहमा ल्याउने दाउमा छन् । ‘पार्टीभित्र विभाग गठन, भातृ संस्था, प्रदेश नेतृत्व, केन्द्रीय समितिको जिम्मेवारी बाँडफाँट र आगामी राष्ट्रिय राजनीतिक निर्णयहरूले पनि शक्ति सन्तुलन निर्धारण गर्नेछ,’ ती नेताले भने । थापा पक्षीय ती नेताका अनुसार उनीहरू अलग–अलग रणनीतिमै रहे सभापतिको नेतृत्व अझ बलियो बन्ने सम्भावना पनि उत्तिकै छ । नेपाली कांग्रेस अहिले नेतृत्व परिवर्तनपछिको संक्रमणकालमा छ । कांग्रेस राजनीति एउटै प्रश्नमा केन्द्रित हुँदै गएको छ त्यो हो, सभापति थापाले असन्तुष्ट समूहलाई कसरी समेट्नेछन् भन्ने ।  यस प्रश्नको उत्तरले कांग्रेसको मात्र होइन, आगामी राष्ट्रिय राजनीतिक समीकरणको दिशा पनि निर्धारण गर्ने धेरै नेताहरूको आकलन छ ।

पटेल मृत्यु प्रकरणमा छानविन गर्न समिति गठन

वीरगञ्ज । नारायणी अस्पतालमा शनिबार भएको घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरिएको छ । अस्पतालको आकस्मिक कक्षमा उपचारका क्रममा वीरगञ्ज महानगरपालिका–२५ निवासी ४५ वर्षीय राजकुमार पटेलको मृत्यु भएपछि उनका आफन्तले चिकित्सक तथा अस्पताल प्रशासनको लापरबाहीका कारण बिरामीको ज्यान गएको आरोप लगाउँदै प्रदर्शन गरेका थिए । आफन्तले अक्सिजनमा रहेका बिरामीलाई स्थानान्तरण गर्ने क्रममा अक्सिजन हटाइएका कारण मृत्यु भएको दाबी गरेका छन् । छानबिन समितिमा जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत विनयकुमार राम, नारायणी अस्पतालका ड। निरजकुमार सिंह, वीरगञ्ज महानगरपालिका–२५ का वडाध्यक्ष आशुतोष चतुर्वेदी, मृतक पक्षका प्रतिनिधि विकास पटेल र अस्पताल प्रशासनका प्रतिनिधि सुनिलकुमार रोनियार सदस्य रहेका छन् ।  जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक समितिको संयोजक रहेका छन् । अस्पतालले घटनाका बेला उपचारमा संलग्न पाँच जना स्वास्थ्यकर्मीलाई छानबिन प्रतिवेदन नआएसम्मका लागि जिम्मेवारीबाट हटाएको छ । जिल्ला प्रहरी कार्यालय, पर्साका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता किशोर लम्सालले समितिले एक साताभित्र प्रतिवेदन बुझाउने र प्रतिवेदनका आधारमा दोषी देखिएकामाथि आवश्यक कारबाही गरिने बताए ।

एमबीएसको प्रश्नपत्र लिक गर्नेहरू पक्राउ, उच्चस्तरीय छानबिन समिति पनि गठन

काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायको ‘मास्टर्स अफ बिजनेस स्टडिज’ (एमबीएस) को प्रश्नपत्र सार्वजनिक गरेको आरोपमा केही व्यक्ति पक्राउ परेका छन् ।  शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको निर्देशनमा उनीहरु आज बिहान पक्राउ परेका हुन् ।  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अभियुक्तहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान प्रारम्भ गरेको छ । यही साउन ८ गते स्नातकोत्तर तहको ‘अर्गनाइजेसनल बिहेबियर’ विषयको परीक्षा सुरु भएको केही मिनेटमै सामाजिक सञ्जालमार्फत प्रश्नपत्र बाहिरिएको थियो । प्रश्नपत्र बाहिरिएपछि त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन सङ्काय डिनको कार्यालयले पनि ‘साइबर ब्यूरो’लाई अनुसन्धान एवं कारबाहीका लागि पत्राचार गरेको थियो ।  आजै परीक्षा नियन्त्रण महाशाखाले यो घटनाको छानबिन गर्न प्रा. डा. अच्युत ज्ञवालीको संयोजकत्वमा तीन सदस्यीय समिति पनि गठन गरेको छ ।  समितिको सदस्यमा अनुगमन निर्देशनालयका उपनिर्देशक सहप्राध्यापक पुष्कर रैखला र केन्द्रीय परीक्षा सञ्चालक समितिका सदस्य सहप्राध्यापक महेशराज ओझा रहेका छन् । समितिलाई छानबिन सात कार्यदिनभित्र प्रतिवेदन पेस गर्न कार्यादेश दिइएको छ ।