सशस्त्र प्रहरीले तीन महिनामा ३ सय ४७ जनाको गर्यो सकुशल उद्धार
काठमाडौं । सशस्त्र प्रहरी बल नेपालको गोताखोर तथा विपद् व्यवस्थापनसहितको टोलीले गत वैशाखदेखि असार मसान्तसम्मको अवधिमा विभिन्न घटना तथा दुर्घटना र विपद् जोखिममा परेका ३ सय ४७ जना नागरिकहरुको सकुशल उद्धार गरेको छ । सशस्त्र प्रहरीले नदी, ताल तथा खहरे खोलाहरूमा डुबेका तथा बगाएका २ सय ११ वटा घटनाहरुबाट ८६ जनाको जीवितै उद्धार गरेको छ, भने सो घटनामा परी मृत्यु भएका १ सय २२ जनाको शव निकालेको छ । त्यस्तै, विपद्को उच्च जोखिम लगायत बाढी, डुबान तथा कटानका घटनामा परेका २ सय ३९ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ । देशका विभिन्न स्थानमा भएको सडक दुर्घटनाहरूमा ६ जनाको तत्काल सकुशल उद्धार गरेको छ भने ८ सय ७ जनाको घाइते अवस्थामा उद्धार गरी उपचारको लागि विभिन्न अस्पतालतर्फ पठाएको छ । त्यसैगरी हावाहुरीमा परेका १२ जनाको उद्धार गरेको छ । त्यस्तै, देशको पहाडी क्षेत्रमा गएको पहिरोमा परेका ४ जनाको जीवितै उद्धार गरिएको छ । त्यस्तै सशस्त्र प्रहरीले देशभर २ सय २६ स्थानमा भएको आगलागी नियन्त्रणमा परिचालित भई सो आगलागीमा परी घाईते भएको ४ जनाको समेत सकुशल उद्धार गरेको छ । जटिल प्रकृतिका जल विपद्का ३१ वटा घटनामा सशस्त्र प्रहरीको गोताखोरले ३ जनाको सकुशल उद्धार गरेको छ, भने १४ जनाको शव फेला पारेको छ । विपद्को जोखिम न्यूनीकरणका लागि सशस्त्र प्रहरीले ४ सय ६४ वटा विद्यालय र ५ सय ४१ वटा क्लव तथा समुदायस्तरमा जनचेतनामूलक कक्षा संचालन गरेको छ । जसमा ४७ हजार ६ सय ८१ जना सहभागी रहेका थिए । त्यसैगरी विपद् प्रतिकार्यको पूर्वतयारीका लागि सशस्त्र प्रहरी बल नेपालको एकल आयोजनामा १ सय १७ वटा र अन्य निकायहरुसँगको समन्वयमा १२ वटा गरी जम्मा १ सय २९ वटा कृत्रिम घटना अभ्यास सञ्चालन गरेको थियो । जसमा २० हजार ३ सय ६६ जना सहभागी रहेका थिए । त्यस्तै सो अवधिमा सशस्त्र प्रहरीले समुदायस्तरमै दक्ष जनशक्ति तयार पार्ने उद्देश्यले ४० वटा विपद् स्वयंसेवक तालिम संचालन गरेको छ । उक्त तालिमबाट ३ सय ५३ जना महिला र ७ सय ३१ पुरुष गरी १ हजार ८४ जना स्थानीय नागरिकहरु समुदाय विपद् स्वयंसेवकका रूपमा तयार भएका छन् । त्यसैगरी देशभर २८ हजार २ सय ८१ सय जना सशस्त्र प्रहरी कर्मचारीहरूलाई विपद् व्यवस्थापन सम्बन्धी विशेष अनुशिक्षण तालिम प्रदान गरी तयारी हालतमा साथै कुनै पनि स्थानमा विपद्को सूचना प्राप्त हुनासाथ तत्काल परिचालन हुनसक्ने गरी ८ हजार १ सय ८० जना जनशक्ति २४सै घण्टा तयारी अवस्थामा रहेका छन् । त्यसैगरी विपद् उद्धारमा लाग्ने समयलाई कम गर्न सशस्त्र प्रहरी बल नेपालले देशभर ५४ स्थानमा अस्थायी मनसुन प्रतिकार्य टोली खटाइएको छ, भने १६ वटा अति जोखिमयुक्त स्थानहरुमा आवश्यक जनशक्ति र स्रोतसाधनसहित विपद् व्यवस्थापन बेस स्थापना गरिएको छ । सशस्त्र प्रहरी बल नेपालमा रहेका १ सय ३४ जना गोताखोरहरुलाई देशको अति जोखिमयुक्त ११ स्थानमा आवश्यक उपकरणसहित तत्काल परिचालन हुने गरी तयारी हालतमा राखिएको छ । मनसुन शुरु हुन अगावै उद्धार कार्यका लागि सशस्त्र प्रहरीले ८२ वटा राफ्ट बोट र ५३ वटा मोटर बोटहरू तयारी हालतमा तथा घाइतेहरूको तत्काल उपचार र स्थानान्तरणका लागि ८ वटा मास क्याजुअल्टी भेइकल, ८ वटा ’ए’ क्लास एम्बुलेन्स, १० वटा आई.आर.टी भेइकल र सडक अवरोध हटाउन १३ वटा हेभी इक्विपमेन्टहरू तयारी अवस्थामा र १३ जिल्लाका विभिन्न स्थानमा २८ वटा डिजास्टर रिलिफ सिस्टम कन्टेनरहरू समेत राखेको छ । त्यस्तै, सशस्त्र प्रहरी बल नेपालले आफ्नो वेभसाईट तथा फेसबुक, ट्वीटर मार्फत आपद् विपद्मा परेका नागरिकहरुको तत्काल उद्वार तथा सहयोग गर्नको लागि टोल फ्रि नम्बर १११४ मा सम्पर्क गर्न सकिने उल्लेख गरेको छ भने विपद्मा परेका नागरिकहरुले तत्कालै उद्वारको लागि सम्पर्क गर्न समेत अनुरोध गरिएको छ । त्यसैगरी राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले उपलब्ध गराएको टोल फ्रि नम्बर १२३४ मा समेत देशभरका सबै जिल्लाहरुमा आपद् विपद्मा परेका आम नागरिकहरुले तत्काल उद्धार, राहत र सहयोगको लागि सम्पर्क गर्न सकिने बताएको छ ।
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षासचिव पौडेल धनगढीमा
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा काठमाडौं । अनसनरत चिकित्सक डा. गोविन्द केसीसँग वार्तामामार्फत सहमतिपूर्ण समाधान खोज्ने उद्देश्यले सरकारको पहल जारी रहेको छ । सोही क्रममा शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुणामणि पौडेल शनिबार (आज) धनगढी पुगेका छन् । शिक्ष तथा खेलकुदमन्त्री सस्मित पोखरेलले डा. केसीसँग वार्ताका लागि सचिव पौडेललाई धनगढी पठाएको जानकारी दिए । सचिव पौडेलले डा केसीसँग प्रत्यक्ष संवादगरी उनले उठाएका मागबारे छलफल गर्नेछन् । यसअघि शिक्षामन्त्री पोखरेलले शुक्रबार साँझ डा. केसीसँग टेलिफोनमार्फत प्रारम्भिक संवाद गरेका थिए । त्यसैको निरन्तरता स्वरूप सचिव पौडेललाई धनगढी पठाइएको जनाइएको छ । सरकारले संवाद र सहमतिका माध्यमबाट डा. केसीले उठाएका विषयको यथाशीघ्र सम्मानजनक तथा सहमतिपूर्ण समाधान खोज्न प्रतिबद्ध रहेको जनाएको थियो ।
बिजुलीमा भ्याट लागू भएपछि प्राधिकरण अन्योलमा, राजस्व विभागलाई लेख्यो पत्र
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युत सेवामा मूल्य अभिवृद्धि कर (भ्याट) लागू भएसँगै देखिएका कानुनी तथा प्राविधिक अन्योलबारे आन्तरिक राजस्व विभागसँग प्रष्टीकरण मागेकाे छ । प्राधिकरणले आन्तरिक राजस्व विभागलाई पत्र पठाउँदै आर्थिक ऐन, २०५३ बमोजिम विद्युत शक्तिमा मूल्य अभिवृद्धि कर लागू भएपछि उत्पन्न दुई महत्वपूर्ण विषयमा राय मागेको हो । प्राधिकरणका अनुसार २०८३ साउन १ गतेदेखि मूल्य अभिवृद्धि करमा दर्ता भएको छ । त्यसपछि कर विजक जारी गर्ने क्रममा केही विषयमा द्विविधा देखिएकाले विभागको आधिकारिक स्पष्टीकरण मागिएको हो । प्राधिकरणले असार महिनामा उपभोग भएको विद्युतको बिल साउन १ गते जारी भएमा त्यसमा भ्याट लाग्ने वा नलाग्ने भन्ने विषय स्पष्ट पार्न अनुरोध गरेको छ । स्वीकृत ट्यारिफअनुसार उपभोक्ताबाट लिइने न्यूनतम चार्ज तथा डिमान्ड चार्जमा पनि भ्याट लाग्ने वा नलाग्ने विषयमा समेत स्पष्टिकरण मागिएको छ । करसम्बन्धी व्यवस्था स्पष्ट भएपछि सोहीअनुसार बिलिङ प्रणाली कार्यान्वयन गरिने पत्रमा उल्लेख गरिएको छ ।