माइतीघर डुबानको मुख्य दोषी इन्जिनियरिङ त्रुटि, अतिक्रमण र कङ्क्रिटकरण

काठमाडौं । माइतीघर मण्डला क्षेत्रमा वर्षायाममा डुबानको मुख्य कारण त्यस आसपास क्षेत्रको पूर्वाधार निर्माणको प्राविधिक त्रुटि, जल प्रवाह क्षेत्रको अतिक्रमण र प्राकृतिक जलशोषक क्षेत्रको विनाश रहेको पाइएको छ । झरीसँगै सो क्षेत्र डुबानमा पर्न थालेपछि यही साउन ५ गते काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलको नेतृत्वमा विकास साझेदार, सुविधा वितरण तथा सेवा व्यवस्थापनका क्षेत्रमा काम गर्ने निकायका प्रमुख तथा प्रतिनिधिसहितको टोलीले अनुगमन गरेको थियो । अनुगमनपछि कार्यवाहक प्रमुख डङ्गोलले सम्बन्धित कार्यालयका अधिकारीहरूको संयुक्त टोलीलाई प्राविधिक प्रतिवेदन पेश गर्न निर्देशन दिएकी थिइन् । उक्त निर्देशनपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्रतिकार्य शाखा प्रमुख उपसचिव रामबहादुर केसी संयोजकत्वको समितिले आज स्थलगत प्रतिवेदन तयार बुझाएको हो । प्रतिवेदनअनुसार माइतीघर मण्डला क्षेत्रको ढल निकास प्रणालीमा  इन्जिनियरिङ त्रुटि देखिएको छ । माइतीघर क्षेत्रमा भित्रिने ढलको माथिल्लो भागमा ९० सेन्टिमिटरको ढल छ । यो ढल प्रणाली तल्लो भागमा पुगेपछि ६० सेन्टिमिटरमा साँघुरिएको छ । यसरी माथिल्लो भागबाट आउने पानीको चापलाई तल्लो भागको साँघुरो ढलले धान्न नसक्दा ‘बोटलनेकिङ’ को समस्या भई पानी सडकमा बाहिरिने गरेको सो प्रतिवेदनमा उल्लेख छ । यसबाहेक, टुकुचा खोलाको सतह बढेकाबेला ढलको पानी खोलामा जानुको साटो उल्टै बस्ती र सडकतिर फर्कने (ब्याक फ्लो) समस्याले गर्दा पनि माइतीघर जलमग्न हुने गरेको देखिएको छ ।  भौतिक पूर्वाधारबाहेक वातावरणीय र सहरी विकास तथा व्यवस्थापनका कारण प्रतिवेदनले डुबानको प्रमुख कडीका रूपमा औंल्याएको छ ।  विगतमा माइतीघर चोकसँगै जोडिएका खुला क्षेत्रहरूले ‘प्राकृतिक जलाधार’ को काम गर्थे । जसले वर्षाको पानीलाई जमिनमुनि सोस्ने गर्थ्यो  ।  तर, अहिले  ती क्षेत्रमा जिल्ला प्रहरी परिसर काठमाडौं र जिल्ला सरकारी वकिलको कार्यालयलगायत ठूला भवन निर्माण भएपछि जमिन कङ्क्रिटले ढाकियो ।  यसकारण पानी सोसिने प्राकृतिक प्रक्रिया बन्द भएको छ । यसले गर्दा सतहमा बग्ने पानीको मात्रा अत्यधिक बढ्न गई माइतीघर चोकमा सिधै केन्द्रित हुने गरेको प्राविधिक टोलीको निष्कर्ष छ । अतिक्रमणको समस्या पनि माइतीघर डुबानमा उस्तै जिम्मेवार देखिएको छ । अनुगमनका क्रममा कतिपय स्थानमा ढलमाथि नै व्यक्तिगत र सरकारी भवनका संरचना निर्माण भएका कारण नियमित सरसफाइमा अवरोध पुगेको पाइएको छ । ढलको पाइपभित्र प्लास्टिकजन्य फोहर, बोतल र ढुङ्गा–गिटी थुप्रिनुले पानीको बहावलाई थप रोकेको छ ।  यस समस्यालाई समाधान गर्न कार्यवाहक प्रमुख डङ्गोलले अनुगमनकै क्रममा स्थानीय प्रशासन र साझेदार निकायको सहकार्यमा सबै प्रकारका अवरोध हटाउन निर्देशन दिएकी थिइन् । प्रतिवेदनले तत्काल र दीर्घकालीन रूपमा चालिनुपर्ने कदम सिफारिस गरेको छ । तत्कालका लागि ढल निकास मार्गमा रहेका अवरोध हटाउने, म्यानहोलहरूको उचाइ बढाउने र नियमित सरसफाइ गर्ने कार्यलाई प्राथमिकता दिइएको छ । दीर्घकालीन समाधानका रूपमा माइतीघर वा पुरानो स्वास्थ्य मन्त्रालय परिसरको सार्वजनिक जग्गाभित्र जमिनमुनि ठूलो क्षमताको पानी भण्डारण ट्याङ्की निर्माण गर्न सुझाव दिइएको छ ।  यसले वर्षाको पिक समयमा आउने पानीलाई केहीबेर भण्डारण गरेपछि बिस्तारै निकास दिन सहयोग पुग्नेछ ।    त्यस्तै, टुकुचा खोलाको निकास विन्दुमा पानी फिर्ता हुन नदिने ‘नन रिटर्न भल्भ’ जडान गर्न, समग्र उपत्यकाको ढल सञ्जालको जिआइएस म्यापिङ गर्न र माइतीघर क्षेत्रको क्याचमेन्ट एरियाका आधारमा ढलको क्षमता पुनःडिजाइन गर्न प्रतिवेदनले जोड दिएको छ ।

भदौ अन्तिम सातादेखि सडकमा उत्रिँदै प्रजातान्त्रिक पार्टी

काठमाडौं । प्रजातान्त्रिक पार्टी नेपालले संवैधानिक राजसंस्था, वैदिक सनातन हिन्दु राष्ट्र र भ्रष्टाचारमुक्त शासन व्यवस्थाको माग गर्दै भदौको अन्तिम सातादेखि सडक आन्दोलनमा उत्रिने तयारी गरेको छ ।  आइतबार राजधानीमा बसेको पार्टीको कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको पार्टी अध्यक्ष डा. तारानाथ लुइँटेलले जानकारी दिए ।  उनका अनुसार पार्टी केन्द्रीय समितिको बैठकबाट आन्दोलनको औपचारिक निर्णय गरिनेछ ।  उनले बैठकमा संवैधानिक राजसंस्था, वैदिक सनातन हिन्दु राष्ट्र, स्वायत्त शासन प्रणाली तथा भ्रष्टाचार नियन्त्रणका विषयमा गम्भीर रूपमा छलफल भएको पनि बताए ।  अध्यक्ष लुइँटेलले प्रमुख राजनीतिक दलहरू नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा तथा प्रधानमन्त्री बालेन्द्र साहले विदेशीले बोकाइदिएको भारी बोकिरहेको आरोपसमेत लगाए । उनले मुलुकमा सुशासन कायम गर्न भ्रष्टाचारविरुद्ध भइरहेको कारबाही प्रभावकारी हुन नसकेको पनि बताए । उनले भ्रष्टाचार नियन्त्रण, संवैधानिक राजसंस्था, वैदिक सनातन हिन्दु राष्ट्र तथा धार्मिक स्वतन्त्रतासहित सर्वधर्म समभावको बर्खा सकिने बित्तिकै पार्टी आन्दोलनमा उत्रिने चेतावनी दिए ।

अर्घाखाँचीमा २६ जना बाँदर हेरालु छनोट

काठमाडौं । डिभिजन वन कार्यालय, अर्घाखाँचीले जिल्लामा बाँदरबाट हुने बाली क्षति न्यूनीकरण तथा किसानलाई राहत पु‍र्‍याउने उद्देश्यले २६ जना बाँदर हेरालु छनोट गरेको छ । कार्यालयका अनुसार बाँदर हेरालु पदका लागि कुल ६४ वटा आवेदन परेका थिए ।  ती आवेदनमध्ये सार्वजनिक सूचनामा उल्लेख गरिएका योग्यता, मापदण्ड र छनोट प्रक्रियाका आधारमा २६ जना उम्मेदवार अन्तिम रूपमा छनोट भएका हुन् । डिभिजन वन कार्यालयले छनोट भएका उम्मेदवारलाई दुई महिनाका लागि बाँदर हेरालुको जिम्मेवारी दिने जनाएको छ ।  उनीहरूलाई सम्बन्धित क्षेत्रमा खटाई बाँदरको गतिविधि नियन्त्रण, बाली जोगाउने तथा किसानलाई हुने क्षति कम गर्न परिचालन गरिनेछ । कार्यालयका अनुसार छनोट प्रक्रिया पूर्ण रूपमा सूचनामा तोकिएका मापदण्डअनुसार पारदर्शी ढंगले सम्पन्न गरिएको हो । बाँदरको बढ्दो आतंकका कारण जिल्लाका विभिन्न स्थानमा मकै, धान, तरकारी तथा अन्य कृषि बालीमा क्षति पुग्दै आएको गुनासो बढेपछि अस्थायी रूपमा बाँदर हेरालु परिचालन गर्ने कार्यक्रम सञ्चालन गरिएको कार्यालयले जनाएको छ ।