धनुषा । कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले धनुषाका किसानको घरदैलोमा पुगेकी छन् । धनुषा जिल्लाको कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिँदै उनले किसानहरूसँग छलफल गरेकी हुन् ।
भेटवार्ताका क्रममा उनले प्राङ्गारिक मलको प्रयोग बढाउन आग्रह गरेकी छन् ।
‘माटो सुधार नै कृषि सुधारको आधार हो । स्थानीय स्रोतबाट बनेका गोठे मल र प्राङ्गारिक मलको प्रयोग बढाउन सबै किसानलाई आग्रह गर्दछु,’ उनले भनिन्, ‘यसले रासायनिक मलमाथिको निर्भरता पनि घट्दै जान्छ । माटो सुधार पनि हुँदै जान्छ, यसले दीर्घकालीन माटो सुधार हुन्छ ।’
किसानसँग छलफलका क्रममा मन्त्री चौधरीले लक्ष्मीनियाँ गाउँपालिका–७ स्थित महिला साना किसान कृषि सहकारी संस्था लिमिटेड अन्तर्गत सञ्चालित कस्टम हायरिङ केन्द्रको निरीक्षण गरेकी छन् ।
केन्द्रमार्फत आधुनिक कृषि उपकरण किसानलाई सहुलियत दरमा भाडामा उपलब्ध गराइँदै आएको छ ।
त्यसैगरी, मन्त्री चौधरीले बटेश्वर गाउँपालिका–५, शान्तिपुरस्थित अन्नपूर्ण माछापालनको पनि अवलोकन गरेकी छन् ।
कम्पनीले व्यवसायिक माछापालनसँगै माछाको भुरा, दाना तथा आवश्यक औषधिको आपूर्ति गर्दै स्थानीय मत्स्य व्यवसायलाई सहयोग पुर्याउँदै आएको जनाएको छ ।
त्यसैगरी, मन्त्री चौधरीले धनुषाको चित्रनगरस्थित आँप बगैंचाको समेत अवलोकन गरेकी छन् ।