१९ अर्बको नागढुंगा सुरुङमार्ग उद्घाटन सोमबार

काठमाडौं । नेपालको पहिलो आधुनिक सडक सुरुङमार्ग नागढुंगा-सिस्नेखोला सुरुङमार्ग भोलि (सोमबार) औपचारिक रूपमा उद्घाटन हुँदैछ । करिब १९ अर्ब रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको यो आयोजना नेपालको सडक पूर्वाधार विकासमा ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको छ ।

नेपाल सरकार र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को सहुलियतपूर्ण ऋण सहयोगमा निर्माण गरिएको सुरुङमार्गको उद्घाटन पूर्वाधार विकासमन्त्री सुनिल लम्साल र जाइकाका अध्यक्षले संयुक्त रूपमा गर्ने कार्यक्रम रहेको छ ।

सडक विभागका महानिर्देशक डा. विजय जैसीका अनुसार सुरुङको मुख्य भाग २.६८ किलोमिटर लामो भए पनि इभ्याकुएसन (आपत्कालीन निकास) टनेल र क्रस-प्यासेजहरू समेत जोड्दा यसको कुल संरचनात्मक लम्बाइ करिब ५.५ किलोमिटर पुगेको छ । निर्माण लागत भेरिएसनसहित करिब १९ अर्ब रुपैयाँ पुगेको उनले बताए ।

null

जापानी निर्माण कम्पनी हाज्मा आन्दो कर्पोरेसनले २०७६ सालदेखि निर्माण थालेको यो आयोजना प्राविधिक चुनौती र विभिन्न प्रशासनिक जटिलता पार गर्दै अन्ततः सञ्चालनको चरणमा पुगेको हो । 

यद्यपि उद्घाटनसँगै सर्वसाधारणका लागि सुरुङ खुला हुने छैन । प्रारम्भिक चरणमा एम्बुलेन्स, दमकल र सुरक्षा निकायका आकस्मिक सवारीसाधन लाई मात्र प्रवेश दिइने सडक विभागले जनाएको छ ।

महानिर्देशक जैसीका अनुसार उद्घाटनपछि सुरुङभित्रका सबै सुरक्षा प्रणालीको प्रभावकारिता परीक्षण गर्न मक ड्रिल (नमूना अभ्यास) सञ्चालन गरिनेछ । त्यसपछि करिब एक सातासम्म एकतर्फी परीक्षण सञ्चालन गर्दै जेट फ्यान, भेन्टिलेसन प्रणाली, वायु उत्सर्जन तथा अन्य प्राविधिक उपकरणको कार्यक्षमता परीक्षण गरिनेछ ।

सबै प्रणाली सफलतापूर्वक परीक्षण सम्पन्न भएपछि करिब एक महिनाभित्र सुरुङमार्ग पूर्ण रूपमा सर्वसाधारणका लागि सञ्चालनमा ल्याइने तयारी गरिएको विभागले जनाएको छ ।

सुरुङमार्गमा भने मोटरसाइकल तथा प्रज्वलनशील र विस्फोटक पदार्थ बोकेका सवारीसाधन सञ्चालन गर्न निषेध गरिएको छ । अन्य सवारीसाधनले भने निर्धारित सुरक्षा मापदण्ड पूरा गरेपछि सुरुङमार्ग प्रयोग गर्न पाउनेछन् । 

सडक विभागले यस आयोजना बिल अफ क्वान्टिटी (बीओक्यू) मोडालिटीमा अघि बढाएको थियो । डिजाइन र निर्माण सुपरिवेक्षणमा जापानी परामर्शदाताको प्राविधिक सहयोग रहेको थियो । 

null

महानिर्देशक जैसीका अनुसार सिस्नेखोलाबाट नागढुंगातर्फको जोखिमपूर्ण उकालो, पहिरो तथा सवारी जामको दीर्घकालीन समाधान खोज्ने उद्देश्यले यो सुरुङमार्ग निर्माण गरिएको हो । 

प्राविधिक चुनौती, भौगोलिक जटिलता र स्थानीय तहमा देखिएका विभिन्न अन्योल पार गर्दै निर्माण सम्पन्न भएको यो आयोजना अब नेपालको आधुनिक सडक पूर्वाधारको नयाँ अध्यायका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ ।

सुरुङ सञ्चालनमा आएपछि काठमाडौं भित्रिने तथा बाहिरिने सवारीको यात्रा समय घट्नुका साथै वर्षायाममा हुने पहिरो र लामो ट्राफिक जामको समस्या समेत उल्लेख्य रूपमा कम हुने विश्वास गरिएको छ ।

null

Share News