सहकारी संस्थाहरूलाई घर खाली गर्न महानगरको निर्देशन

  काठमाडौं । काठमाडौं महानगरपालिकाले सहकारी संस्थाहरूलाई बहालमा लिएका घर, कोठा तथा फ्ल्याट खाली गर्न कडा निर्देशन दिएको छ । महानगरको न्यायिक समितिको निर्णय कार्यान्वयन गर्दै कानून तथा मानव अधिकार विभागले आधा दर्जन सहकारी संस्थालाई १५ दिनभित्र सम्पर्कमा आउन र बहालमा रहेका सम्पत्ति खाली गर्न निर्देशन दिएको हो । महानगरका अनुसार तोकिएको समयभित्र सहकारी संस्थाका पदाधिकारी, सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, कर्मचारी तथा सदस्यहरू सम्पर्कमा नआएमा न्यायिक समितिको निर्णयअनुसार बहालमा लिएका घर-कोठा तथा फ्ल्याटहरू अनिवार्य रूपमा खाली गराइनेछ । खाली गराउँदा सहकारी संस्थाका कार्यालय सामग्रीहरू सम्बन्धित घरधनीको जिम्मामा रहने र त्यसपछि ती सामग्रीबारे कुनै पनि दाबी-विरोध स्वीकार नगरिने स्पष्ट गरिएको छ । महानगरले यसअघि न्यायिक समितिबाट भएका निर्णय कार्यान्वयन गर्ने क्रममा सहकारी संस्थाहरूलाई लक्षित गर्दै यस्तो निर्देशन जारी गरेको हो ।  महानगरका अनुसार सत्कार सहकारी संस्था लिमिटेड, अमृताम्भ बचत तथा ऋण सहकारी संस्था, हिराखुशी बहुउद्देश्यीय सहकारी संस्था, मार्गदर्शन बचत तथा ऋण सहकारी संस्था, नवल सवल बचत तथा ऋण सहकारी संस्था तथा पञ्चरूपा बचत तथा ऋण सहकारी संस्था गरी विभिन्न संस्थाहरू समावेश छन् ।

ठेकेदारमाथि कडा कारबाही, एकैपटक अमन कन्स्ट्रक्सनका ५ ठेक्का तोडिए

काठमाडौं । बाँकेको खजुरा गाउँपालिकाले योजनाको काम समयमै सम्पन्न नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द गरेको छ । निर्माण कार्यको प्रगति सन्तोषजनक नभएको, लामो समय बितिसक्दा पनि सुधार नदेखिएको तथा काम सम्पन्नतर्फ निर्माण व्यवसायी अग्रसर नभएकाले ५ योजनाको ठेक्का सम्झौता रद्द गरिएको खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलबहादुर पौडेलले जानकारी दिए । उनका अनुसार, गाउँपालिकाको विभिन्न वडामा योजना निर्माण कार्यका लागि अमन कन्स्ट्रक्सन, गुलरिया-५, बर्दियासँग गरिएका पाँच वटै ठेक्का सम्झौता रद्द गरिएको हो । खजुरा गाउँपालिका-४ एफगाउँमा करिब ५०० मिटर सडक कालोपत्र गर्न २०७७ फागुन १२ गते अमन कन्स्ट्रक्सन, गुलरिया-५, बर्दियासँग ठेक्का सम्झौता भएको थियो । कम्पनीले २०७८ जेठ ३० गतेभित्र निर्माण कार्य सम्पन्न गर्ने सम्झौता गरे पनि हालसम्म काम पूरा भएको छैन । दुई भागमा अलग-अलग ठेक्का आह्वान गरिएको उक्त योजनाअन्तर्गत ग्राभेल हाल्ने र गिट्टी बिछ्याउने काम भए पनि कालोपत्र हुन नसक्दा सडक पुनः जीर्ण बनेको छ । अमन कन्स्ट्रक्सनले ठेक्का पाएको एनआइसी बैङ्कदेखि मनकामना जाने सडक तथा नाली निर्माण, गोपालसिंह आलेको घरदेखि लालबहादुर रजालीको घरसम्मको बाटो स्तरोन्नति तथा बिगाउँ ९० नम्बरदेखि १०५ नम्बरसम्मको बाटो स्तरोन्नतिका योजना पनि वर्षोंदेखि अधुरै छन् । पालिकाले यी सबै पाँचवटै ठेक्का रद्द गर्ने निर्णय गरेको हो । सबै ठेक्का अमन कन्स्ट्रक्सनकै रहेका छन् । निर्माण कार्यको प्रगति सन्तोषजनक नभएको, लामो समय बितिसक्दा पनि सुधार नदेखिएको तथा काम सम्पन्नतर्फ निर्माण व्यवसायी अग्रसर नभएकाले सम्झौता रद्द गरी कालोसूचीमा किन नराख्ने भन्दै पालिकाले गत मङ्सिर २ गते सार्वजनिक सूचना जारी गरेको प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताए ।  सार्वजनिक सूचना जारी भएपछिको तोकिएको अवधिमा पनि सम्झौता बमोजिम निर्माण कार्य अगाडि बढाउने विश्वसनीय आधार पेस गर्न नसकेकाले अमन कन्स्ट्रक्सन, गुलरिया-बर्दियासँगको ठेक्का सम्झौता अन्त्य गरिएको उनको भनाइ छ । 

महानगर छात्रवृत्ति : विवरण सच्याउन र पुनर्योगका लागि परे सयौं निवेदन

काठमाडौं । छात्रवृत्ति छनोट परीक्षाको प्रारम्भिक नतिजापछि ३३१ जना विद्यार्थीले पुनर्योग गर्न र ९६ जना विद्यार्थीले विवरण सच्याउन तथा अन्य विभिन्न माग राखेर काठमाडौँ महानगरपालिकाको शिक्षा विभागमा आवेदन दिएका छन् ।  जेठ १७ गते सम्पन्न परीक्षाको १८ गते बिहान प्रारम्भिक नतिजा प्रकाशन गर्दै शिक्षा विभागले योग्यता क्रममा चित्त नबुझे पुनर्योग गराउन तथा विवरण सच्याउन आज (जेठ २० गते बेलुका ५ बजे)सम्मको अवधि दिएको थियो ।  यस अवधिमा विवरण सच्याउन सहित विभिन्न माग राखेर विद्यार्थीहरूले आवेदन दिएका हुन् ।  शिक्षा अधिकृत एवं परीक्षा समितिका सदस्य सचिव रामचन्द्र खड्काका अनुसार विवरण सच्याउन आवेदन दिएका मध्ये ६६ जनाले आफू छात्रा भएको तर अनलाइन फाराम भर्दा छात्र भएकोले सच्याइ पाउन निवेदन दिएका छन् ।  यसैगरी ११ जना विद्यार्थीले फाराम भर्दा पहिलो नाम, बीचको नाम, थर, क्लष्टर गलत चयन गरेकोले सच्याउन माग गरेको खड्काले जानकारी दिए ।  केही विद्यार्थीले आफूले फाराम भर्दा छानेको विषय र विद्यालय परिवर्तन गराइदिन माग गरेर समेत निवेदन दिएका छन् । समितिका सदस्य सचिव खड्काका अनुसार यी मागहरु सम्बोधन गर्ने व्यवस्था छैन ।  विभागले पुनर्योग र विवरण सच्याउन दिएको निवेदनअनुसार ओएमआर सिटलाई कम्प्युटर प्रणालीबाट र म्यानुअल रुपमा पुनर्योगपछि भोलि बिहानसम्ममा अन्तिम योग्यता क्रम प्रकाशन हुनेछ ।  यस वर्षको छात्रवृत्ति छनोट परीक्षाबाट १४ हजार ५७ जना विद्यार्थी उत्तीर्ण भएका छन् ।