सार्वजनिक शौचालय व्यवस्थित र दिगो बनाउँदै काठमाडौं महानगर, माग्यो प्रस्ताव

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र रहेका सार्वजनिक शौचालयको सञ्चालन तथा व्यवस्थापनलाई व्यवस्थित, प्रभावकारी र दिगो बनाउन सेवाप्रदायकसँग प्रस्ताव तथा सुझाव माग गरेको छ ।

महानगरपालिकाको सहरी योजना आयोगको सचिवालयले सार्वजनिक शौचालय सञ्चालन तथा व्यवस्थापनका लागि इच्छुक फर्म, कम्पनी तथा संघसंस्थालाई लक्षित गर्दै रुचि पत्र आह्वान गरेको हो । महानगरले सार्वजनिक शौचालयको सेवा सुधार गर्ने उद्देश्यले सेवाप्रदायकहरूको उपलब्धता, अनुभव, क्षमता र सुझावका आधारमा भावी सञ्चालनको ढाँचा तथा योजना तयार गर्न लागेको जनाएको छ ।

महानगरपालिकाका अनुसार सार्वजनिक शौचालयको सञ्चालनलाई प्रभावकारी बनाउन सेवाप्रदायकसँगको सहकार्य र उनीहरूको व्यावसायिक अनुभव महत्त्वपूर्ण हुनेछ । त्यसका लागि इच्छुक संस्थाबाट प्राप्त हुने प्रस्ताव तथा सुझावलाई आगामी सञ्चालन योजना निर्माणको आधारका रूपमा लिइनेछ ।

इच्छुक फर्म, कम्पनी तथा संघसंस्थाले सूचना प्रकाशित भएको मितिले सात दिनभित्र महानगरपालिकाको आधिकारिक वेबसाइटमा उपलब्ध लिङ्कमार्फत आवेदन दिनुपर्नेछ ।

Share News