काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका उपाध्यक्ष होमप्रकाश चौधरी (कुर्मी) विरुद्ध पाँच लाख रुपैयाँ घुस लिएको आरोपमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । उपाध्यक्षसँगै गाउँपालिकाका तत्कालीन एमआईएस अपरेटर सुरेश कँहारलाई पनि प्रतिवादी बनाइएको छ ।
आयोगका अनुसार गाउँपालिकामा जागिर लगाइदिने भन्दै घुस लिएको भन्ने उजुरीमाथि अनुसन्धान गर्दा उपाध्यक्ष चौधरीको बैंक खातामा तत्कालीन एमआईएस अपरेटर सुरेश कँहारको खाताबाट पाँच लाख रुपैयाँ जम्मा भएको पुष्टि भएको थियो । उक्त रकम कार्यालय सहयोगीको नाममा चेक काटेर उपाध्यक्षको खातामा जम्मा गरिएको अनुसन्धानबाट खुलेको अख्तियारले जनाएको छ ।
अनुसन्धानका क्रममा आर्थिक वर्ष २०७९/८० को ‘न्यायिक असमानताविरुद्ध उपाध्यक्ष कार्यक्रम’ सञ्चालनका लागि गाउँपालिकाबाट उपलब्ध गराइएको ६ लाख रुपैयाँ पेश्कीमध्ये पाँच लाख रुपैयाँ घुसस्वरूप उपाध्यक्षलाई दिइएको देखिएको आयोगको दाबी छ । कार्यक्रममा खर्च नगरी उक्त रकम घुसका रूपमा प्रयोग गरिएको अख्तियारको निष्कर्ष छ ।
अख्तियारले दुवै प्रतिवादीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम बिगो बराबरको जरिवाना, कैद सजाय तथा घुसस्वरूप लिइएको पाँच लाख रुपैयाँ जफत गर्न मागदाबी गर्दै विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको जनाएको छ ।