८० प्रतिशत ज्येष्ठ नागरिकमा उच्च रक्तचाप, दैनिक ५ देखि १५ औषधिमा निर्भर

काठमाडौं । काठमाडौं महानगरपालिकाले ७० वर्षमाथिका ज्येष्ठ नागरिकमा गरेको घरदैलो स्वास्थ्य सर्वेक्षणले राजधानीका ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको देखाएको छ । सर्वेक्षणअनुसार अधिकांश ज्येष्ठ नागरिक दैनिक ५ देखि १५ प्रकारसम्मका औषधि सेवन गरिरहेका छन् भने करिब ७५ प्रतिशतलाई घरमै नियमित स्वास्थ्य निगरानी र हेरचाह आवश्यक पर्ने अवस्था रहेको छ ।

महानगरपालिकाले २०८२ माघ १८ गतेदेखि २०८३ जेठ ३१ गतेसम्म सबै ३२ वडामा पुगेर प्रारम्भिक स्वास्थ्य परीक्षणसहित स्वास्थ्य सर्वेक्षण गरेको थियो । सर्वेक्षणमा २ हजार ८४७ जना ज्येष्ठ नागरिक सहभागी भएका थिए ।

कार्यक्रमकी फोकल पर्सन कल्पना श्रेष्ठका अनुसार सर्वेक्षणले काठमाडौंका ज्येष्ठ नागरिकमा नसर्ने दीर्घरोगको उच्च भार रहेको देखाएको छ । अध्ययनमा सहभागीमध्ये ८० प्रतिशत अर्थात् २ हजार २८२ जनामा उच्च रक्तचाप भेटिएको छ । कतिपयको रक्तचाप २१०/११० सम्म पुगेको पाइएको छ, जसले पक्षघातको जोखिम बढाउने चिकित्सकहरूको भनाइ छ ।

मधुमेह पनि अर्को ठूलो समस्या बनेको छ । सर्वेक्षणमा सहभागी करिब ४० प्रतिशत महिला र ४२ प्रतिशत पुरुष मधुमेहबाट प्रभावित रहेको पाइएको छ । केही बिरामीको रगतमा चिनीको मात्रा ४९० सम्म पुगेको भेटिएको छ भने धेरैजसो इन्सुलिनको भरमा जीवनयापन गरिरहेका छन् ।

अध्ययनले महिला र पुरुषमा देखिने स्वास्थ्य समस्या फरक–फरक रहेको पनि देखाएको छ । महिलामध्ये ५५ प्रतिशत बाथ तथा हाडजोर्नीसम्बन्धी समस्याबाट पीडित छन् भने पुरुषमध्ये ४५ प्रतिशतमा प्रोस्टेटको समस्या देखिएको छ ।

स्वास्थ्य अवस्था र आवश्यक हेरचाहका आधारमा महानगरले ज्येष्ठ नागरिकलाई तीन समूहमा वर्गीकरण गरेको छ । करिब २ हजार १३५ जना 'यलो जोन'मा परेका छन्, जसलाई चिकित्सक, स्वास्थ्यकर्मी र परिवारको नियमित निगरानी आवश्यक छ । २८५ जना 'रेड जोन'मा छन्, जसलाई तत्काल अस्पतालको सेवा आवश्यक पर्ने अवस्था रहेको छ । बाँकी ४२७ जना 'ग्रीन जोन'मा परेका छन्, जसको स्वास्थ्य अवस्था तुलनात्मक रूपमा स्थिर रहेको सर्वेक्षणले देखाएको छ ।

सर्वेक्षणले बहु–औषधि सेवन पनि अर्को चुनौतीका रूपमा औँल्याएको छ । एक जना ज्येष्ठ नागरिकले दैनिक अधिकतम २१ प्रकारका एलोप्याथिक र आयुर्वेदिक औषधि सेवन गरिरहेको भेटिएको छ । औषधि कुन समयमा र कति मात्रा सेवन गर्ने भन्ने जानकारी नहुँदा स्वास्थ्य जोखिम थप बढेको अध्ययनको निष्कर्ष छ ।

महिलामध्ये करिब ४० प्रतिशत निरक्षर रहेकाले औषधि व्यवस्थापनमा थप समस्या देखिएको छ । परिवारका सदस्य घरबाहिर हुँदा औषधि छुट्याउन नसक्ने र मात्रा मिलाउन कठिन हुने अवस्था रहेको सर्वेक्षणले देखाएको छ ।

अध्ययनअनुसार ८० प्रतिशत ज्येष्ठ नागरिक परिवारसँगै बस्ने गरे पनि आवश्यक हेरचाह पर्याप्त नभएको पाइएको छ । करिब ८ प्रतिशत भने एक्लै वा भुक्तानीमा राखिएका हेरचाहकर्ता र नर्सको सहारामा बसिरहेका छन् । यस्तै, १३ प्रतिशतमा डिमेन्सिया वा अल्जाइमर्सका लक्षण र १५ प्रतिशतमा डिप्रेसनको संकेत देखिएको छ ।

महानगरले सर्वेक्षणका क्रममा रक्तचाप, रक्तमा ग्लुकोज, अक्सिजनको मात्रा, ज्वरो, पिसाब परीक्षणलगायत आधारभूत स्वास्थ्य परीक्षण गरेको थियो । साथै, घरमै सामान्य उपचारका लागि आवश्यक औषधि र प्राथमिक उपचार सामग्रीसहित स्वास्थ्यकर्मी परिचालन गरिएको थियो ।

सर्वेक्षणले काठमाडौंमा ज्येष्ठ नागरिकमैत्री स्वास्थ्य सेवा विस्तारको आवश्यकता औँल्याएको महानगरको निष्कर्ष छ । वडा तहका सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमा 'ज्येष्ठ नागरिक नर्सिङ डेस्क' स्थापना, 'मोबाइल हेल्थ युनिट' मार्फत घरदैलो सेवा विस्तार तथा निरक्षर ज्येष्ठ नागरिकका लागि रङ–संकेत (कलर–कोडेड) आधारित औषधि व्यवस्थापन प्रणाली लागू गर्नुपर्ने सुझाव अध्ययनले दिएको छ ।

Share News