काठमाडौं । मुस्लिम आयोगले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा स्थानीय समुदायबीच भएको झडप र त्यसपछि उत्पन्न अशान्तिप्रति गम्भीर चिन्ता व्यक्त गर्दै धार्मिक तथा सामाजिक सद्भाव कायम गर्न सबै पक्षसँग अपिल गरेको छ ।
आयोगका कार्यवाहक अध्यक्ष महमदिन अलीद्वारा बिहीबार जारी अपिलमा घटनामा ज्यान गुमाएका नेपाली नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरिएको छ । आयोगले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनीहरूको निःशुल्क उपचारको व्यवस्था गर्न तथा मृतकका परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग आग्रह गरेको छ ।
आयोगले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक समाज भएको उल्लेख गर्दै सदियौँदेखि कायम रहेको आपसी सद्भाव र सहिष्णुतामा पछिल्लो समय विशेषगरी तराई–मधेशका केही स्थानमा देखिएका गतिविधिले खलल पुर्याइरहेको जनाएको छ ।
यस्ता घटनाले सामाजिक तथा धार्मिक सहिष्णुतामा नकारात्मक असर पार्ने भन्दै आयोगले सबै समुदाय, नागरिक समाज, राजनीतिक दल, स्थानीय जनप्रतिनिधि, धर्मगुरु, सञ्चारकर्मी तथा प्रबुद्ध व्यक्तित्वलाई संयमता अपनाउन र धार्मिक तथा सामाजिक सद्भाव जोगाउन जिम्मेवार भूमिका निर्वाह गर्न अपिल गरेको छ ।
देवानगञ्ज घटनापछि उत्पन्न तनावलाई संवाद र सहकार्यबाट समाधान गर्नुपर्नेमा जोड दिँदै आयोगले शान्ति, सद्भाव र सामाजिक एकतालाई कमजोर पार्ने कुनै पनि गतिविधिबाट टाढा रहन सबै पक्षलाई आग्रह गरेको छ ।