राजधानी नजिकै पनि मोबाइलमा नो नेटवर्क, फोन गर्न डाँडो चढ्नुपर्ने
काठमाडौं । राजधानी नजिकै रहेको दक्षिण ललितपुरको महाङ्काल गाउँपालिकाका अधिकांश बस्ती अझै पनि भरपर्दो सञ्चार सुविधाबाट वञ्चित छन् । सञ्चार सेवाको कमजोर पहुँचका कारण स्थानीय बासिन्दाले दैनिक जीवनदेखि आकस्मिक अवस्थामा समेत विभिन्न समस्या भोग्दै आएका छन् । महाङ्काल गाउँपालिकाका अध्यक्ष गणेशबहादुर केसीका अनुसार गाउँपालिकाले सञ्चार सेवा विस्तारका लागि पटक–पटक सम्बन्धित निकाय तथा नेपाल दूरसञ्चार प्राधिकरणसँग पहल गरे पनि अपेक्षित सुनुवाइ हुनसकेको छैन । उनले गाउँपालिकाका अधिकांश क्षेत्रमा नेपाल टेलिकमको नेटवर्क प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको बताए । महाङ्काल गाउँपालिकामा साविकका बुखेल, मानिखेल, गोटिखेल, कालेश्वर, चन्दनपुर र ठुलादुर्लुङ गाविस समेटेर ६ वटा वडा कायम गरिएका छन् । यी वडाका धेरैजसो बस्तीमा मोबाइल नेटवर्क कमजोर रहेको स्थानीयको गुनासो छ । कतिपय स्थानमा घरभित्र बसेर फोन गर्न वा इन्टरनेट चलाउन नसकिने अवस्था रहेको छ भने नेटवर्क खोज्दै डाँडाकाँडा पुग्नुपर्ने बाध्यता अझै कायम छ । अध्यक्ष केसीले स्थानीयवासीले सञ्चार समस्याबारे निरन्तर गुनासो गर्ने गरेको बताउँदै वर्षौंदेखि समस्या समाधानका लागि प्रयास गरिए पनि सम्बन्धित निकायको पर्याप्त ध्यान नपुगेको बताए । उनका अनुसार कतिपय गाउँमा रातिको समयमा समेत घरबाहिर निस्केर नेटवर्क खोज्दै फोन गर्नुपर्ने अवस्था छ । गाउँपालिकाकी उपाध्यक्ष डोल्मामाया गोलेले गाउँपालिकाको केन्द्र गोटिखेलस्थित कार्यालय परिसरमै सञ्चार सेवाको समस्या रहेको जानकारी दिइन् । उनले फाइबर नेट जडान तथा सबै वडामा गुणस्तरीय सञ्चार सेवा विस्तारका लागि विभिन्न निकायमा पटकपटक निवेदन दिइएको भए पनि हालसम्म समाधान ननिस्किएको बताइन् । उपाध्यक्ष गोलेका अनुसार सञ्चार सेवाको अभावले विशेषगरी विपद् व्यवस्थापन र स्वास्थ्य सेवामा गम्भीर असर परेको छ । वर्षायाममा बाढीपहिराको जोखिम बढ्ने भएकाले समयमै सूचना आदानप्रदान हुन नसक्दा स्थानीय बासिन्दा थप जोखिममा पर्ने गरेका छन् । बिरामीको अवस्था गम्भीर हुँदा एम्बुलेन्स वा सम्बन्धित निकायसँग तत्काल सम्पर्क गर्न कठिन हुने समस्या पनि रहेको उनको भनाइ छ । सञ्चार सेवा कमजोर हुँदा गाउँपालिकाको प्रशासनिक कामकाजमा पनि असर परेको छ । विद्युत् अवरुद्ध भएको अवस्थामा आवश्यक कागजात तथा सिफारिस सम्बन्धित निकायमा पठाउन समस्या हुने गरेको स्थानीय जनप्रतिनिधिको भनाइ छ । डिजिटल प्रविधिमा आधारित सरकारी सेवाको विस्तार भइरहेका बेला आधारभूत सञ्चार पूर्वाधारको अभावले सेवा प्रवाहमा चुनौती थपिएको छ । प्राकृतिक स्रोत, धार्मिक तथा सामाजिक महत्वका क्षेत्रहरूले सम्पन्न महाङ्काल गाउँपालिकाको मुख्य आर्थिक आधार कृषि व्यवसाय हो । स्थानीय आम्दानीको अर्को प्रमुख स्रोत वैदेशिक रोजगारी रहेको छ । पछिल्ला वर्षहरूमा आधुनिक जीवनशैलीतर्फ आकर्षण बढ्दै गए पनि सञ्चार पूर्वाधारको कमजोर अवस्थाले विकासका सम्भावनामा असर पारेको स्थानीयवासी बताउँछन् । दक्षिण ललितपुरका ग्रामीण क्षेत्रमा सञ्चार पूर्वाधार विस्तारलाई प्राथमिकतामा राखी आवश्यक टावर, फाइबर नेटवर्क तथा अन्य प्रविधि जडानका लागि सम्बन्धित निकायले शीघ्र पहल गर्नुपर्ने स्थानीय जनप्रतिनिधिहरूको माग छ ।
मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या
काठमाडौं । काठमाडौं महानगरपालिकाले पछिल्लो समय मानसिक समस्या मौन महामारीका रूपमा फैलिँदै गएको भन्दै टोलटोलमा मनोसामाजिक स्वास्थ्य शिविर सञ्चालन गरेको छ । कामपा स्वास्थ्य विभागले ‘ह्यापी माइन्ड’सँगको सहकार्यमा काठमाडौंमा सञ्चालन गरेको मनोसामाजिक स्वास्थ्य शिविर र टोलका विभिन्न ठाउँमा पुगेर विभिन्न उमेर समूह र पेसासँग सम्बन्धित व्यक्तिहरूसँग कुराकानीसमेत गरेको कामपा स्वास्थ्य तथा शिक्षा समितिका संयोजक चिनीकाजी महर्जनले जानकारी दिए । शिविर जेठ ३० गतेदेखि असार ८ गते सोमबारसम्म चलेको थियो । स्वयम्भू भगवान् पाउ, कमलपोखरी, पञ्चमुखी हनुमान मन्दिर खरिबोट, बौद्ध स्तुप परिसर, इटुम्बहाल, चिवाद्यो आँगन, गहनापोखरी, हाँडीगाउँ डबली, न्हुःघ जोशी देगल मन्दिर परिसर गरी नौ ठाउँमा शिविर सञ्चालन गरिएको थियो । शिविरमा आएर सेवा लिनेमा उमेरगत रूपमा हेर्दा १० वर्ष र अधिकतम् ८४ वर्ष उमेर व्यक्तिलाई परामर्श प्रदान गरियो । यसमध्ये सबैभन्दा धेरै १८ वर्षदेखि ४५ वर्ष उमेर समूहका व्यक्ति थिए । यस्तै लैङ्गिकताका आधारमा ५५ जना यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक ५५५ जना महिला र ४०५ जना पुरुष सहभागी थिए । मनोसामाजिक शिविरबाट प्राप्त भएको तथ्याङ्कले सहरमा मानसिक स्वास्थ्य अब व्यक्तिगत समस्यामात्र नभई एउटा भयावह ‘जनस्वास्थ्य सङ्कट’का रूपमा विकसित हुँदै गएको महर्जनले जानकारी दिए । ‘मानसिक स्वास्थ्य समस्या मनभित्रै र घरभित्रै लुकाउने विषयका रूपमा हेर्नु हुँदैन । शरीरमा लागेको रोग जसरी उपचार गराइन्छ, त्यसरी नै मनमा लागेको रोगको पनि उपचार गराउनुपर्छ,’ महर्जनले भने, ‘सहरमा सबै मानिस कुनै न कुनै मानसिक समस्यामा गाँजिएकै छन् । सबैलाई कुनै न कुनै रूपको उपचार चाहिएको छ । यसका केही उपचार व्यक्ति आफैंले गर्न सक्छन् । केही परिवारबाट सम्भव छ । केही समाजबाट र केही चाहिँ स्वास्थ्यकर्मीबाटै उपचार गराउनुपर्छ ।’ सहरमा मानसिक स्वास्थ्य समस्याको तथ्याङ्कगत अवस्थाले, बढ्दो अवस्था घटाउन विद्यालयमा मानसिक स्वास्थ्य परामर्शदाताको व्यवस्था, अभिभावकलाई सचेतना, युवाहरूका लागि रोजगारीको सुनिश्चितता र ज्येष्ठ नागरिकका लागि सामाजिक सक्रियताका कार्यक्रमलाई सम्बन्ध भएका निकायले ध्यान दिनुपर्ने बताइएको छ । नत्र सहर एक दिन ‘मानसिक समस्याको मौन महामारी’मा पर्ने जोखिम रहेको बताइएको छ ।
दोलखाको तामाकोशी गाउँपालिकामा नागरिक पेन्सन योजना लागू हुने
काठमाडौं । नागरिक लगानी कोष र दोलखाको तामाकोशी गाउँपालिकाबीच नागरिक पेन्सन योजना सञ्चालन गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो सम्झौतामा आज कोषका निमित्त कार्यकारी निर्देशक शोभा श्रेष्ठ सुवेदी र गाउँपालिकाका अध्यक्ष प्रोणप्रताप केसीले हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार गाउँपालिकाले श्रमिक कल्याण कोष सञ्चालन कार्यविधिअनुसार सहभागीलाई श्रमिक कल्याण कोषबाट गाउँपालिकाले मासिक ५०० रुपैयाँ र सहभागी श्रमिकले मासिक ५०० रुपैयाँ योगदान गरी प्रतिमहिना एक हजार रुपैयाँ जम्मा गर्ने व्यवस्था गरिनेछ । यसका लागि कोषले योजना सञ्चालन गर्न आवश्यक केवाइसी फाराम तथा व्यक्तिगत विवरण कार्ड निःशुल्क उपलब्ध गराउनेछ भने गाउँपालिकाले सहभागी श्रमिक तथा उनीहरूको व्यक्तिगत खातासम्बन्धी विवरण अद्यावधिक राख्नुपर्नेछ । सहभागी श्रमिकले नागरिक पेन्सन योजना सञ्चालन कार्यविधि, २०७६ बमोजिम ६० वर्ष उमेर पुगेपछि पेन्सन सुविधा प्राप्त गर्नेछन् । पेन्सन प्राप्त गरिरहेका सहभागीको मृत्यु वा हराएको, बेपत्ता भएको अवस्थामा निजको श्रीमान् वा श्रीमतीलाई प्रचलित व्यवस्थाअनुसार सहभागीले पाएसरह आजीवन पेन्सन उपलब्ध गराइनेछ । दुवैको मृत्यु भएमा खातामा रहेको बचत रकम नजिकको हकवालालाई उपलब्ध गराइने व्यवस्था गरिएको छ । योजनामा सहभागी भएको पाँच वर्ष पूरा भएपछि जम्मा भएको रकमको ८० प्रतिशतसम्म रकम गाउँपालिकाको सिफारिसमा सापटीका रूपमा लिन सकिने व्यवस्था छ ।