मुक्तिनाथ विकास बैंक र नागार्जुन नगरपालिकाबीच सहुलियतपूर्ण कर्जा सम्झौता

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेड र नागार्जुन नगरपालिकाबीच कृषि, पर्यटन, साना तथा मझौला उद्यम र महिला उद्यमशीलताको प्रवर्द्धन गर्दै स्थानीय स्तरमा रोजगारी सिर्जना तथा आर्थिक गतिविधि विस्तार गर्ने उद्देश्यले सहुलियतपूर्ण कर्जा प्रवाहसम्बन्धी सम्झौता भएको छ ।

सम्झौताअनुसार नगरपालिकाको सिफारिसमा योग्य उद्यमीले आफ्नो व्यवसायको प्रकृतिअनुसार बैंकबाट धितोबिनै अधिकतम दुई लाख रुपैयाँसम्म कर्जा प्राप्त गर्न सक्नेछन् । नगरपालिकाको सहुलियतपूर्ण ब्याज अनुदानसम्बन्धी कार्यविधिअनुसार योग्य ऋणीले ब्याज अनुदानको सुविधासमेत पाउनेछन् ।

बैंकले स्थानीय सरकारसँगको सहकार्यमार्फत उद्यमशीलता विकास, वित्तीय पहुँच विस्तार, वित्तीय समावेशीकरण तथा स्थानीय आर्थिक विकासमा योगदान पुर्याउने प्रतिबद्धता जनाएको छ ।

सम्झौतापत्रमा मुक्तिनाथ विकास बैंकका कृषि तथा समावेशी लगानी विभाग प्रमुख तेजबहादुर गिरी र नागार्जुन नगरपालिकाका कार्यवाहक नगर प्रमुख सुशीला अधिकारीले हस्ताक्षर गरेका छन् । 

Share News