गुल्मीमा बुवाआमाको स्मृतिमा प्रतीक्षालय निर्माण

गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिका–५, वस्तु निवासी ७६ वर्षीय लालमनी पाण्डेले आफ्ना दिवंगत बुवाआमा तथा परिवारका सदस्यहरूको स्मृतिमा प्रतीक्षालय निर्माण गरेका छन् । उनले इस्मा गाउँपालिका–३ र ५ को सङ्गमस्थल हुलाकेमा स्थानीयवासी तथा यात्रुहरूको सुविधाका लागि प्रतीक्षालय निर्माण गरेका हुन् ।

पाण्डेले आफ्ना स्वर्गीय बुवा शोभाखर पाण्डे तथा आमा जीवकला पाण्डे र उदकला पाण्डेको स्मृतिमा प्रतीक्षालय निर्माण गरेका हुन् । प्रतीक्षालय निर्माण भएपछि उक्त क्षेत्रमा आवतजावत गर्ने यात्रु तथा स्थानीयवासीलाई विश्राम गर्न सहज हुने अपेक्षा गरिएको छ ।

जीवनभर दुःख, कष्ट र सङ्घर्ष गर्दै सन्तानको पालनपोषण तथा भविष्य निर्माणमा योगदान दिएका अभिभावकहरूको सम्झनालाई सामाजिक सेवासँग जोड्ने उद्देश्यले प्रतीक्षालय निर्माण गरिएको हो । व्यक्तिगत स्मृतिलाई सामुदायिक हितसँग जोड्ने पाण्डेको यो प्रयासले दिवंगत अभिभावकप्रतिको सम्मानसँगै सामाजिक उत्तरदायित्वको भावनासमेत उजागर गरेको छ ।

७६ वर्षीय पाण्डेले भारतीय सेनामा आठ वर्ष सेवा गरेका थिए । सेनाको जागिर छाडेपछि उनले गाउँमै सामान्य जीवन बिताउँदै आएका छन्। उनका एक छोरा र तीन छोरी गरी चार सन्तान छन्। चारै जना सन्तान सरकारी सेवामा कार्यरत छन्।

व्यक्तिगत जीवनलाई सरल बनाउँदै सामाजिक सेवामा योगदान पुर्याएका पाण्डेको यो कार्य स्थानीय समुदायका लागि उपयोगी बनेको छ। बुवाआमाको सम्झनामा निर्माण गरिएको प्रतीक्षालयले यात्रुहरूलाई सुविधा प्रदान गर्नुका साथै समाजप्रतिको जिम्मेवारी र सेवाभावको सकारात्मक सन्देशसमेत दिएको छ। 

Share News