२ अर्बमा ९ मेगावाटको खिम्ती-घ्वाङ आयोजना बन्दै, एनएमबि बैंकको १.२४ अर्ब लगानी
काठमाडौं । दोलखा र रामेछाप जिल्लामा निर्माणाधीन ९ मेगावाट क्षमताको खिम्ती-घ्वाङ साना जलविद्युत आयोजनामा एनएमबी बैंकले १ अर्ब २४ करोड रुपैयाँ ऋण लगानी गर्ने भएको छ । आयोजना प्रवर्द्धक वन्डर्स इनर्जी प्रालि र एनएमबी बैंकबीच मङ्गलबार ऋण लगानी सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौतामा बैंकका तर्फबाट ‘सस्टेनेबल इनर्जी बैंकिङ’ विभाग प्रमुख दिनेश दुलाल र कम्पनीका तर्फबाट प्रबन्ध सञ्चालक प्रकाशचन्द्र दुलालले हस्ताक्षर गरेका थिए । कम्पनीका अनुसार दोलखाको जिरी नगरपालिका-१ र रामेछापको गोकुलगङ्गा गाउँपालिका-१ भएर बहने खिम्ती-घ्वाङ खोलामा निर्माण भइरहेको उक्त आयोजना २०८४ साल चैतभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । आयोजनाका लागि आवश्यक सरकारी जग्गा प्राप्ति तथा रूख कटानको अनुमति मन्त्रिपरिषदबाट प्राप्त भइसकेको छ । आवश्यक जग्गा खरिद, पहुँच मार्ग, गोदाम, आवास गृह निर्माणलगायत पूर्व तयारीको काम सम्पन्न भइसकेको छ । यस्तै, सिभिल, हाइड्रो-मेकानिकल र इलेक्ट्रो-मेकानिकल निर्माणको ठेक्का सम्झौतापछि हालसम्म करिब ३० प्रतिशत काम सम्पन्न भएको कम्पनीले जनाएको छ । कुल १ अर्ब ८० करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा १ अर्ब २४ करोड रुपैयाँ बैंक ऋणबाट व्यवस्थापन गरिनेछ भने बाँकी ५६ करोड रुपैयाँ स्वपुँजीबाट जुटाइनेछ । त्यसमध्ये ३५ करोड रुपैयाँ जुटिसकेको र बाँकी रकम पनि चाँडै व्यवस्थापन गर्ने प्रक्रिया अघि बढाइएको प्रबन्ध सञ्चालक दुलालले जानकारी दिए । कम्पनीका अनुसार गौरीशङ्कर संरक्षण क्षेत्रभित्र निर्माण भइरहेको यो आयोजना सामाजिक तथा वातावरणीय अन्तर्राष्ट्रिय मापदण्डअनुसार ‘हाइड्रो सेलेक्ट’ उपकरण प्रयोग गरी निर्माण गरिने नेपालकै पहिलो जलविद्युत् आयोजना हुनेछ ।
नारायणगढ-मुग्लिन सडक मंगलबार राति ८ बजेदेखि बिहान ५ बजेसम्म पूर्ण बन्द
काठमाडौं । नारायणगढ-मुग्लिन सडक खण्ड मंगलबार (आज) मंगलबार राति ८ बजेदेखि भोलि बिहान ५ बजेसम्म बन्द रहने भएको छ । सुख्खा पहिरो खस्ने जोखिम कायमै रहेकाले जिल्ला प्रशासन कार्यालय चितवनले सवारी आवागमनमा रोक लगाएको हो । पहिरोका कारण हुन सक्ने मानवीय जोखिमलाई मध्यनजर गरी यो निर्णय गरिएको हो । मंगलबार साँझ ६ बजे मुग्लिन बजार नजिकै तेस्रोपटक सुख्खा पहिरो खसेको थियो । पहिरोले सडक पूर्ण रुपमा अवरुद्ध बनेको थियो । सडक विभागका इन्जिनियरको नेतृत्वमा मेसिन प्रयोग गरी पहिरो पन्छाइएको छ । अहिले सडक सञ्चालनमा आए पनि पहिरो खस्ने क्रम रोकिएको छैन । सडक डिभिजन भरतपुरले जोखिम कायमै रहेकाले सतर्कता अपनाउन भनेको छ । प्रशासनले मंगलबार १२ साउन राति ८ बजेदेखि भोलि १३ साउन बिहान ५ बजेसम्म सबै प्रकारका गाडी चलाउन रोक लगाएको छ । रातको समयमा यात्रा गर्दा ठूलो दुर्घटना हुन सक्ने भएकाले यात्रा नगर्न सबैलाई अनुरोध गरिएको छ । सडक विभाग र प्रशासनले पहिरोको अवस्थाबारे निरन्तर अनुगमन गरिरहेका छन् । सडक बन्द रहेको समयमा थप जानकारी वा सहयोगका लागि विभिन्न नम्बरहरु सार्वजनिक गरिएको छ । नागरिकले नेपाल प्रहरीको १०० र सशस्त्र प्रहरी बलको १११४ नम्बरमा फोन गर्न सक्ने छन् । त्यस्तै, जिल्ला आपतकालीन केन्द्र (डिइओसीमा) को १२३४ नम्बरमा सम्पर्क गर्न मिल्नेछ । जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारीलाई ९८५५०१३९९९ नम्बरमा सिधै फोन गर्न सकिनेछ ।
ऊर्जा मन्त्री विराजभक्तको विज्ञ सल्लाहकारमा विवेक राज कँडेल नियुक्त
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठको सल्लाहकार (ऊर्जा व्यापार तथा पूर्वाधार, विशिष्ठ श्रेणी) मा चितवनका विवेक राज कँडेल नियुक्त भएका छन् । सल्लाहकारको भूमिकामा रहँदा कँडेलले नेपालको दीर्घकालीन ऊर्जा सुरक्षामा जोड दिँदै नीति तर्जुमा गर्न, आन्तरिक ऊर्जा क्षेत्रको सुधारलाई अघि बढाउन र निजी क्षेत्रको लगानी आकर्षित गर्न रणनीतिक परामर्श प्रदान गर्नेछन् । साथै, उजले बृहत् ऊर्जा व्यापार सुधार र क्षेत्रीय ऊर्जा बजार एकीकरणलाई गति दिने कार्यमा समेत योगदान पुर्याउनेछन् । त्रिभूवन विश्वविद्यालयबाट सिभिल इन्जिनियरिङ गरेका कँडेलले हार्वर्ड विश्वविद्यालयको केनेडी स्कुल अफ गभर्नमेन्टबाट जलवायु ऊर्जा रूपान्तरण र नेतृत्वमा विशेषज्ञतासहित सार्वजनिक प्रशासनमा स्नातकोत्तर (एमपीए) तथा नेदरल्यान्ड्सको युनिभर्सिटी अफ टुवान्टेबाट ऊर्जा म्यानेजमेन्टमा स्नातकोत्तर गरेका छन् । उनीसँग युएन डीपी, विश्व बैंक र आइरिनालगायतका विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूमा डेढ दशकभन्दा बढी काम गरिसकेको अनुभव छ ।