काठमाडौं । वर्षाका कारण अवरुद्ध बनेको बीपी राजमार्गका विभिन्न ठाउँमा पहिरो र लेदो पन्छाएपछि आइतबार बेलुकादेखि यातायात सञ्चालनमा आएका छन् । शुक्रबार र शनिबारको वर्षाका कारण काभ्रेपलाञ्चोकको चोकडाँडादेखि नेपालथोकसम्म विभिन्न स्थानमा पहिरो खस्नुका साथै सडकमा लेदो र ढुङ्गा थुप्रिएको थियो ।
यसरी सडक अवरुद्ध भएपछि शनिबार बिहानदेखि यातायात आवागमन पूर्ण रूपमा बन्द भएको थियो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रबिन विष्टका अनुसार अवरुद्ध सडक खुलाउन आइतबार बिहानदेखि डोजरको सहायताले पहिरो र लेदो हटाउन सुरु गरिएको थियो ।
सडक खुलाउने कार्यका लागि सुरक्षाकर्मी तथा प्राविधिक टोलीसमेत परिचालन गरिएको थियो । रोशी गाउँपालिका-९ पिन्थलीमा खहरे खोलाको ढुङ्गा र माटो सहितको लेदो तथा वडा नम्बर ८ गिम्दीबेँसीमा खसेको पहिरो पन्छाएपछि अवरुद्ध सडक पुनः सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।