बानिया निर्माण सेवा: १७.११ अर्बको अर्डर बुक, १९ अर्ब ऋण
काठमाडौं । बानिया निर्माण सेवा प्रालिको ऋण एक वर्षमै करिब ५ अर्ब रुपैयाँले बढेको छ । सन् २०२६ फेब्रुअरीसम्मको तथ्याङ्क अनुसार कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट करिब १९ अर्ब रुपैयाँ ऋण लिएको छ । कुल ऋणमध्ये १ अर्ब ८७ करोड ५० लाख रुपैयाँ दीर्घकालीन र १५ अर्ब ६० करोड ७० लाख रुपैयाँ अल्पकालीन रहेको छ । जबकि अघिल्लो वर्ष यो रकम करिब १५ अर्ब रुपैयाँ मात्र थियो । कम्पनीको वित्तीय संरचना अत्यधिक ऋणमा आधारित बन्दै गएको छ । २०८२ असारसम्म कुल गियरिङ अनुपात ६.०३ गुणा पुगेको छ, जुन अघिल्लो वर्ष ४.२७ गुणा थियो । ब्याज तिर्ने क्षमता सूचक (ब्याज आवरण अनुपात) पनि १.५५ गुणामा झरेको छ, जुन अघिल्लो वर्ष १.६५ गुणा थियो । त्यस्तै, कुल ऋण र नगद प्रवाहको अनुपात २०.१३ गुणा पुगेको छ, जसले कम्पनीमाथि वित्तीय दबाब बढ्दै गएको स्पष्ट देखाउँछ । नेपालमा सडक निर्माण तथा खानी क्षेत्रमा सक्रिय बानिया निर्माण सेवा ‘ए’ श्रेणीको निर्माण कम्पनी हो । यसको सुरुवात सन् १९९८ अगस्टमा एकल स्वामित्व फर्मका रूपमा भएको थियो भने सन् २०१५ जुलाईमा प्राइभेट लिमिटेड कम्पनीमा रूपान्तरण गरिएको हो । हाल कम्पनीको दर्ता कार्यालय हेटौंडामा रहेको छ । बानिया निर्माण सेवा मुख्य रूपमा सडक निर्माण, पूर्वाधार विकास तथा खानी सम्बन्धी कार्यहरूमा सक्रिय छ । कम्पनीले विभिन्न सरकारी तथा निजी परियोजनाहरू सफलतापूर्वक सम्पन्न गर्दै आएको दाबी गरेको छ । ठूला परियोजनाहरूमा सहभागिता जनाउन र प्राविधिक तथा कानुनी योग्यता पूरा गर्न बानिया निर्माण सेवाले अन्य निर्माण कम्पनीहरूसँग ज्वाइन्ट भेन्चरमा पनि काम गर्ने गरेको छ । कम्पनी मुख्यतः सरकारी टेन्डरमा आधारित परियोजनामा संलग्न छ । अत्यधिक प्रतिस्पर्धाका कारण कम मूल्यमा बोली लगाउनुपर्ने अवस्था रहेको छ, जसले नाफामा दबाब पार्ने जोखिम बढाएको कम्पनीले जनाएको छ । सरकारले विदेशी कम्पनीलाई निश्चित मूल्यभन्दा कम परियोजनामा सहभागी हुन नदिने व्यवस्था तथा सक्रिय परियोजनाको संख्या सीमित गर्ने नीति लागू गरेपछि स्थानीय निर्माण कम्पनीलाई केही फाइदा भए पनि प्रतिस्पर्धा अझै उच्च रहेको कम्पनीको भनाइ छ । निर्माण कार्यमा ढिलाइ, साइट क्लियरेन्स, प्रशासनिक प्रक्रिया तथा भुक्तानी ढिलाइका कारण परियोजना कार्यान्वयन समयमै हुन नसकेको कम्पनीले जनाएको छ । यसले कम्पनीको आम्दानी समयमै प्राप्त नहुने अवस्था रहेको छ। । कम्पनीले गत वर्ष पौने ३ अर्ब रुपैयाँ आम्दानी गरेको छ । कम्पनीका अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा २ अर्ब ८१ करोड ३० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । यो अघिल्लो वर्षको तुलनामा १७.६२ प्रतिशत बढी हो । आर्थिक वर्ष २०८०/८१ मा कम्पनीले २ अर्ब ३९ करोड २० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । यस्तै, आर्थिक वर्ष २०७९/८० मा २ अर्ब ३५ करोड ८० लाख रुपैयाँ, आव २०७८/७९ मा २ अर्ब ५६ करोड ६० लाख रुपैयाँ, आव २०७७/७८ मा २ अर्ब २६ करोड २० लाख रुपैयाँ, आव २०७६/७७ मा ९९ करोड २० लाख रुपैयाँ र आव २०७५/७६ मा १ अर्ब ३६ करोड ३० लाख रुपैयाँ आम्दानी गरेको थियो । सञ्चालन नाफा मार्जिन पनि २०.०३ प्रतिशतमा सुधार भएको छ, जुन अघिल्लो वर्ष १९.८४ प्रतिशत थियो । तर, ब्याज खर्च बढेकाले खुद नाफा मार्जिन २.०८ प्रतिशतबाट घटेर १.७३ प्रतिशतमा झरेको छ । कम्पनीका प्रबन्ध निर्देशक ऋषि राज बानिया रहेका छन् । उनी एक दशकभन्दा बढी समयदेखि बानिया निर्माण सेवासँग आबद्ध रहँदै विभिन्न परियोजनाको कार्यान्वयनमा प्रत्यक्ष संलग्न छन् । त्यस्तै, सञ्चालक दिक्षान्त बानिया पनि कम्पनीसँग जोडिएका छन्, जसले निर्माण सामग्री आपूर्ति गर्ने बानिया सप्लायर्स प्रालिमा समेत नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन् । उनलाई निर्माण, ट्रेडिङ तथा सप्लाई व्यवसायमा तीन वर्षभन्दा बढी अनुभव रहेको छ । कम्पनीको अर्डर बुक अवस्था हाल बलियो देखिन्छ । १६ फेब्रुअरी २०२६ सम्मको तथ्याङ्क अनुसार बानिया निर्माण सेवाको बाँकी कार्यान्वयन गर्नुपर्ने अर्डर बुक करिब १७ अर्ब ११ करोड ४० लाख रुपैयाँ पुगेको छ, जुन सन् २०२५ को कुल कारोबारको करिब ६ गुणा हो । यसले निकट भविष्यमा कम्पनीको आम्दानी वृद्धि हुने संकेत गरेको छ । अर्डर बुक मुख्य रूपमा सडक निर्माण क्षेत्रमा केन्द्रित छ, जसले कुल अर्डर बुकको करिब ४५ प्रतिशत हिस्सा ओगटेको छ । बाँकी परियोजनाहरू जलविद्युत, खानी, अस्पताल, नहर तथा बस टर्मिनल जस्ता क्षेत्रमा फैलिएका छन् । करिब ३० प्रतिशत अर्डर बुक जलविद्युत क्षेत्रमा र २४ प्रतिशत खानी क्षेत्रमा केन्द्रित भएकाले कम्पनीलाई केही क्षेत्रगत जोखिम पनि रहेको देखिन्छ । यस्ता परियोजनाहरू निश्चित समयसीमाभित्र सम्पन्न गर्नुपर्ने भएकाले कार्यान्वयन क्षमता र समयमै सम्पन्न गर्ने दक्षताले कम्पनीको नाफामा प्रत्यक्ष प्रभाव पार्ने देखिन्छ ।
१४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनामा ७५ प्रतिशत प्रगति
दमौली । तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा हालसम्म ७५ प्रतिशत प्रगति भएको छ । ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन आयोजनाको तीन वटै ‘प्याकेज’मा काममा ७५ प्रतिशत प्रगति भएको आयोजनाले जनाएको छ । आयोजनाको प्याकेज १ अन्तर्गत बाँधलगायत संरचना (हेडवक्र्स), प्याकेज २ अन्तर्गत मुख्य सुरुङ, विद्युत्गृह तथा सम्बन्धित उपकरणहरू र प्याकेज ३ अन्तर्गत दमौली भरतपुर २२० केभी प्रसारण लाइनको काम भइरहेको आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिए । प्याकेज १ अन्तर्गत बाँधलगायत संरचनाको काम सोङ्दा कालिका जेभीले गरिरहेको छ । यो प्याकेजमा ५७ प्रतिशत प्रगति भएको भण्डारीले बताए । मुख्य बाँध निर्माणका लागि डाँडा कटान, पहुँच सडक, सेती नदीको धार फर्काउन आवश्यक अस्थायी बाँध, दुईवटा ‘डाइभर्सन’ सुरुङलगायत संरचनाको निर्माण सकिएको छ । मुख्य बाँध निर्माणका लागि सेती नदीलाई विसं २०८० कात्तिक २० गते पथान्तरण गरिएको थियो । विसं २०८१ जेठमा मुख्य बाँधको माथिल्लो र तल्लो तटीय क्षेत्रमा अस्थायी बाँध निर्माण सकिएको जनाइएको छ । उक्त कार्य सम्पन्न भएसँगै मुख्य बाँधको ‘कङ्क्रिटिङ’ तथा सम्बन्धित ग्राउटिङ कार्य सुरु गर्न आवश्यक पूर्वाधार तयार भएको छ । 'आयोजनाको १४० मिटर अग्लो बाँध निर्माणका लागि विसं २०८१ चैत ७ गते पहिलो कङ्क्रिट राखी कङ्क्रििटङ कार्यको सुरुआत गरिएको थियो,' उनले भने, 'मुख्य बाँधको कङ्क्रिट, कोर ड्रिलिङ, ग्राउटिङलगायत कार्य जारी छन् ।' प्याकेज २ अन्तर्गत विद्युत्गृह तथा सम्बन्धित उपकरणको काम सिनो हाइड्रो कर्पोरेसन चीनले गरिरहेको छ । यस अवधिसम्म भूमिगत संरचनाहरू निर्माणका लागि खन्ने कार्य सम्पन्न गरी अधिकांश संरचनाको सिभिल निर्माण सम्पन्न भएको भण्डारीले बताए । विद्युत्गृह, केवल सुरुङ, सर्च ट्याङ्क, टेलरेसलगायत संरचनाहरूको मुख्य कङ्क्रिटिङ कार्य सम्पन्न भएको यस प्याकेजको प्रगति ७६ प्रतिशत रहेको भण्डारीले बताए । भण्डारीका अनुसार जलाशयको पानीलाई विद्युत्गृहतर्फ लैजान प्रयोग हुने मुख्य सुरुङको कङ्क्रिट लाइनिङ कार्य भइरहेको छ । कुल १४१८.७५ मिटर कङ्क्रिट लाइनिङ गर्नुपर्नेमा हालसम्म १४०७.७५ मिटर सम्पन्न भएका छ । प्याकेज ३ प्रसारण लाइनअन्तर्गत केइसी इन्टरनेसनल लिमिटेड भारतले दमौली भरतपुर २२० केभी ३३ किलोमिटर प्रसारण लाइनमा पर्ने ९४ वटा टावरमध्ये ७८ वटा टावरको जग हाल्ने काम सम्पन्न गरेको छ । यस प्याकेजको प्रगति ७७ प्रतिशत रहेको छ । प्रसारण लाइनको मार्गाधिकारमा पर्ने राष्ट्रिय वनका रहेका रूखबिरुवा हटाउन सम्बन्धित डिभिजन वन कार्यालयसँगको समन्वयमा छपान कार्य सुरु भएको छ । कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कुल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याज समेत) ५० करोड ५० लाख अमेरिकी डलरका लागि एडिबीले १५ करोड, जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैङ्कले आठ करोड ५० लाख र नेपाल सरकार/नेपाल विद्युत् प्राधिकरणले आठ करोड ६० लाख डलर व्यहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ । रासस
३ आयोजनाको बिजुली केन्द्रमा जोड्न प्रसारण लाइन निर्माण सुरु, कुन-कुन हुन् ?
काठमाडौं । ३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन आयोजना निर्माण थालिएको छ । धवलागिरि र मालिका गाउँपालिका भएर बग्ने म्याग्दी नदीमा निर्माणाधीन ३ वटा जलविद्युत आयोजनाले उत्पादन गर्ने विद्युतलाई राष्ट्रिय प्रणालीमा जोड्न संयुक्त रुपमा ‘डबल’ र ‘मल्टी’ सर्किट प्रसारण लाइन बनाउन सुरु गरिएको हो । धवलागिरि गाउँपालिका-४ जेल्तुङदेखि वडा नं ३ र ७ हुँदै मालिका गाउँपालिका-७ मा रहेको नेपाल विद्युत् प्राधिकरणको डाँडाखेत सबस्टेसन जोड्ने १६.४८ किलोमिटर लामो प्रसारण लाइन निर्माण हुन लागेको हो । यस आयोजनाबाट ३ वटा आयोजनाबाट उत्पादन हुने १६४.७५ मेगावाट विद्युत् राष्ट्रिय प्रसारणमा जोडिने माथिल्लो म्याग्दी जलविद्युत आयोजनाको प्रवर्द्धक कम्पनी हाइड्रो इम्पाएरका सञ्चालक पूर्णबहादुर पुनले बताए । कुल ६५ मेगावाट क्षमताको म्याग्दी खोला, ४६.२५ मेगावाट क्षमताको माथिल्लो म्याग्दी र ५३.५ मेगावाट क्षमताको अपर म्याग्दी जलविद्युत आयोजनाले साझेदारी गरेर बनाउन लागेको आयोजनाको ५७ वटा टावर निर्माण हुनेछन् । कुल ४२ करोड ६२ लाख रुपैयाँ लागत अनुमान गरिएको आयोजना निर्माणका लागि ८.४० हेक्टर निजी र २१.९९ हेक्टर राष्ट्रिय वनको जग्गा प्रयोग हुनेछ । सार्वजनिक वन प्रयोग गरेवापत सरकारलाई जग्गा सट्टाभर्ना गरिने, टावर रहने निजी जग्गा खरिद तथा प्रसारण लाइनको क्षेत्राधिकारमा पर्ने जग्गाधनीलाई क्षतिपूर्ति उपलब्ध गराइने आयोजनाले जनाएको छ । आयोजना निर्माणका क्रममा हुनसक्ने वातावरणीय प्रभाव न्यूनीकरणका लागि ४१ लाख ७५ हजार रुपैयाँ र सामाजिक सहयोग कार्यक्रमका लागि २१ लाख ३१ हजार रुपैयाँ प्रस्ताव गरिएको छ । प्रभावित क्षेत्रका बासिन्दाको सुझाव समेटेर वातावरणीय परीक्षण प्रतिवेदन पारित भएपछि निर्माण सुरु हुने प्रसारण लाइन आयोजना ८ महिनामा सम्पन्न गरिने म्याग्दी खोला जलविद्युत आयोजनाका प्रमुख उत्तम पौडेलले बताए । वि.सं २०८१ असोज ६ गते सर्वेक्षण अनुमति प्राप्त भएको म्याग्दी कोरिडोर प्रसारण लाइन आयोजनाको प्रारम्भिक वातावरणीय परीक्षणको कार्यसूची ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयबाट २०८१ साल चैत १२ गते स्वीकृत भएको थियो ।