१५ वर्षदेखि रुग्ण कमला पुल, अब दुई महिनाभित्र सञ्चालनमा ल्याइने
काठमाडौं । १५ वर्षदेखि रुग्ण आयोजनाका रूपमा रहेको कमला नदीको पुल निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । मधेशको मेरुदण्डका रूपमा रहेको हुलाकी राजमार्गअन्तर्गत निर्माणाधीन कमला नदीको पुल निर्माणको काम अन्तिम चरणमा पुगेको हो । पूर्वाधार विकास मन्त्रालयले रुग्ण आयोजनाको मुख्य समस्या पहिचान गरी निर्माण कम्पनीलाई आवश्यक सहजीकरण गरेपछि पुल निर्माणको बाँकी कामले गति लिएको हो । ठेकेदार कम्पनी र बीमा कम्पनीबीचको कानुनी विवादका कारण आयोजना लामो समयदेखि रुग्ण अवस्थामा थियो । नदीमा भाँचिएको दशौँ नम्बरको पिलर उठाउने काम सम्पन्न भएको छ भने सब स्ट्रक्चरको ढलान कार्यसमेत सकिएको छ । पुलको फाउन्डेसनसहित तीनवटा पिलरको सबलीकरणको काम सम्पन्न भइसकेको छ । अब सुपर स्ट्रक्चरको स्ल्याबमाथि ढलान गर्ने काम मात्र बाँकी छ । आगामी हप्ता नदीमा पानीको सतह घटेपछि सो कामसमेत सम्पन्न हुनेछ । धनुषातर्फ पुलसम्मको पहुँच सडकका लागि माटो भरिए पनि वर्षाको पानीले बगाएर क्षति पुगेको छ । नदीमा पानीको सतह घटेपछि पुन माटो भर्ने काम सम्पन्न गरिनेछ । सिराहातर्फ पुलको पहुँच सडकमा माटो भर्ने काम भने सम्पन्न भइसकेको छ। यसैगरी, पुलको लोड परीक्षणसमेत सम्पन्न भईसकेको छ । अबको दुई महिनाभित्र पुललाई औपचारिक रूपमा सञ्चालनमा ल्याउने गरी निर्माण कार्य अन्तिम चरणमा पुगेको हो । २०६८ सालमा पप्पु लुम्बिनी जेभीले पुल निर्माणको ठेक्का लिएको थियो । २०७८ साल असारमा पुल उद्घाटनको तयारी भइरहेका बेला पिलर भाँचिएपछि आयोजना रुग्ण अवस्थामा पुगेको थियो । सरकारले आयोजनामा भइरहेको ढिलाइको मुख्य समस्या पहिचान गरी आवश्यक सहजीकरण गरेपछि पुल निर्माणको काम अन्तिम चरणमा पुगेको हो । मन्त्रालयले पुल निर्माणसँगै कमला नदी नियन्त्रणको कामसमेत अघि बढाएको छ । नदी नियन्त्रणका लागि सरकारले २५ करोड रुपैयाँ बजेट सुनिश्चित गरिसकेको छ । डिजाइन स्वीकृत गरी आह्वान गरिएको टेन्डरमा जेभीसहित १९ वटा कम्पनीले सहभागिता जनाएका छन् । आगामी हप्ता प्राविधिक मूल्याङ्कन सम्पन्न गरी आर्थिक प्रस्ताव खोल्ने सूचना जारी गर्ने मन्त्रालयको तयारी छ ।
कमला पुल निर्माणको अन्तिम चरणमा, दुई महिनाभित्र सञ्चालनमा आउने
काठमाडौं । १५ वर्षदेखि रुग्ण आयोजनाका रूपमा रहेको कमला नदीको पुल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । मधेशको मेरुदण्ड मानिने हुलाकी राजमार्गअन्तर्गत निर्माणाधीन यस पुलको ठेकेदार र बीमा कम्पनीबीचको कानुनी विवादका कारण लामो समयदेखि काम रोकिएको थियो । पूर्वाधार विकास मन्त्रालयले समस्याको मुख्य कारण पहिचान गरी आवश्यक सहजीकरण गरेपछि निर्माणले तीव्रता पाएको हो । नदीमा भाँचिएको दशौँ नम्बरको पिलर उठाउने, सब स्ट्रक्चरको ढलान तथा तीनवटा पिलरको सबलीकरण र पुलको ’लोड टेस्ट’ समेत सम्पन्न भइसकेको छ । पानीको सतह घट्नासाथ सुपर स्ट्रक्चरको स्ल्याब ढलान र धनुषातर्फ वर्षाले बगाएको पहुँच सडकमा पुनः माटो भर्ने काम सकिनेछ । सिराहातर्फको पहुँच सडक भने तयार भइसकेको छ । अबको दुई महिनाभित्र पुललाई औपचारिक रूपमा सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ । २०६८ सालमा पप्पु लुम्बिनी जेभीले निर्माणको ठेक्का पाएको यो पुल २०७८ असारमा उद्घाटनको तयारी हुँदा पिलर भाँचिएपछि ठप्प बनेको थियो । मन्त्रालयले पुल निर्माणसँगै नदी नियन्त्रणका लागि २५ करोड रुपैयाा बजेट सुनिश्चित गरी प्रक्रिया अगाडि बढाएको छ । उक्त कार्यका लागि आह्वान गरिएको टेन्डरमा १९ वटा कम्पनी सहभागी भएका छन्, जसको प्राविधिक मूल्याङ्कन सम्पन्न गरी आगामी हप्ता आर्थिक प्रस्ताव खोलिने तयारी छ ।
जाल्दीगाड जलविद्युत आयोजनाका लागि जुट्यो ४ अर्ब ६० करोड लगानी
काठमाडौं । रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा निर्माण हुने २२.५० मेगावाट क्षमताको जाल्दीगाड जलविद्युत आयोजनाका लागि ४ अर्ब ६० करोड रुपैयाँ लगानी जुटेको छ । सांग्रिला हाइड्रोपावर प्रालिले प्रवर्द्धन गर्ने आयोजनामा राष्ट्रिय वाणिज्य बैंकको नेतृत्वमा नेपाल बैंक र नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले संयुक्त रूपमा ३ अर्ब ३६ करोड रुपैयाँ ऋण लगानी गर्ने भएका छन् । बाँकी १ अर्ब २३ करोड ७१ लाख रुपैयाँ प्रवर्द्धकहरूको इक्वीटी लगानी रहनेछ । आयोजनाको वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौतामा सांग्रिला हाइड्रोपावरका अध्यक्ष खगेन्द्र न्यौपाने र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले हस्ताक्षर गरेका छन् । सम्झौता सम्बन्धि कार्यक्रममा नेपाल बैंक र निफ्राका प्रतिनिधिहरू समेत उपस्थित थिए । जाल्दीगाड नदीमा निर्माण हुने आयोजनाबाट वार्षिक १३३.४५ गिगावाट घण्टा विद्युत् उत्पादन हुने प्रक्षेपण गरिएको छ । आयोजनाको निर्माण अवधि ३३ महिना तोकिएको छ । आयोजनाका लागि आवश्यक जग्गा खरिदलगायत अधिकांश पूर्वतयारीका काम सम्पन्न भइसकेका छन् । अब वित्तीय व्यवस्थापनको काम पनि सम्पन्न भएकाले निर्माण कार्यलाई तीव्रता दिइने कम्पनीका प्रबन्ध सञ्चालक कृष्ण प्रसाद घिमिरेले बताए । जाल्दीगाड आयोजना प्रवर्द्धन गर्ने समूहले यसअघि गोरखामा ४.५५ मेगावाटको विकास हाइड्रोपावर आयोजना निर्माण गरी सञ्चालनमा ल्याइसकेको छ । कम्पनीले उक्त आयोजना निर्धारित समयभन्दा करिब ६ महिना अगावै सम्पन्न गरेको थियो । विकास हाइड्रोपावर सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्काशनसमेत गरिसकेको कम्पनी हो । त्यस्तै, यही समूहले गोरखामा ४.६ मेगावाट क्षमताको बूढीगण्डकी हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ । जसबाट आगामी ६ महिनाभित्र विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ । यसरी, अनुभवी समूहले नै २२.५० मेगावाटको जाल्दीगाड आयोजना निर्माण गर्ने भएकाले यो आयोजना पनि समयमै निर्माण सम्पन्न हुने विश्वास लिइएको छ ।