वर्षाले देशका विभिन्न राजमार्ग अवरुद्ध भएपछि सडक खुलाउन प्रयास तीव्र

काठमाडौं । गए रातिदेखि परेको अविरल वर्षाका कारण देशका विभिन्न राष्ट्रिय राजमार्गहरू अवरुद्ध भएका छन् । पुर्वाधार विकास मन्त्रालयका अनुसार बीपी राजमार्गको पिन्थलीलगायतका स्थानमा लेदो तथा गेग्रान जम्मा भएर सवारी साधन सञ्चालनमा बाधा पुगेको छ भने कान्ति राजमार्ग अन्तर्गत मकवानपुर खण्ड सञ्चालनमा रहे तापनि ललितपुरको छपेलीलगायतका क्षेत्रमा पहिरोका कारण सडक ठप्प बनेको छ ।

त्यसैगरी मालढुङ्गा-बेनी-जोमसोम सडक खण्डका लामाखेत, महाभीर, कागबेनी, छुसाङ र छोसेरलगायतका स्थानमा पहिरो तथा लेदो खसेर यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ । 

लगातार वर्षा जारी रहेकाले मौसम र सडक सुरक्षाको अवस्था मूल्याङ्कन गर्दै अवरोध हटाई सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको मन्त्री सुनिल लम्सालले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन् ।

अवरुद्ध भएका राजमार्गहरू यथाशीघ्र सञ्चालनमा ल्याउनका लागि पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको सडक विभाग तथा मातहतका डिभिजन कार्यालयहरूबाट आवश्यक जनशक्ति र उपकरणहरू परिचालन गरी काम तीव्र पारिएको बताइएको छ । 

मन्त्री लम्सालले वर्षाका कारण प्रभावित भएका सडक खण्डहरू सफा गरी यातायात सहज बनाउन मन्त्रालय तथा सडक विभागको टोली निरन्तर खटिरहेको बताएका छन् । 

Share News