तीन महिनामा ९२ खानेपानी आयोजनाको ठेक्का आह्वान

काठमाडौं । सरकारले आगामी तीन वर्षभित्र १३ लाखभन्दा बढी नागरिकलाई स्वच्छ खानेपानी सेवा उपलब्ध गराउने लक्ष्यका साथ पछिल्लो तीन महिनामा ९२ वटा खानेपानी आयोजनाको ठेक्का आह्वान गरेको छ । 

पूर्वाधार विकास मन्त्री सुनिल लम्सालका अनुसार मन्त्रालयअन्तर्गतको खानेपानी तथा ढल व्यवस्थापन विभागमार्फत चालु आर्थिक वर्षको सुरुवाती तीन महिनामै देशका विभिन्न जिल्लामा सञ्चालन हुने कुल १७ अर्ब १५ करोड रुपैयाँ लागतका यी साना तथा ठूला आयोजनाको खरिद प्रक्रिया अघि बढाइएको हो । 

गत आर्थिक वर्षमा स्रोत सहमति अभावका कारण खानेपानीतर्फ नयाँ ठेक्का सम्झौता हुन नसकेको उल्लेख गर्दै मन्त्री लम्सालले आगामी ३० महिनाभित्र लक्षित १३ लाख ७२ हजार नागरिकको पहुँचमा स्वच्छ पानी पुर्याउने गरी काम तीव्र पारिएको जानकारी दिए । 

खानेपानी सेवालाई सरकारले उच्च प्राथमिकतामा राखेकाले यस वर्ष कुल ४४ अर्ब रुपैयाँ बराबरका आयोजनालाई खरिद प्रक्रियामा लैजाने तयारी भइरहेको र यस कदमले सन् २०८७ (सन् २०३०) सम्म देशका सबै नागरिकको घरघरमा सुरक्षित खानेपानी पुर्याउने राष्ट्रिय लक्ष्य हासिल गर्न महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ ।

Share News