११ वर्षदेखि अलपत्र सुखानी नदीको पुलको ठेक्का अन्त्य

काठमाडौं । इलामको सुखानी नदीमा मोटरेबल आरसीसी पुल निर्माण गर्ने ठेक्का सम्झौता सडक डिभिजन इलामले अन्त्य गरेको छ । निर्माण व्यवसायीले करिब ११ वर्ष ३ महिनादेखि निर्माण कार्य अधुरै छाडेर आयोजना अलपत्र पारेपछि डिभिजनले ठेक्का सम्झौता रद्द गर्ने निर्णय गरेको हो ।

सडक डिभिजन इलामले निर्माण व्यवसायी स्काई अजम्बर–शिवराम जेभी, नयाँ बानेश्वर, काठमाडौंसँगको ठेक्का सम्झौता अन्त्य गरिएको जनाएको छ । डिभिजनले कात्तिक १६ गते ठेक्का अन्त्य गर्ने निर्णय गरेको हो ।

बुढी सुखानी–लोडिया–च्यामी सडकखण्डअन्तर्गत सुखानी नदीमा पुल निर्माणका लागि गरिएको ठेक्का सम्झौताअनुसार निर्धारित समयभित्र काम सम्पन्न हुन सकेको थिएन । निर्माण व्यवसायीले लामो समयदेखि काम अधुरो छाडेर निर्माणस्थल अलपत्र पारेको र पटक–पटक लिखित पत्राचार तथा निर्देशन दिँदा पनि बाँकी काम पूरा गर्न ठोस पहल नगरेको डिभिजनको भनाइ छ ।

यसअघि उच्च अदालत पाटनले २०८२ फागुन १३ गते दिएको आदेशअनुसार बाँकी निर्माण कार्य सम्बन्धित निर्माण व्यवसायीबाटै सम्पन्न गराउने उद्देश्यले डिभिजनले पटक–पटक पत्राचार गरेको थियो । अदालतको आदेशको प्रमाणित प्रतिलिपिसहित आवश्यक अवसर र सहजीकरण उपलब्ध गराउँदा पनि निर्माण व्यवसायीले काम अघि बढाउन प्रतिबद्धता नदेखाएको डिभिजनले जनाएको छ । 

निर्माण व्यवसायीले म्याद थप गरी सुविस्ताको आधारमा ठेक्का अन्त्य गरिदिन निवेदन दिएको र सम्झौताअनुसारका दायित्वसमेत पूरा नगरेको भन्दै डिभिजनले अब बाँकी काम उसैबाट सम्पन्न हुने अवस्था नरहेको निष्कर्ष निकालेको छ ।

सोही आधारमा ठेक्का सम्झौताको जीसीसी क्लज ५८.१, ५८.२ (क), ५८.२ (ङ) र ५८.२ (च) तथा सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९ (७) बमोजिम ठेक्का अन्त्य गरिएको डिभिजनले जनाएको छ ।

ठेक्का अन्त्यसँगै सार्वजनिक खरिद ऐनको दफा ५९ (८) र ६३, सार्वजनिक खरिद नियमावलीको नियम १४१ तथा ठेक्का सम्झौताका सम्बन्धित प्रावधानअनुसार थप कारबाही प्रक्रिया अघि बढाइएको जनाएको छ ।

यसैबीच, निर्माण व्यवसायीले सम्पन्न गरिसकेको र भुक्तानी हुन बाँकी रहेको स्वीकार्य कामको वित्तीय फरफारक गर्न १५ दिनभित्र डिभिजनमा उपस्थित हुन आग्रह गरिएको छ । तोकिएको अवधिमा निर्माण व्यवसायी वा उसको प्रतिनिधि उपस्थित नभए डिभिजन आफैंले आवश्यक प्रक्रिया अघि बढाउने जनाएको छ ।

Share News