काठमाडौं । चीनका राष्ट्रपति शी जिनपिङ बुधबार (आज) वासिङ्टन डीसी पुग्दैछन् । यो ११ वर्षपछि उनको पहिलो अमेरिकी राजकीय भ्रमण हो । तर अमेरिकासँग उनको पहिलो भेट चीनको धेरै पुस्ताकै शक्तिशाली नेता बन्नुभन्दा धेरैअघि भएको थियो ।
चार दशकअघि शी चीनको उत्तरी क्षेत्रमा जिल्लास्तरीय अधिकारी थिए । जानकारी संकलन गर्ने उद्देश्यले उनी अमेरिकाको मध्यपश्चिमी क्षेत्रको भ्रमणमा गएका थिए ।
उनले आयोवामा केही दिन बिताए । त्यस क्रममा खेतीबारे जानकारी लिए, खेतहरूको भ्रमण गरे र स्थानीय एक परिवारको घरमा बसे ।
चीनको सरकारी सञ्चारमाध्यमले त्यस परिवारको घरमा शी बसेको प्रसंग र आयोवाका तत्कालीन गभर्नर टेरी ब्रान्स्टाडसँग उनको मित्रतालाई विशेष प्राथमिकता दिँदै आएको छ । ब्रान्स्टाड पछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालमा चीनका लागि अमेरिकी राजदूतसमेत बने ।
सरकारी सञ्चारमाध्यमले यी प्रसंगमार्फत अमेरिकासँग शीको व्यक्तिगत सम्बन्ध देखाउने प्रयास गर्दै आएको छ । तर अहिले अमेरिका र चीनबीचको सम्बन्ध त्यतिबेलाको जस्तो छैन । विश्वमा आफ्नो प्रभाव विस्तार गर्ने विषयमा दुवै देशबीच तीव्र प्रतिस्पर्धा छ । एकअर्काविरुद्ध भन्सार शुल्क लगाइएका छन्, प्रविधिमा प्रतिबन्धहरू छन् र सैन्य क्षेत्रमा समेत प्रतिस्पर्धा बढेको छ ।
अहिले ७३ वर्षका शी कुनै सामान्य जिल्लाका अधिकारी होइनन् । चीनको नेतृत्व सम्हालेको करिब १४ वर्षमा उनले विश्वमा चीनको प्रभाव र हैसियत निकै बढाएका छन् ।
सबै कुरा गुमाएका ‘राजकुमार’
शीको जीवन सुखसुविधाबीच सुरु भएको थियो। सन् १९५३ मा बेइजिङमा जन्मिएका उनी चिनियाँ कम्युनिस्ट क्रान्तिकारी शी झोङसुनका छैटौं सन्तान हुन् । उनका पिता जनवादी गणतन्त्र चीन स्थापना गर्ने अभियानमा महत्त्वपूर्ण भूमिका खेलेका व्यक्ति थिए । पछि उनी कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा उपप्रधानमन्त्री बने ।
बाल्यकालमा शीले प्रतिष्ठित विद्यालयमा अध्ययन गरे । त्यतिबेला अधिकांश परिवारले पाउन नसक्ने सुविधा उनलाई उपलब्ध थियो ।
तर त्यसपछि राजनीति उनको परिवारविरुद्ध मोडियो । सन् १९६० को दशकको सुरुवातमा उनका पितालाई ‘पार्टीविरोधी’ समूहको हिस्सा भएको आरोप लाग्यो । उनलाई पार्टीबाट निकालियो र कारखानामा काम गर्न गाउँ पठाइयो ।
शीलाई ‘क्रान्तिविरोधी’ भनिएका व्यक्तिका छोरा भनेर हेरिन थालियो । किशोरावस्थामै उनलाई जबर्जस्ती पुनःशिक्षा केन्द्रमा पठाइयो । त्यतिबेला चीनका नेता माओत्सेतुङले युवाहरूलाई गाउँमा गएर किसानबाट सिक्न आह्वान गरेका थिए । त्यसपछि १५ वर्षीय शी सहरबाट गाउँ पठाइएका लाखौं युवासँगै गाउँ पुगे ।
सन् २००४ मा दिएको एक अन्तर्वार्तामा उनले त्यो यात्रा सम्झिँदै भनेका थिए, ‘रेलमा सबैजना रोइरहेका थिए । म मात्रै मुस्कुराइरहेको थिएँ… यदि म त्यहाँबाट निस्कन नसकेको भए, म पनि रोइरहेको हुन्थेँ । यदि त्यहीँ रोकिएको भए, आज म जीवित पनि हुन्थेँ कि हुँदिनँ, थाहा छैन ।’
उनी चीनको पश्चिमी शान्शी प्रान्तको पहाडी गाउँ लियाङजियाहे पुगे । त्यहाँ उनले सात वर्ष ‘याओदाङ’मा बिताए । याओदाङ पहाडभित्र बनाइएको गुफाजस्तो आवास हो ।
त्यहाँ उनले खेती गरे, मल बोके र खाल्डा खने । त्यहाँ बिताएको समयबारे उनले भनेका थिए, ‘अचार राखिएको तरकारी मेरो मनपर्ने खाना बनेको थियो । आज पनि मलाई त्यो समय निकै याद आउँछ ।’
कामको बोझ देखेर उनी ‘छक्क’ परेका थिए । सुरुवाती दिनमा उनले भोक र जुकासँग समेत संघर्ष गर्नुपर्यो । दिउँसोको खाना खानुअघि चुरोट पिउन पाइने छोटो समय उनका लागि केही राहतको समय हुन्थ्यो ।
सत्तासम्मको यात्रा
२२ वर्षको उमेरमा शीले गाउँ छाडे र चीनकै उत्कृष्ट शैक्षिक संस्थामध्ये एक छिङह्वा विश्वविद्यालयमा रासायनिक इन्जिनियरिङ अध्ययन गरे ।
पढाइ पूरा गरेपछि उनले बेइजिङबाट टाढा स्थानीय अधिकारीका रूपमा काम गरे । उनी फुजियान र झेजियाङजस्ता तटीय प्रान्तमा कार्यरत रहे । सन् १९८० को दशकमा चीनले अर्थतन्त्र खुला गरेपछि यी प्रान्त देशकै सबैभन्दा धनी क्षेत्रमध्ये पर्न थाले ।
माओको निधनपछि शीका पिता पुनः राजनीतिमा फर्किए । यसले शीलाई केन्द्र सरकार र सेनामा पद हासिल गर्न मद्दत गर्यो । त्यहाँ उनले पार्टीका थुप्रै नेतासँग सम्बन्ध बनाए ।
पछि तीमध्ये धेरैजना उनको विश्वासपात्र नेतृत्व समूहका सदस्य बने । शीले सन् १९७९ मा के लिङलिङसँग विवाह गरेका थिए । यो उनको पहिलो विवाह थियो । उनी बेलायतका लागि चीनका पूर्वराजदूतकी छोरी थिइन् । तीन वर्षपछि उनीहरूको सम्बन्धविच्छेद भयो ।
एक साझा साथीमार्फत शीको भेट उनकी दोस्रो तथा वर्तमान पत्नी पेङ लियुआनसँग भयो । पेङ सेनासँग सम्बन्धित गायिका थिइन् । उनी चीनमा पहिल्यै निकै चर्चित थिइन् ।
हरेक वर्ष चिनियाँ नयाँ वर्षमा प्रसारण हुने टेलिभिजन कार्यक्रममा उनी गीत गाउँथिन्, जुन करोडौँ मानिसले हेर्थे । सन् १९८० र १९९० को दशकमा चीनका धेरै मानिसले पेङलाई उनका प्रान्तीय अधिकारी श्रीमान् शीभन्दा बढी चिन्थे ।
पेङ प्रायः विदेशी भ्रमणमा शीका साथ जान्छिन् । चीनका यसअघिका प्रथम महिलाहरू तुलनात्मक रूपमा कम सार्वजनिक रूपमा देखिने परम्पराभन्दा यो फरक शैली हो ।
उनीहरूको छोरी तथा एक्ली सन्तान शी मिङजे सन् १९९२ मा जन्मिएकी हुन् । उनका बारेमा धेरै जानकारी सार्वजनिक छैन । उनले अमेरिकाको हार्वर्ड विश्वविद्यालयमा अध्ययन गरेको भने बताइन्छ ।
सन् २००७ मा केही समय सांघाईका शीर्ष नेता बनेपछि शी चीनको सबैभन्दा शक्तिशाली निर्णय गर्ने निकाय पोलिटब्युरो स्थायी समितिमा प्रवेश गरे । त्यसको पाँच वर्षपछि उनले हु जिन्ताओलाई विस्थापित गर्दै चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्व सम्हाले ।
शीले चीनलाई कसरी बदले ?
चीनको नेतृत्व सम्हालेको १४ वर्षमा चीनको आत्मविश्वास लगातार बढेको छ । विश्वका विभिन्न देशमा बेल्ट एन्ड रोड इनिसिएटिभजस्ता परियोजनामार्फत शीले चीनको प्रभाव विस्तार गरे । साथै उनले बेइजिङलाई ग्लोबल साउथको आवाजका रूपमा प्रस्तुत गरे ।
यही अवधिमा धेरै ठूला लोकतान्त्रिक देशसँग चीनको सम्बन्ध तनावपूर्ण बन्दै गयो । दक्षिण चीन सागरमा तनाव बढ्यो, ताइवानमाथि दबाब बढ्यो र अमेरिकासँगको प्रतिस्पर्धा पनि तीव्र भयो ।
तर शीको शासनको अर्को महत्त्वपूर्ण पहिचान चीनभित्र बढेको राजनीतिक नियन्त्रण हो । उनको नेतृत्वमा चीनले सुरक्षा र राजनीतिक स्थिरतालाई पहिलेभन्दा बढी प्राथमिकता दियो । शिनजियाङ, तिब्बत र हङकङजस्ता क्षेत्रमा विभिन्न कदम चालिए ।
शीका समर्थकहरूले यी कदमले व्यवस्था पुनःस्थापित भएको बताउँछन् । आलोचकहरू भने यसबाट नागरिक स्वतन्त्रता निकै सीमित भएको तर्क गर्छन्।
शीले आफ्नो नामसमेत समेटिएको राजनीतिक विचारधारालाई पनि अघि बढाए । यसलाई ‘नयाँ युगका लागि चिनियाँ विशेषतासहितको समाजवादबारे शी जिनपिङका विचार’ भनिन्छ । उनीभन्दा अघिका चीनका दुई नेताले आफ्नो विचारधारामा आफ्नो नाम समावेश गराउन सकेका थिएनन् ।
शीले संविधानबाट राष्ट्रपतिको कार्यकालको सीमा पनि हटाए । यसले उनलाई दुई कार्यकालपछि पनि पदमा रहिरहने बाटो खोलिदियो ।
चीनको सरकारी सञ्चारमाध्यमले शीलाई गम्भीर व्यक्तिका रूपमा प्रस्तुत गर्छ । तर कहिलेकाहीँ उनको हल्का–फुल्का शैली पनि सार्वजनिक हुन्छ ।
उनले फुटबलप्रतिको आफ्नो रुचिबारे कुरा गरेका छन् । चीनको पुरुष फुटबल टोलीको प्रदर्शनप्रति उनले थाइल्यान्डका प्रधानमन्त्रीसँग मजाक गर्दै निराशासमेत व्यक्त गरेका थिए ।
उनले बेलायतका पूर्वप्रधानमन्त्री डेभिड क्यामरुनसँग बियर पिएका थिए । दक्षिण कोरियाका राष्ट्रपतिलाई चीनमा बनेको साओमी फोन उपहार दिँदा पनि उनले मजाक गर्दै फोन लिनुअघि त्यसमा कुनै ‘ब्याकडोर’ छ कि छैन भनेर जाँच्न भनेका थिए ।
मित्र कि विरोधी?
विदेशी नेताहरूसँग शीको सम्बन्ध समयअनुसार बदलिँदै आएको छ । यी परिवर्तनले चीनको विदेश नीतिका प्राथमिकतासमेत देखाउँछन् ।
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँगजस्तो निकट सम्बन्ध शीको अन्य कुनै विदेशी नेतासँग छैन । शी सत्तामा आएपछि दुवै नेताबीच ४० भन्दा बढी पटक भेट भइसकेको छ । शीले पुटिनलाई आफ्नो ‘सबैभन्दा निकट विश्वासपात्र’ समेत बताएका छन् ।
ट्रम्पसँगको शीको सम्बन्ध भने जटिल छ । चीनसँग व्यापार युद्ध सुरु गरे पनि ट्रम्पले प्रायः शीबारे सकारात्मक रूपमा बोल्छन् । उनी शीलाई आफ्नो मित्र बताउँछन् र उनको राजनीतिक शक्तिको प्रशंसा गर्छन् ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि सुरुवाती चरणमा शीले व्यक्तिगत सम्बन्ध निर्माणमा जोड दिएका थिए । दुवै नेताले औपचारिक एजेन्डाबिनाका भेटवार्तामा कुराकानी गर्दै एसियाका यी दुई ठूला देशबीच सहकार्यको सन्देश दिने प्रयास गरेका थिए ।
तर सन् २०२० मा सीमामा भएको घातक झडपपछि भारत र चीनबीचको सम्बन्ध कैयौं दशकयताकै खराब अवस्थामा पुग्यो ।
व्यक्तिगत आकर्षण वा अचानक निर्णयका लागि चिनिने नेताहरूको तुलनामा शीले व्यक्तिगत सम्बन्धलाई विरलै राष्ट्रिय हितभन्दा माथि राख्छन् ।
यस साता शी फेरि वासिङ्टन डीसी पुग्दा उनी आयोवाका खेतहरू हेर्न पुगेका उत्सुक जिल्लास्तरीय अधिकारीका रूपमा होइन, २१औं शताब्दीको विश्व राजनीतिलाई दिशा दिने प्रभावशाली नेताका रूपमा पुग्नेछन् । (बीबीसीबाट अनुदित तथा सम्पादित)