सरुवा प्रावधान कागजमै सीमित, वर्षाैंदेखि एउटै अड्डामा नर्सिङ प्रशासक

काठमाडौं । स्वास्थ्य सेवाका कर्मचारीलाई एउटै कार्यालयको एउटै पदमा साधारणतया पाँच वर्षभन्दा बढी नराख्ने कानुनी व्यवस्था भए पनि सुविधा सम्पन्न स्वास्थ्य संस्थामा कार्यरत केही नर्सिङ प्रशासक वर्षौंदेखि एउटै जिम्मेवारीमा रहँदै आएका छन् ।

नेपाल स्वास्थ्य सेवा नियमावली, २०५५ को नियम ३१ 'ग' मा अधिकृत तहका कर्मचारीलाई एउटै कार्यालयको एउटै पदमा साधारणतया पाँच वर्षभन्दा बढी नराख्ने व्यवस्था छ । तर, व्यवहारमा भने केही नर्सिङ प्रशासक पाँच वर्षको अवधि पार गरेर पनि लामो समयसम्म एउटै संस्थामा कार्यरत रहेको पाइएको छ ।

उपत्यकाका अस्पताल तथा स्वास्थ्य संस्थामा नर्सिङ प्रशासनको जिम्मेवारी सम्हालिरहेका केही कर्मचारीको कार्यकाल हेर्दा कतिपय एक दशकको हाराहारीमा एउटै संस्थामा बसेको देखिन्छ । यसले स्वास्थ्य सेवामा सरुवा प्रणालीको कार्यान्वयन, त्यसका आधार र अपवादबारे प्रश्न उठाएको छ ।

सोचना सापकोटा ८ वर्षदेखि ट्रमामै 

राष्ट्रिय ट्रमा सेन्टरकी नर्सिङ प्रशासक सोचना सापकोटा लामो समयदेखि सोही संस्थामा कार्यरत रहेको पाइएको छ । २०७६ सालमा सेन्टरकी नर्सिङ निर्देशकका रूपमा प्रवेश गरेकी उनी हाल पनि ट्रमा सेन्टरमा नर्सिङ प्रशासककै रुपमा रहेकी छन् । त्यसयताका वर्षहरूमा समेत उनी सोही संस्थाको नर्सिङ नेतृत्वमा रहँदै आएकी छन् ।

सापकोटाको कार्यकालमा ट्रमा सेन्टरका ८ जना निर्देशकहरू परिवर्तन भएका छन् । तर, नर्सिङ प्रशासनको नेतृत्वमा भने सापकोटाको निरन्तरता रहेको छ । उनी स्वास्थ्य सेवामा प्रवेश गरेदेखि नै ट्रमा सेन्टरमै कार्यरत रहेकी अधिकृत हुन् । 

सापकोटाले पनि आफू विगत लामो समयदेखि ट्रमामै रहेर सेवा गरेको बताइन् । सापकोटाले कोभिडको अफ्ठ्यारोको समयदेखि पछिल्लो रसुवा बाढीको असहजतामा समेत आफूले ट्रमामा रहेर सेवा गरेको जानकारी दिइन् । 

उनले भनिन्, ‘म सरकारी कर्मचारी हुँ । आजसम्म मेरो सेवा देखेर सरकारले ट्रमा सेन्टरमा काम गर्ने सुविधा दियो । सरुवा गरेर पठाउँदा म जहाँ गएर पनि सेवा दिन तयार छु ।’

९ वर्ष विभागमा बाला

त्यसैगरी, स्वास्थ्य सेवा विभागकी वरिष्ठ अस्पताल नर्सिङ प्रशासक बाला राई पनि लामो समयदेखि विभागमै कार्यरत रहेकी छन् । विभाग स्रोतले उपलब्ध गराएको विवरणअनुसार राई २०७५ सालदेखि विभागमा कार्यरत छन् । राईले एउटै कार्यालयमा नौ वर्ष बिताइसकेकी छन् ।

स्वास्थ्य सेवा विभागअन्तर्गत कार्यरत राईको हकमा नेपाल स्वास्थ्य सेवा नियमावलीको सरुवा प्रावधान प्रत्यक्षरूपमा आकर्षित भएपनि उनी सरुवा हुनबाट जोगिँदै आएकी स्वास्थ्य अधिकारी हुन् । विभागका कर्मचारीहरुका अनुसार राई लामो समयदेखि विभागमा कार्यरत रहे पनि सरुवामा नपरेकी अधिकारी हुन् ।

संगीता ८ वर्षदेखि वीरमा 

वीर अस्पतालकी प्रमुख अस्पताल नर्सिङ प्रशासक संगीता श्रेष्ठ पनि लामो समयदेखि सोही अस्पतालमा नर्सिङ प्रशासनको नेतृत्वमा छिन् । उनी नवौं तहमा कार्यरत रहँदादेखि नै वीर अस्पतालमा सेवारत थिइन् । २०७६ सालमा ११औं तहमा बढुवा भएदेखिनै उनको कार्यस्थल वीर अस्पताल नै रहँदै आएको छ ।

यसले नर्सिङ प्रशासकको हकमा पदोन्नतिपछि एउटै संस्थामा बिताएको अघिल्लो अवधि कसरी गणना गर्ने भन्ने प्रश्नसमेत उठाएको छ । नियमावलीले एउटै कार्यालयको एउटै पदको अवधि उल्लेख गरेकाले बढुवा वा पद परिवर्तनपछि अवधि पुनः गणना गर्ने वा नगर्ने विषय प्रशासनिक व्याख्याको विषय बन्न सक्ने वीर अस्पतालका कर्मचारीहरू बताउँछन् ।

स्वास्थ्य तथा खाध्य स्वच्छता मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीले उनीहरूको सरुवा प्रक्रिया अगाडि बढाउने तयारीमा मन्त्रालय रहेको जानकारी दिए ।

कमला ९ वर्षदेखि पोखरामा, ज्योतिको वीरमा ५ वर्ष

वीर अस्पतालमै कार्यरत ज्योति भेटवाल पनि लामो समयदेखि एउटै संस्थामा रहेकी नर्सिङ प्रशासक हुन् । उनी २०७८ पुस ९ गते वीर अस्पतालमा हाजिर भएकी थिइन् । नवौं तहकी भेटवालको कार्यकाल पाँच वर्षको सीमातर्फ अघि बढिरहेको छ ।

नर्सिङ प्रशासनमा उपत्यकाबाहिर काम गरेको अनुभव भएका कर्मचारीको संख्या सीमित देखिन्छ । त्यसैमध्येमा पर्छिन् कमला राना मगर । उनी २०७४ सालमा नर्सिङ अधिकृतका रूपमा स्वास्थ्य सेवामा प्रवेश गरेकी हुन् । उनी पहिलो पोष्टिङमै पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पोखरामा पुगेकी थिइन् । २०७८ सालमा नर्सिङ प्रशासक बनेकी राना मगर २०८२ सालदेखि प्रमुख नर्सिङ प्रशासकको जिम्मेवारीमा रहेकी छन् ।

उपत्यकामा लामो समयदेखि कार्यरत नर्सिङ प्रशासकमा वीर अस्पतालकी कोपिला श्रेष्ठ र मानसिक अस्पतालकी सुशीला डंगोलको नामसमेत आउने गरेको छ । श्रेष्ठ उपत्यका बाहिर सेवा नगरेकी अधिकृत हुन् । डंगोल मानसिक अस्पतालको वरिष्ठ नर्सिङ प्रशासकका रूपमा कार्यरत रहेकी छन् । 

पाँच वर्षको व्यवस्था के हो ?

नेपाल स्वास्थ्य सेवा नियमावलीको नियम ३१ 'ग' ले अधिकृत तहका कर्मचारीलाई एउटै कार्यालयको एउटै पदमा साधारणतया पाँच वर्षभन्दा बढी नराख्ने व्यवस्था गरेको छ । यसको अर्थ पाँच वर्ष पूरा हुनेबित्तिकै अनिवार्य रूपमा सरुवा गर्नैपर्ने भन्ने होइन । साधारणतया शब्दले प्रशासनिक आवश्यकता र अपवादको सम्भावना राखेको स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले बताएका छन् ।

तर अपवाद प्रयोग गरिएको अवस्थामा त्यसको आधार र निर्णय भने पारदर्शी हुनुपर्ने प्रश्न उठ्नु स्वाभाविक हुने सहप्रवक्ता अधिकारीले जानकारी दिए । नियमावलीको सरुवासम्बन्धी व्यवस्थाले सरुवा गर्दा प्रशासनिक आवश्यकता, पद र सेवा प्रवाहको अवस्थासहितका आधारलाई महत्व दिएको उनको भनाइ छ ।

स्वास्थ्य सेवा ऐनले पनि कर्मचारीलाई विभिन्न भौगोलिक क्षेत्रको अनुभव दिलाउने उद्देश्यसहित सरुवाको व्यवस्था गरेको छ । स्वास्थ्य प्रशासनका जानकारहरु भन्छन् एउटै कार्यालयमा लामो समय बस्ने कर्मचारी र पटक-पटक दुर्गम तथा बाहिरी जिल्लामा सरुवा हुने कर्मचारीबीच समान मापदण्ड लागू भएको छ कि छैन भन्ने विषय महत्त्वपूर्ण हुन्छ ।

विशेषगरी नर्सिङ प्रशासनजस्तो अस्पतालको दैनिक सेवा व्यवस्थापनसँग प्रत्यक्ष जोडिएको जिम्मेवारीमा एउटै व्यक्तिलाई लामो समय निरन्तरता दिँदा त्यसको प्रशासनिक औचित्य स्पष्ट हुनुपर्ने देखिन्छ उनीहरूको तर्क छ । स्वास्थ्य प्रशासनका जानकार लीलामणि पोखरेलका अनुसार कहिलेकाहीँ अनुभवी कर्मचारीलाई निरन्तरता दिनुपर्ने संस्थागत आवश्यकता भए त्यसको आधार पनि सार्वजनिक हुनुपर्ने हुन्छ ।

आकर्षक संस्थामा लामो बसाइँ

काठमाडौं उपत्यकाका ठूला सरकारी अस्पतालमा सेवा सुविधा, बिरामीको चाप, विशेषज्ञ सेवा तथा प्रशासनिक पहुँचका कारण कर्मचारीको आकर्षण बढी हुने गरेको छ । यस्तो अवस्थामा सरुवाको मापदण्ड सबै कर्मचारीमा समान रूपमा लागू नहुने हो भने स्वास्थ्य सेवाको जनशक्ति व्यवस्थापनमा असन्तुलन आउन सक्ने पोखरेलले जानकारी दिए ।

एकातिर उपत्यकाका ठूला अस्पतालमा अनुभवी नर्सिङ प्रशासक वर्षौदेखि एउटै जिम्मेवारीमा रहन्छन् भने अर्कोतर्फ उपत्यकाबाहिरका अस्पतालमा नर्सिङ प्रशासनको नेतृत्व र जनशक्ति व्यवस्थापनमा समस्या देखिने गरेको छ । यसले स्वास्थ्य सेवाको जनशक्ति वितरणसम्बन्धी नीतिमाथि पनि प्रश्न उठाउने पोखरेलले बताए ।

मन्त्रालयले पछिल्ला वर्षहरूमा विभिन्न तहका चिकित्सक तथा नर्सिङ प्रशासकको सरुवा र पदस्थापन गर्दै आएपनि पूर्ण सफलता प्राप्त गर्न सकेको छैन । स्वास्थ्यमन्त्री निशा मेहेताले गत जेठ २० गते एक निर्णय गर्दै चिकित्सक र स्वास्थ्यकर्मीहरूको दरबन्दी मिलान गर्ने बताए पनि उनी यस कार्यमा पूर्ण असफल भएकी छन् । 

अहिलेको मुख्य प्रश्न कसलाई सरुवा गर्ने वा नगर्ने भन्दा पनि सरुवा प्रणालीका लागि बनाइएको मापदण्ड सबैमा समान रूपमा लागू भएको छ कि छैन भन्ने प्रश्न प्रमुख हुने पोखरेलले जानकारी दिए ।

स्वास्थ्य मन्त्रालय र सम्बन्धित स्वास्थ्य संस्थाले नर्सिङ प्रशासकहरूको हालको पदस्थापन, एउटै कार्यालयमा हाजिर भएको मिति, बढुवा भएको मिति र पाँच वर्षभन्दा बढी एउटै कार्यालयमा राखिएका कर्मचारीलाई निरन्तरता दिनुपरेको कारण सार्वजनिक गर्ने हो भने सरुवा प्रणालीमा देखिएको असमानताबारे थप स्पष्ट तथ्य बाहिर आउने पोखरेलको दाबी छ ।

नर्सिङ प्रशासनमा लामो समय एउटै संस्थामा रहने प्रवृत्तिले कर्मचारीको व्यक्तिगत कार्यकालभन्दा ठूलो प्रश्न भने स्वास्थ्य सेवाको सरुवा नीति कार्यान्वयनको समानता र पारदर्शिता माथि उठाएको पोखरेलले बताए ।

Share News