नियम तोड्दै ट्रम्पले राखे सिक्कामा आफ्नो तस्बिर, केही घण्टामै सकियो स्टक
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको तस्बिर अमेरिकी सिक्कामा अंकित गरिएको छ । यो अमेरिकी संस्थाहरूमा आफ्नो व्यक्तिगत छाप छोड्ने राष्ट्रपतिको पछिल्लो कदमका रूपमा देखिएको छ । बुधबार अमेरिकी टकसाल (यूएस मिन्ट) ले अमेरिकाको २५०औं वार्षिकोत्सवको अवसरमा ट्रम्पको तस्बिर अंकित १ डलरको सिक्का सार्वजनिक गरेको हो । सिक्कामा ट्रम्पको तस्बिरसँगै ‘लिबर्टी’ र ‘इन गड ह्वी ट्रस्ट’ शब्द लेखिएका छन् । टकसालका अनुसार यी सिक्का दैनिक कारोबारमा प्रयोग गर्न बजारमा चलनचल्तीका रूपमा ल्याइने छैनन् । बरु सङ्कलनयोग्य सिक्काका रूपमा बिक्री गरिँदैछ । अमेरिकी कानुनले जीवित राष्ट्रपतिहरूको तस्बिर अमेरिकी मुद्रामा राख्न प्रतिबन्ध लगाएको छ । तर अमेरिकाको २५०औं वार्षिकोत्सवका लागि बनाइएको विशेष कानुनी व्यवस्थामा रहेको डिजाइनसम्बन्धी प्रावधान प्रयोग गर्दै उक्त प्रतिबन्धलाई पार गरिएको हो । २५ वटा सिक्काको एउटा रोलको मूल्य ६१ डलर र १०० वटा सिक्काको झोलाको मूल्य १५४.५० डलर तोकिएको छ । बिक्री सुरु भएको केही घण्टामै अमेरिकी टकसालको वेबसाइटमा यी सिक्का ‘हाल स्टकमा नरहेको’ देखिएको थियो । यद्यपि, थप सिक्का उत्पादन भइरहेको टकसालले जनाएको छ । यी सिक्का वासिङ्टन डीसीस्थित अमेरिकी टकसालको स्टोरमा राखिएका भेन्डिङ मेसिनबाट समेत बिक्री भइरहेका छन् । अमेरिकी टकसालका अनुसार यो सिक्का ‘अमेरिकाको ऐतिहासिक राष्ट्रिय उपलब्धि’ मनाउन तयार गरिएको हो। टकसालले यसलाई ‘एक पुस्तामा एकपटक आउने वार्षिकोत्सवको विशेष डिजाइन’ भन्दै आधुनिक सिक्का सङ्कलनमा विशेष स्थान बनाउने अपेक्षा गरेको छ । सिक्का सुनौलो रङको भए पनि यसमा वास्तविक सुन भने प्रयोग गरिएको छैन । अमेरिकी टकसालका अनुसार सिक्कामा ८८.५ प्रतिशत तामा रहेको छ भने बाँकी भाग जिंक, निकेल र म्याङ्गानिजयुक्त ब्रासको बाहिरी तहबाट बनेको छ । वासिङ्टन डीसीस्थित अमेरिकी टकसालको स्टोरमा ट्रम्पको तस्बिर अंकित १ डलरका सिक्का बिक्री गर्ने भेन्डिङ मेसिन । यी सिक्का चलनचल्तीमा नआए पनि कानुनी रूपमा मान्य मुद्रा हुन्। त्यसैले ऋण वा कर तिर्न प्रयोग गर्न सकिन्छ । तर संघीय कानुनअनुसार व्यवसायहरूले यी सिक्का स्वीकार गर्ने वा नगर्ने निर्णय आफै गर्न सक्छन् । यसअघि मे महिनामा अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले ट्रम्पको तस्बिर अंकित २५० डलरको नयाँ नोट जारी गर्ने योजना रहेको बताएका थिए । त्यतिबेला बेसेन्टले जीवित अमेरिकी राष्ट्रपति यसअघि पनि देशको मुद्रामा देखिएको उदाहरण रहेको उल्लेख गरेका थिए । सन् १९२६ मा अमेरिकाको १५०औं वार्षिकोत्सवका अवसरमा जारी गरिएको आधा डलरको सिक्कामा तत्कालीन राष्ट्रपति क्याल्भिन कूलिजको तस्बिर राखिएको थियो । ट्रम्प प्रशासनले सन् २०२० मा ट्रम्पको पहिलो कार्यकालमा पारित ‘सर्कुलेटिङ कलेक्टिबल कोइन रिडिजाइन एक्ट’ लाई पनि आधार बनाएको छ । उक्त कानुनले सिक्काको पछाडिको भागमा जीवित व्यक्तिको तस्बिर राख्न प्रतिबन्ध लगाए पनि अगाडिको भा का लागि यस्तो प्रतिबन्ध स्पष्ट रूपमा उल्लेख गरेको छैन । नयाँ १ डलरको सिक्कामा ट्रम्पको तस्बिर अगाडिको भागमा राखिएको छ । यसै वर्ष मार्चमा अमेरिकी अर्थ मन्त्रालयले अमेरिकी कागजी नोटमा अब ट्रम्पको हस्ताक्षर राखिने घोषणा गरेको थियो । यो पनि पदमा बहाल रहेका अमेरिकी राष्ट्रपतिका लागि पहिलोपटक हुन लागेको हो ।
स्वस्तिक रोलिङ मिल्सको आम्दानी १० महिनामा ३.१८ अर्ब, बैंकमा ऋण ३ अर्ब
काठमाडौं । स्वस्तिक रोलिङ मिल्स प्रालिले चालु आर्थिक वर्ष २०८२/८३ को १० महिनामा ३ अर्ब १८ करोड ६० लाख रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा ४ अर्ब ६ करोड ८० लाख रुपैयाँ आम्दानी गरेको थियो । त्यसअघि कम्पनीको आम्दानी आर्थिक वर्ष २०८०/८१ मा ३ अर्ब १४ करोड ४० लाख रुपैयाँ, आव २०७९/८० मा ३ अर्ब ४८ करोड ६० लाख रुपैयाँ र आव २०७८/७९ मा १ अर्ब २ करोड ३० लाख रुपैयाँ रहेको थियो । सन् २०१४ मा स्थापना भएको स्वस्तिक रोलिङ मिल्स प्राथमिक इस्पात उत्पादक कम्पनी हो । कम्पनीले स्पन्ज आइरनबाट एमएस बिलेट उत्पादन गरी त्यसबाट टीएमटी छड तथा फ्ल्याट, एङ्गल र च्यानललगायत संरचनात्मक इस्पात सामग्री उत्पादन गर्दै आएको छ । कम्पनीका उत्पादन ‘बजरङ स्टिल’ नामबाट बजारमा बिक्री हुँदै आएका छन् । कम्पनीसँग वार्षिक ७२ हजार मेट्रिक टन बिलेट, १ लाख २५ हजार मेट्रिक टन टीएमटी छड र १ लाख ४० हजार मेट्रिक टन संरचनात्मक इस्पात सामग्री उत्पादन गर्ने क्षमता रहेको छ। सन् २०२६ को मेसम्म कम्पनीको चुक्ता पुँजी ३१ करोड ३० लाख रुपैयाँ रहेको छ । उक्त पुँजी ६ जना व्यक्तिको स्वामित्वमा रहेकोमा सबैभन्दा ठूलो हिस्सा आरके गोल्छा समूहसँग सम्बन्धित व्यक्तिहरूको रहेको छ । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट करिब ३ अर्ब रुपैयाँ ऋण लिएको छ । कुल ऋणमध्ये १ अर्ब २० करोड रुपैयाँ दीर्घकालीन र १ अर्ब ८० करोड रुपैयाँ अल्पकालीन ऋण रहेको छ । इस्पात उद्योगको माग तथा गतिविधि घरजग्गा र निर्माण क्षेत्रको उतारचढावसँग प्रत्यक्ष रूपमा जोडिने भएकाले निर्माण क्षेत्रमा आउने परिवर्तनले कम्पनीको उत्पादन क्षमता उपयोग, आम्दानी तथा नाफामा असर पार्ने देखिएको छ । निर्माण गतिविधिमा आएको सुस्तताका कारण पछिल्लो समय इस्पातको माग केही कमजोर रहे पनि दीर्घकालमा इस्पातजन्य उत्पादनको माग बढ्ने सम्भावना रहेको जनाएको छ । नेपालमा पूर्वाधारको ठूलो आवश्यकता रहेकाले सार्वजनिक तथा निजी क्षेत्रबाट अघि बढिरहेका तथा प्रस्तावित पूर्वाधार आयोजनाले आगामी दिनमा इस्पातको माग बढाउन सक्ने अपेक्षा कम्पनीको छ । तर, उद्योगको चक्रीय प्रकृतिका कारण कम्पनीको नगद प्रवाहमा उतारचढाव आउन सक्ने र उच्च ऋण भारका कारण यसले तरलता व्यवस्थापनमा थप दबाब सिर्जना गर्न सक्ने जनाएको छ । नेपालको इस्पात उद्योगमा ठूलो संख्यामा स्थापित द्वितीयक इस्पात उत्पादक रहेकाले बजारमा प्रतिस्पर्धा उच्च रहेको छ। पछिल्ला वर्षहरूमा अधिकांश उत्पादकले कच्चा पदार्थदेखि तयार उत्पादनसम्मको प्रक्रिया आफैंभित्र समेट्ने गरी उत्पादन प्रणाली विस्तार गर्दै आएका छन् । यसले स्वस्तिकमाथि प्रतिस्पर्धात्मक दबाब बढाउनुका साथै बजार मूल्यमा समेत दबाब सिर्जना गर्न सक्ने देखिन्छ । त्यसैगरी, भन्सार संरक्षण प्राप्त उद्योगमा रहेकाले कम्पनी आयात शुल्क तथा महसुलसम्बन्धी नीतिगत परिवर्तनप्रति संवेदनशील रहेको छ । विशेषगरी टीएमटी छड तथा त्यसका लागि आवश्यक कच्चा पदार्थमा लाग्ने आयात शुल्क वा महसुल घटाइए वा हटाइएमा विदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्न कम्पनीलाई थप चुनौती हुन सक्ने कम्पनीको भनाइ छ । यद्यपि, प्राथमिक इस्पात उत्पादक भएकाले कम्पनीले द्वितीयक इस्पात उत्पादकको तुलनामा थप भन्सार सुविधाको लाभ प्राप्त गर्दै आएको छ । आफ्नै बिलेट उत्पादनका लागि कम्पनीसँग इस्पात पगाल्ने संयन्त्र रहेकाले उत्पादन प्रक्रियामा एकीकरण कायम भएको छ। यसलाई कम्पनीको सकारात्मक पक्षका रूपमा लिइएको छ । देशमा पूर्वाधार निर्माणको ठूलो आवश्यकता रहेकाले दीर्घकालमा इस्पातजन्य उत्पादनको माग बढ्ने सम्भावना रहेको छ । सार्वजनिक तथा निजी क्षेत्रका पूर्वाधार आयोजना बढ्दै जाँदा स्वस्तिकजस्ता एकीकृत प्राथमिक इस्पात उत्पादकलाई त्यसबाट लाभ पुग्न सक्ने देखिएको छ ।
निर्जीवन बीमा कम्पनीमा झण्डै २६ अर्ब रुपैयाँ बराबरको दाबी, जीवन बीमामा कति ?
काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोसी क्षेत्रमा अकस्मात् आएको भीषण बाढीले ठूलो जनधनको क्षति पुर्याएको छ । विशेषगरी रसुवा, नुवाकोट र धादिङमा बाढीका कारण ठूलो क्षति भएको छ । विनाशकारी बाढीका कारण निर्जीवन बीमा कम्पनीमा मात्रै नभई जीवन बीमा कम्पनीहरूमा समेत मृत्यु दाबीको दबाब बढ्ने देखिएको छ । बीमा प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार निर्जीवन बीमा कम्पनीहरूमा क्षतिपूर्तिबापत् झण्डै २६ अर्ब रुपैयाँ बराबरको प्रारम्भिक बीमा दाबी परेको छ । जीवन बीमा कम्पनीहरूमा त्यसरी ठूलो संख्यामा बीमा दाबी नपरेपनि यसपटक दाबीको दवाव भने बढ्ने देखिएको कम्पनीहरू बताउँछन् । नेपाल प्रहरीको पछिल्लो तथ्यांकअनुसार बाढीका कारण १ हजार ३ सयभन्दा बढीको मृत्यु भइसकेको छ । ५ हजारभन्दा बढी अझै सम्पर्कविहीन छन् । मृत्यु र सम्पर्कविहीन हुनेको संख्या थपिँदै गएकाले जीवन बीमा कम्पनीहरूमा पनि मृत्यु दाबी बढ्ने देखिएको हो । यद्यपि, अहिले नै कति रकम बराबरको दाबी पर्छ भन्ने यकिन गर्न सकिने अवस्था नरहेको बीमा कम्पनीहरूले बताएका छन् । बाढीमा परी मृत्यु भएका तथा बेपत्ता नागरिकको विवरण संकलन भइरहेको छ । बीमितका आफन्तसमेत सम्पर्कविहीन भएका परिवारजनको खोजीमा रहेकाले अहिले बीमा दाबीभन्दा पनि आफन्तको खोजीलाई प्राथमिकता दिइरहेका छन् । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) शिवनाथ पाण्डेले बाढीका कारण अहिलेसम्म कम्पनीमा मृत्यु दाबी नआएको बताए । ‘अहिलेसम्म त्यस्तो कुनै नोटिस आएको छैन, त्यसबारे हामीले वर्कआउट गरिरहेका छौं,’ उनले भने । उनका अनुसार कम्पनीले बीमितको अवस्थाबारे अभिकर्तासँग समन्वय गरिरहेको छ । विदुर, धादिङ र नौबिसेमा कम्पनीका शाखा रहेकाले प्रभावित क्षेत्रमा समेत समन्वय भइरहेको उनले बताए । ‘प्रभावित क्षेत्रमा अहिले पनि कति जना हराइरहनुभएको छ र कतिको मृत्यु भइसकेको हुनाले मृत्यु दाबीको दबाब पर्दैन भन्न सकिँदैन,’ पाण्डेले भने । यद्यपि, मृत्यु दाबी परे पनि त्यसले बीमा कम्पनीमा ठूलो आर्थिक दबाब नपर्ने उनको भनाइ छ । २०७२ सालको भूकम्पमा ८ हजारभन्दा बढीले ज्यान गुमाउँदा पनि कम्पनीमा ठूलो मृत्यु दाबी नपरेको उनले बताए । यसपटक पनि जीवन बीमा कम्पनीहरूमा ठूलो आर्थिक दबाब नपर्ने उनको भनाइ छ । त्यस्तै, मृत्यु हुने सबै व्यक्तिको जीवन बीमा नहुने भएकाले दाबीको संख्या तुलनात्मक रूपमा कम हुन सक्ने उनले बताए । ‘स्वस्फूर्त रूपमा बीमा गर्नेको संख्या कम छ । ज्यान गुमाउने सबैको बीमा नहुन सक्छ, त्यसैले कम्पनीमा धेरै भार नपर्न सक्छ,’ पाण्डेले भने । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सका वरिष्ठ सहायक महाप्रबन्धक दिपेश बाबु तिवारीले अहिलेसम्म बाढीका कारण मृत्यु भएका बीमितको दाबी नपरे पनि आगामी दिनमा दाबी पर्ने सम्भावना रहेको बताएका छन् । प्रभावित क्षेत्रका नागरिक मात्रै नभई देशका विभिन्न भागका मानिससमेत बाढीमा परेकाले दाबी प्रभावित क्षेत्रबाट मात्रै सीमित नहुने उनको भनाइ छ । उनका अनुसार रिलायबल नेपाल लाइफको विदुरमा शाखा रहेकाले त्यहाँका कर्मचारीसँग समन्वय भइरहेको छ । साथै अभिकर्तामार्फत बीमितको अवस्थाबारे जानकारी लिने कामसमेत भइरहेको उनले बताए । ‘अहिले प्राथमिकता हराएका व्यक्तिको खोजीमा छ, त्यसैले केही दिनपछि मात्रै मृत्यु दाबी आउन सक्छ,’ तिवारीले भने । सिटिजन्स लाइफ इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) दीपबहादुर बिसीले केही संख्यामा मृत्यु दाबी आउन थालेको बताए । ‘अहिले केही संख्यामा मृत्यु दाबी आउन थालेका छन्, अझै नयाँ सूचनाहरू आइरहेका छन्,’ उनले भने । उनका अनुसार अधिकांश जानकारी औपचारिक प्रक्रियामार्फत भन्दा अनौपचारिक रूपमा आउने गरेका छन् । यद्यपि, हालसम्म दाबीको संख्या भने न्यून रहेको उनले बताए । डीसीईओ बिसीले पनि निर्जीवन बीमा कम्पनीमा जस्तो ठूलो दाबी जीवन बीमा कम्पनीमा नपर्ने बताए । यद्यपि, अहिले नै कति रकम बराबरको दाबी पर्छ भन्ने यकिन गर्न सकिने अवस्था नरहेको उनको भनाइ छ । आईएमई लाइफ इन्स्योरेन्सका सूचना अधिकारी सुदीप रानाले अहिलेसम्म कम्पनीमा बाढीका कारण कुनै मृत्यु दाबी नपरेको बताए । निर्जीवन बीमामा जस्तो तत्कालै दाबी आउने अवस्था जीवन बीमामा नरहेको पनि उनको भनाइ छ। ‘विपद् आएको १३ दिन भएको छ, अबको ३० दिनभित्र केही न केही जानकारी आउला,’ रानाले भने । उनका अनुसार मृत्यु दाबीका लागि मृत्यु भएको यकिन गर्ने प्रमाणपत्र आवश्यक पर्छ । निवेदन प्राप्त भएपछि मात्रै दाबी प्रक्रिया अघि बढ्ने भएकाले अहिले शव पहिचान तथा हराइरहेकाको खोजी कार्य भइरहेकाले समय लाग्ने उनले बताए । ‘मृत्यु दाबीको प्रक्रिया आवेदन आएपछि मात्रै अघि बढ्छ,’ उनले भने । कम्पनीले आफ्ना शाखा कार्यालयसँग समेत समन्वय गरी बीमितको अवस्थाबारे जानकारी लिइरहेको उनले बताए । नुवाकोटमा कम्पनीको शाखा रहेकाले त्यहाँबाट समेत दाबी आउन सक्ने उनको भनाइ छ । नेपाल लाइफ इन्स्योरेन्सको नुवाकोट शाखा प्रमुख अम्बिका श्रेष्ठले यसपटकको बाढीबाट जीवन बीमामा मृत्यु दाबीको दबाब बढ्ने बताएकी छन् । तत्कालै दाबी नआए पनि आफूले चिनेका धेरै बीमित बाढीमा परेको जानकारी रहेकाले आगामी दिनमा दाबी बढ्न सक्ने उनको भनाइ छ । ‘हामीले चिनेका धेरै जना बीमित बाढीमा पर्नुभएको छ, अहिले हराएकाहरूको खोजी भइरहेको छ त्यसैले यो क्षेत्रमा धेरै क्लेम पर्ने सम्भावना छ,’ उनले भनिन् । भौगोलिक रूपमा विकट क्षेत्र भएकाले सञ्चार सम्पर्क र सडक अवरुद्ध हुँदा बीमितको अवस्थाबारे जानकारी लिनसमेत कठिनाइ भइरहेको उनले बताइन् । अहिले अभिकर्तामार्फत बीमितको अवस्थाबारे बुझ्ने काम भइरहेको उनको भनाइ छ । ‘अहिले एजेन्टहरूसँग पनि बुझ्दैछौं, उहाँहरूबाट पनि अहिलेसम्म त्यस्तो जानकारी आएको छैन, केही दिनपछि अवस्था थाहा होला,’ उनले भनिन् । त्यस्तै, सन नेपाल लाइफ इन्स्योरेन्सको धादिङ शाखाकी प्रतिमा घिमिरेले पनि अहिलेसम्म मृत्यु दाबी नपरे पनि आगामी दिनमा दाबी आउने सम्भावना रहेको बताइन् । प्रभावित क्षेत्रमा केही बीमित सम्पर्कविहीन रहेकाले दाबी पर्न सक्ने उनको भनाइ छ । उनका अनुसार अहिले अभिकर्तामार्फत बीमितको अवस्थाबारे जानकारी लिने काम भइरहेको छ । भुक्तानी गर्न बीमा कम्पनी सक्षम एकै क्षेत्रबाट ठूलो संख्यामा मृत्यु दाबी आएमा जीवन बीमा कम्पनीहरूको दाबी भुक्तानी अनुपातसँगै तरलतामा समेत केही दबाब पर्न सक्ने देखिन्छ । यद्यपि, बीमा कम्पनीहरूले त्यस्तो अवस्था आए पनि दाबी भुक्तानी गर्न आफूहरू सक्षम रहेको बताएका छन् । जीवन बीमा कम्पनीहरूले बीमितको मृत्यु भएपछि बीमालेखमा उल्लेख भएको सर्तअनुसार बीमांक रकम तथा अन्य लागू हुने सुविधा भुक्तानी गर्नुपर्ने हुन्छ । त्यसका लागि कम्पनीहरूले नियमित रूपमा दाबी भुक्तानीका लागि आवश्यक रकम व्यवस्थापन गर्दै आएका हुन्छन् । त्यसैले बाढी प्रभावित क्षेत्रबाट ठूलो संख्यामा मृत्यु दाबी आए पनि त्यसले कम्पनीको समग्र वित्तीय अवस्थामै ठूलो असर पार्ने अवस्था नरहेको कम्पनीहरूको दाबी छ । अर्कोतर्फ जलविद्युत् आयोजना, उद्योग तथा अन्य क्षेत्रमा कार्यरत जनशक्तिको दुर्घटना वा मृत्युबाट हुने क्षतिको प्रकृति र बीमाको प्रकारअनुसार दायित्व निर्जीवन बीमा कम्पनीतर्फ पर्न सक्छ । त्यस्ता संस्थाले आफ्ना कर्मचारीको दुर्घटना तथा अन्य जोखिमको बीमा गराएको अवस्थामा बीमालेखको सर्तअनुसार क्षतिपूर्ति निर्जीवन बीमा कम्पनीले बेहोर्नुपर्ने हुन्छ । जीवन बीमा कम्पनीले भने आफ्नो कम्पनीमा जीवन बीमा गराएका बीमितको मृत्यु दाबी मात्रै भुक्तानी गर्नुपर्ने हुन्छ । बाढीमा मृत्यु भएका तथा सम्पर्कविहीन व्यक्तिमध्ये कति जना जीवन बीमित थिए भन्ने यकिन तथ्यांक अझै संकलन भइसकेको छैन । त्यसैले अहिले नै मृत्यु दाबीको अनुमान गर्नु हतार हुने बीमा कम्पनीहरूको भनाइ छ ।