मेहनत र सपना खरानी हुँदा पनि हार नमानेका थापा

सपना र बाल्यकालसँग जोडिएका सम्झनाहरू खरानी बने ।

काठमाडौं । ‘बगैंचा रिसोर्ट सञ्चालनमा आएको एक महिनामात्र भएको थियो । हामीले रिसोर्टको अनुभव र मज्जासमेत लिन पाएका थिएनौं,’ अंशुभरा ग्रुपका निर्देशक सौगात थापाले भने 

गत वर्ष अर्थात आजको दिन भदौ २३ गते जेनजी आन्दोलन भएको थियो । मुलुकभर एकै नारा गुञ्जिएको थियो । सुशासन, समृद्धि र भ्रष्टाचार शून्यसहितको आवाज लिएर युवाहरू सडकमा ओर्लिएको दिन । 

यहीँ सुशासनको नारा लिएर सडकमा आएका युवाहरूको आवाज भने केही व्यवसायीहरूका लागि अभिशाप भयो । भदौ २४ गते धेरै व्यवसायीहरूको घर, उद्योग, होटल तथा रिसोर्ट जले ।

बास उठे, व्यवसाय गरिरहेका भवन खरानी बने । बोलिएका आवाज दबिए र नियमित गइरहनु पर्ने ठाउँको अवस्था बदलिए ।

जेनजी आन्दोलनमा क्षति भएको पोखराको बगैंचा रिसोर्ट तथा स्पा पुनः सञ्चालनमा आइसकेको छ । क्षति भएको दश महिनामै बगैंचा पुनः बगैंचा जस्तै भएर उभिएको छ ।

जेनजी आन्दोलनको क्रममा भदौ २४ गते बगैंचा रिसोर्टमा तोडफोड र आगजनी भयो । केही घण्टामै करोडौंको लगानी खरानीमा परिणत भयो । व्यवस्थापनले केवल महिनाभित्रै रिसोर्टलाई पुन : सञ्चालनमा ल्याइसकेको छ ।

पोखराको पर्यटनलाई पुनः ताजगी गराउनुपर्ने भएकाले आफ्नै बलबुताले भए पनि उठ्नुपर्ने अवस्था रहेको थापा बताउँछन् । 

‘हामीले विभिन्न खालका मानसिक तनाव झेल्यौं । हामीले गरेको व्यवसाय मुलुक र समाजको लागि थियो,’ उनले भने, ‘हामीले भोगेको क्षतिअनुसार समाजभित्र फरक पहिचान बोकेर बसेका थियौं भन्ने महसुस भयो । हाम्रो कारण धेरै मानिसले रोजगार पाएका थिए । काम गरेर खानु भनेको अपराध जस्तो ठान्यो ।’

गत वर्षको घटनालाई सम्झँदा उनलाई यो समाज र मुलुकमा बस्दा अपराध गरेको जस्तो महसुस हुँदोरहेछ । मुलुक र समाजलाई समृद्ध बनाउन व्यवसाय गरिरहेको थापाको भनाइ छ ।

‘हामीले भदौ २४ को विनाशपछि हार मानेनौं । केही महिनाअघि मात्र रिसोर्टलाई पुनः सञ्चालनमा ल्याइसकेका छौं । क्षति भएको केही महिनामै हामीले पुनः निर्माण थाल्यौं,’ गत वर्ष भदौको घटना सुनाउँदै उनी आत्मविश्वासी सुनिए ।

एक वर्षअघि आजकै समय सम्झिँदा अझै पनि मन भारी हुने थापा बताउँछन् । ‘आगोले मेरो व्यवसाय मात्र जलाएन, वर्षौंको मेहनत, सपना र बाल्यकालसँग जोडिएका धेरै सम्झनाहरू पनि खरानी बनायो,’ उनी सुनाउँछन्, ‘त्यो पीडा सहजै बिर्सन सकिने थिएन ।’

‘तर जीवनले एउटा कुरा सिकाउँदो रहेछ, ढलेपछि उठ्नु नै वास्तविक जित हो । त्यो कठिन समयपछि मैले हार मानिनँ । आफैलाई सम्हालें, फेरि व्यवसाय उठाएँ र अझ बलियो भएर अघि बढ्ने संकल्प गरें । किनकि मसँग जोडिएका कर्मचारी, परिवार र धेरै मानिसको विश्वासलाई बीचमै छोडेर बस्न सक्दैनथेँ,’ उनले थपे ।

एक वर्षअघि खरानीबीच उभिएको उनी त्यही खरानीबाट उठेर व्यवसायीहरूको नेतृत्व गर्ने ठाउँमा पुगेको थापाले बताए । 

‘मलाई यही सिकाउन खोजेको थियो । परिस्थितिले हामीलाई तोड्न सक्छ, तर फेरि उठ्ने साहस हामी आफैंमा हुन्छ,’ उनले अगाडि थपे, ‘विगतको पीडालाई शक्तिमा बदल्दै, व्यवसायीको हित, रोजगारी सिर्जना र पोखराको आर्थिक समृद्धिका लागि इमानदारीका साथ काम गर्ने मेरो संकल्प रहेको छ ।’

थापाको व्यावसायिक संस्था मात्र जलेनन् । बास बस्ने स्थानसमेत जलेको थियो । ‘गत वर्षको समय सम्झँदा आज पनि कहाली लाग्छ,’ उनले भने,  ‘हार मान्नलाई व्यवसाय नगरेको तर जितसँगै समाज र मुलुकका लागि केही योगदान गर्न व्यवसायमा लागेका हौं ।’

थापा पोखरा उद्योग वाणिज्य संघको ३६ औं महाधिवेशनबाट उद्योग उपाध्यक्षमा निर्वाचित भएका छन् । उनले यसलाई समाज र मुलुकलाई समृद्ध बनाउने अवसर पनि ठानेका छन् । ‘यो मेरो लागि केवल एउटा पद होइन, कठिन यात्रापछि प्राप्त भएको विश्वास, जिम्मेवारी र नयाँ सुरुवात हो,’ उनी अगाडि थप्छन् ।

वातावरणमैत्री, दीर्घकालीन सोच तथा विकासको नवीनतम उद्देश्यसहित लेकसाइडको १३ नम्बर स्ट्रिटमा अंशुभरा ग्रुपले वास्तुकला, नेपाली कला र परम्परागत तथा आधुनिक सम्मिश्रणसहितको प्रकृतिको आभास दिलाउने बगैंचा रिसोर्ट एण्ड स्पा सञ्चालनमा आइसकेको छ ।

बगैंचाले प्रकृति प्रेमी सेवाग्राही तथा पर्यटकलाई शान्त जीवनशैलीको महसुस गराउने गरेर सञ्चालनमा आइसकेको थापाले बताउँछन् । पोखराको पर्यटनमा नयाँ ऊर्जा लिएर पुनः सञ्चालनमा ल्याइएको उनको भनाइ छ ।

मानिसहरू प्रकृतिबाट टाढा जान नसक्ने भएकाले प्रकृतिको नजिक लैजान पुरानो शैलीको हस्पिटालिटी केही परिवर्तन नगरी पुनः व्यवसाय सुरू गरिएको उनले बताए । यहाँ आउने पाहुनाले व्यावसायीक रूपमा चाहेको सबै कुरा पाउने गरेर रिसोर्ट सञ्चालनमा ल्याइएको उनले जानकारी दिए।

‘वातावरणमैत्री बनाएर प्रकृतिको संरक्षण गर्नु हामी सबैको दायित्व हो भनेर सन्देश दिएका छौं,’ थापा भन्छन्, ‘यहाँको सामग्रीहरू सबै वातावरणमैत्री रहेको छ । जसले गर्दा हाम्रो यहाँ आउनु हुने पाहुना र हामीले वातावरणलाई असर गर्दैनौ भनेर सन्देश पुर्याउनेछौं ।’

थापाले रिसोर्टकै नामअनुसार स्पाको समेत सेवा सुविधा रहेको जानकारी दिए । उनले भने, ‘नेपाली पारम्परिक उपचार पद्धतिबाट मसाज सेवा, ध्वनि उपचार (साउन्ड हिलिङ् र सिङ्गिङ बाउल थेरापी) बगैंचाभित्र शान्त वातावरणमा हुने योग अभ्यासहरू र मानसिक पुनःस्थापनाका लागि समर्पित डिजाइन बगैंचाका विशेषता रहेका छन् ।’

बगैंचामा दुई रेष्टुरेण्ट रहेका छन् । नयाँ मरिच इन्डो–चाइनीज र कन्टिनेन्टल खाना पाइन्छ । उमामी रेष्टुरेण्ट जसले परिष्कृत प्यान–एशियनको स्वाद लिन पस्कने उनले जानकारी दिए ।

बगैंचामा ‘टारो’ पूलसाइड बार रहेकाले बगैंचाको थप आकर्षण बढ्ने उनले विश्वास व्यक्त गरे । मौसम अनुसारका उपलब्ध हुने तरकारी अन्य खाद्य सामग्री पाइने उनले प्रस्ट पारे ।

‘रिसोर्टमा आउने पाहुनाका लागि स्टयान्डर्ड रूम, एक्जिक्युटिभ रूम, आर्बर सुइट, बगैंचा सुइट गरी अतिथिका लागि चार प्रकारका आकर्षक कोठाको प्रबन्ध गरिएको छ,’ उनले उत्साहित हुँदै भने, ‘३२ वटा कोठामै निजी बाल्कोनी रहेकाले रिसोर्टबाट हरियाली वातावरण दृश्यको अवलोकन गर्न सकिन्छ ।’

एक वर्षअघि मात्र ७० करोडको लगानी बगैंचा रिसोर्ट एण्ड स्पा सञ्चालनमा आएको थियो । ‘आँखै अगाडि करोडौंको लगानी खरानी बनेको थियो,’ उनी विगत सम्झिँदै भावुक हुन्छन्, ‘हामी फेरि उठिसकेका छौं । पर्यटन क्षेत्रलाई माथि उकास्दै हाम्रो पाइला निरन्तर अगाडि बढिरहन्छ ।’

रिसोर्टमा नयाँ जिम सेट पनि थपिएको छ । रिसोर्टमा १५० देखि ३५० डलरसम्मका कोठाहरू पाइने थापाले जानकारी दिए । उनका अनुसार रिसोर्ट साढे चार रोपनी क्षेत्रफलमा रहेको छ ।

Share News