निर्जीवन बीमा कम्पनीमा झण्डै २६ अर्ब रुपैयाँ बराबरको दाबी, जीवन बीमामा कति ?

भुक्तानी गर्न बीमा कम्पनी सक्षम

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोसी क्षेत्रमा अकस्मात् आएको भीषण बाढीले ठूलो जनधनको क्षति पुर्याएको छ । विशेषगरी रसुवा, नुवाकोट र धादिङमा बाढीका कारण ठूलो क्षति भएको छ ।

विनाशकारी बाढीका कारण निर्जीवन बीमा कम्पनीमा मात्रै नभई जीवन बीमा कम्पनीहरूमा समेत मृत्यु दाबीको दबाब बढ्ने देखिएको छ । 

बीमा प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार निर्जीवन बीमा कम्पनीहरूमा क्षतिपूर्तिबापत् झण्डै २६ अर्ब रुपैयाँ बराबरको प्रारम्भिक बीमा दाबी परेको छ । जीवन बीमा कम्पनीहरूमा त्यसरी ठूलो संख्यामा बीमा दाबी नपरेपनि यसपटक दाबीको दवाव भने बढ्ने देखिएको कम्पनीहरू बताउँछन् ।

नेपाल प्रहरीको पछिल्लो तथ्यांकअनुसार बाढीका कारण १ हजार ३ सयभन्दा बढीको मृत्यु भइसकेको छ । ५ हजारभन्दा बढी अझै सम्पर्कविहीन छन् । मृत्यु र सम्पर्कविहीन हुनेको संख्या थपिँदै गएकाले जीवन बीमा कम्पनीहरूमा पनि मृत्यु दाबी बढ्ने देखिएको हो ।

यद्यपि, अहिले नै कति रकम बराबरको दाबी पर्छ भन्ने यकिन गर्न सकिने अवस्था नरहेको बीमा कम्पनीहरूले बताएका छन् । बाढीमा परी मृत्यु भएका तथा बेपत्ता नागरिकको विवरण संकलन भइरहेको छ । बीमितका आफन्तसमेत सम्पर्कविहीन भएका परिवारजनको खोजीमा रहेकाले अहिले बीमा दाबीभन्दा पनि आफन्तको खोजीलाई प्राथमिकता दिइरहेका छन् ।

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) शिवनाथ पाण्डेले बाढीका कारण अहिलेसम्म कम्पनीमा मृत्यु दाबी नआएको बताए । 

‘अहिलेसम्म त्यस्तो कुनै नोटिस आएको छैन, त्यसबारे हामीले वर्कआउट गरिरहेका छौं,’ उनले भने ।

उनका अनुसार कम्पनीले बीमितको अवस्थाबारे अभिकर्तासँग समन्वय गरिरहेको छ । विदुर, धादिङ र नौबिसेमा कम्पनीका शाखा रहेकाले प्रभावित क्षेत्रमा समेत समन्वय भइरहेको उनले बताए ।

‘प्रभावित क्षेत्रमा अहिले पनि कति जना हराइरहनुभएको छ र कतिको मृत्यु भइसकेको हुनाले मृत्यु दाबीको दबाब पर्दैन भन्न सकिँदैन,’ पाण्डेले भने । 

यद्यपि, मृत्यु दाबी परे पनि त्यसले बीमा कम्पनीमा ठूलो आर्थिक दबाब नपर्ने उनको भनाइ छ ।

२०७२ सालको भूकम्पमा ८ हजारभन्दा बढीले ज्यान गुमाउँदा पनि कम्पनीमा ठूलो मृत्यु दाबी नपरेको उनले बताए । यसपटक पनि जीवन बीमा कम्पनीहरूमा ठूलो आर्थिक दबाब नपर्ने उनको भनाइ छ ।

त्यस्तै, मृत्यु हुने सबै व्यक्तिको जीवन बीमा नहुने भएकाले दाबीको संख्या तुलनात्मक रूपमा कम हुन सक्ने उनले बताए । ‘स्वस्फूर्त रूपमा बीमा गर्नेको संख्या कम छ । ज्यान गुमाउने सबैको बीमा नहुन सक्छ, त्यसैले कम्पनीमा धेरै भार नपर्न सक्छ,’ पाण्डेले भने ।

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सका वरिष्ठ सहायक महाप्रबन्धक दिपेश बाबु तिवारीले अहिलेसम्म बाढीका कारण मृत्यु भएका बीमितको दाबी नपरे पनि आगामी दिनमा दाबी पर्ने सम्भावना रहेको बताएका छन् ।
 
प्रभावित क्षेत्रका नागरिक मात्रै नभई देशका विभिन्न भागका मानिससमेत बाढीमा परेकाले दाबी प्रभावित क्षेत्रबाट मात्रै सीमित नहुने उनको भनाइ छ ।

उनका अनुसार रिलायबल नेपाल लाइफको विदुरमा शाखा रहेकाले त्यहाँका कर्मचारीसँग समन्वय भइरहेको छ । साथै अभिकर्तामार्फत बीमितको अवस्थाबारे जानकारी लिने कामसमेत भइरहेको उनले बताए । 

‘अहिले प्राथमिकता हराएका व्यक्तिको खोजीमा छ, त्यसैले केही दिनपछि मात्रै मृत्यु दाबी आउन सक्छ,’ तिवारीले भने ।

सिटिजन्स लाइफ इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) दीपबहादुर बिसीले केही संख्यामा मृत्यु दाबी आउन थालेको बताए ।

‘अहिले केही संख्यामा मृत्यु दाबी आउन थालेका छन्, अझै नयाँ सूचनाहरू आइरहेका छन्,’ उनले भने । उनका अनुसार अधिकांश जानकारी औपचारिक प्रक्रियामार्फत भन्दा अनौपचारिक रूपमा आउने गरेका छन् । यद्यपि, हालसम्म दाबीको संख्या भने न्यून रहेको उनले बताए ।

डीसीईओ बिसीले पनि निर्जीवन बीमा कम्पनीमा जस्तो ठूलो दाबी जीवन बीमा कम्पनीमा नपर्ने बताए । यद्यपि, अहिले नै कति रकम बराबरको दाबी पर्छ भन्ने यकिन गर्न सकिने अवस्था नरहेको उनको भनाइ छ ।

आईएमई लाइफ इन्स्योरेन्सका सूचना अधिकारी सुदीप रानाले अहिलेसम्म कम्पनीमा बाढीका कारण कुनै मृत्यु दाबी नपरेको बताए । निर्जीवन बीमामा जस्तो तत्कालै दाबी आउने अवस्था जीवन बीमामा नरहेको पनि उनको भनाइ छ।

‘विपद् आएको १३ दिन भएको छ, अबको ३० दिनभित्र केही न केही जानकारी आउला,’ रानाले भने । उनका अनुसार मृत्यु दाबीका लागि मृत्यु भएको यकिन गर्ने प्रमाणपत्र आवश्यक पर्छ ।

निवेदन प्राप्त भएपछि मात्रै दाबी प्रक्रिया अघि बढ्ने भएकाले अहिले शव पहिचान तथा हराइरहेकाको खोजी कार्य भइरहेकाले समय लाग्ने उनले बताए । ‘मृत्यु दाबीको प्रक्रिया आवेदन आएपछि मात्रै अघि बढ्छ,’ उनले भने । 

कम्पनीले आफ्ना शाखा कार्यालयसँग समेत समन्वय गरी बीमितको अवस्थाबारे जानकारी लिइरहेको उनले बताए । नुवाकोटमा कम्पनीको शाखा रहेकाले त्यहाँबाट समेत दाबी आउन सक्ने उनको भनाइ छ ।

नेपाल लाइफ इन्स्योरेन्सको नुवाकोट शाखा प्रमुख अम्बिका श्रेष्ठले यसपटकको बाढीबाट जीवन बीमामा मृत्यु दाबीको दबाब बढ्ने बताएकी छन् । तत्कालै दाबी नआए पनि आफूले चिनेका धेरै बीमित बाढीमा परेको जानकारी रहेकाले आगामी दिनमा दाबी बढ्न सक्ने उनको भनाइ छ ।

‘हामीले चिनेका धेरै जना बीमित बाढीमा पर्नुभएको छ, अहिले हराएकाहरूको खोजी भइरहेको छ त्यसैले यो क्षेत्रमा धेरै क्लेम पर्ने सम्भावना छ,’ उनले भनिन् । 

भौगोलिक रूपमा विकट क्षेत्र भएकाले सञ्चार सम्पर्क र सडक अवरुद्ध हुँदा बीमितको अवस्थाबारे जानकारी लिनसमेत कठिनाइ भइरहेको उनले बताइन् । अहिले अभिकर्तामार्फत बीमितको अवस्थाबारे बुझ्ने काम भइरहेको उनको भनाइ छ ।

‘अहिले एजेन्टहरूसँग पनि बुझ्दैछौं, उहाँहरूबाट पनि अहिलेसम्म त्यस्तो जानकारी आएको छैन, केही दिनपछि अवस्था थाहा होला,’ उनले भनिन् ।

त्यस्तै, सन नेपाल लाइफ इन्स्योरेन्सको धादिङ शाखाकी प्रतिमा घिमिरेले पनि अहिलेसम्म मृत्यु दाबी नपरे पनि आगामी दिनमा दाबी आउने सम्भावना रहेको बताइन् । प्रभावित क्षेत्रमा केही बीमित सम्पर्कविहीन रहेकाले दाबी पर्न सक्ने उनको भनाइ छ ।

उनका अनुसार अहिले अभिकर्तामार्फत बीमितको अवस्थाबारे जानकारी लिने काम भइरहेको छ । 

भुक्तानी गर्न बीमा कम्पनी सक्षम

एकै क्षेत्रबाट ठूलो संख्यामा मृत्यु दाबी आएमा जीवन बीमा कम्पनीहरूको दाबी भुक्तानी अनुपातसँगै तरलतामा समेत केही दबाब पर्न सक्ने देखिन्छ । यद्यपि, बीमा कम्पनीहरूले त्यस्तो अवस्था आए पनि दाबी भुक्तानी गर्न आफूहरू सक्षम रहेको बताएका छन् ।

जीवन बीमा कम्पनीहरूले बीमितको मृत्यु भएपछि बीमालेखमा उल्लेख भएको सर्तअनुसार बीमांक रकम तथा अन्य लागू हुने सुविधा भुक्तानी गर्नुपर्ने हुन्छ । त्यसका लागि कम्पनीहरूले नियमित रूपमा दाबी भुक्तानीका लागि आवश्यक रकम व्यवस्थापन गर्दै आएका हुन्छन् । 

त्यसैले बाढी प्रभावित क्षेत्रबाट ठूलो संख्यामा मृत्यु दाबी आए पनि त्यसले कम्पनीको समग्र वित्तीय अवस्थामै ठूलो असर पार्ने अवस्था नरहेको कम्पनीहरूको दाबी छ ।

अर्कोतर्फ जलविद्युत् आयोजना, उद्योग तथा अन्य क्षेत्रमा कार्यरत जनशक्तिको दुर्घटना वा मृत्युबाट हुने क्षतिको प्रकृति र बीमाको प्रकारअनुसार दायित्व निर्जीवन बीमा कम्पनीतर्फ पर्न सक्छ । 

त्यस्ता संस्थाले आफ्ना कर्मचारीको दुर्घटना तथा अन्य जोखिमको बीमा गराएको अवस्थामा बीमालेखको सर्तअनुसार क्षतिपूर्ति निर्जीवन बीमा कम्पनीले बेहोर्नुपर्ने हुन्छ ।

जीवन बीमा कम्पनीले भने आफ्नो कम्पनीमा जीवन बीमा गराएका बीमितको मृत्यु दाबी मात्रै भुक्तानी गर्नुपर्ने हुन्छ ।

बाढीमा मृत्यु भएका तथा सम्पर्कविहीन व्यक्तिमध्ये कति जना जीवन बीमित थिए भन्ने यकिन तथ्यांक अझै संकलन भइसकेको छैन । त्यसैले अहिले नै मृत्यु दाबीको अनुमान गर्नु हतार हुने बीमा कम्पनीहरूको भनाइ छ ।

Share News