मुक्तिनाथको क्रमिक बचत खाता खोल्दा मुद्दती बराबरको ब्याज
काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडको क्रमिक बचत खाता खोल्दा ग्राहकले मुद्दतीमा पाइने बराबरको ब्याज पाउने भएका छन् । बैंकका अनुसार मुक्तिनाथ क्रमिक बचत खातामा बचत खाता तथा मुद्दती खाताको विशेषता समेटिएको हो । उक्त खातामा मासिक वा त्रैमासिक रुपमा एक निश्चित रकम , न्यूनतम एक वर्षदेखि १० वर्षसम्मको लागि जम्मा गरेको अवस्थामा १ वर्षेको व्यक्तिगत मुद्दती खातामा पाइने बराबरको नै ब्याज प्राप्त गर्न सकिने बैंकले जनाएको छ । साथै त्रैमासिक रुपमा प्राप्त ब्याज पुन: सोही खातामा नै जम्मा हुने र सो रकमको समेत मुद्दतीकै ब्याज प्रदान गर्ने भएको ग्राहकहरुलाई उच्चत्तम लाभ हुने बैंकले जनाएको छ । यस खाताबाट नियमित रुपमा आर्जन गरेको आम्दनीको केही अंश खर्च नगरी बचत गर्न चाहने ग्राहकहरूलाई न्यूनतम लगानीमा उच्चतम प्रतिफलको फाइदा पुग्ने विश्वास बैंकले लिएको छ ।
सनराइज बैंक र लुम्बिनी विकास बैंकबीच ‘स्मार्ट सहकार्य’
काठमाडौं । डिजिटल प्रविधिमा स्मार्ट बनौं, डिजिटल बैंकिङ्ग गरौं भन्दै बैंकिङ सेवामा डिजिटाइजेसनलाई प्रवर्द्धनका लागि सनराइज बैंक र लुम्बिनी विकास बैंकबीच आइतबार सहकार्य भएको छ । दुई बैंकबीच पोइन्ट अफ सेल (पीओइस) सेवाका लागि सहकार्य भएको छ । यससँगै लुम्बिनी विकास बैंकले कार्ड मार्फत हुने डिजिटल भुक्तानी स्वीकार गर्न आफ्ना ग्राहकबर्गलाई पोइन्ट अफ सेल डिभाइस (पीओएस) उपलब्ध गराउन सक्नेछ भने सो कार्यका लागि प्राबिधिक सेवा तथा कारोबारको सेटलमेन्ट सनराइज बैंकले प्रदान गर्नेछ । सम्झौता पत्रमा सनराइज बैंकका नायव महाप्रबन्धक रबिन नेपाल तथा लुम्बिनी विकास बैंकका नायव प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मीले हस्ताक्षर गरेका छन् । सनराइज बैंकले १५९ एटीएम, १३९ शाखा, १३ एक्सटेन्सन काउण्टर, ९० वटा शाखारहित बैंकिङ सेवामार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।
बैंकहरू उद्देश्यबाट विमुख भएका राष्ट्र बैंकको निष्कर्ष, यस्ता छन् बाह्य क्षेत्रमा दबाब पर्नुका कारण
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरू आफ्नो मुख्य उद्देश्यबाट विमुख भएको निष्कर्ष निकालेको छ । नेपाल राष्ट्र बैंकको एक अध्ययन प्रतिवेदनले बैंक तथा वित्तीय संस्थाहरूको कर्जा प्रवाह नीति उत्पादन अभिवृद्धिको उद्देश्यबाट विमुख भई आयात प्रोत्साहन हुने क्षेत्र तथा वस्तुहरूमा अधिकेन्द्रित हुन पुगेकोले अहिलेको समस्या सिर्जना भएको निष्कर्ष निकालेको हो । सो अध्ययन प्रतिवेदनले वाह्य क्षेत्रमा दबाब पर्नुका विभिन्न कारणहरू औल्याएको छ । अध्ययन प्रतिवेदनले वैदेशिक व्यापार (आयात–निर्यात) देशगत तथा वस्तुगत रुपमा केन्द्रित रहेको, सुन, चाँदीलगायत उच्च मूल्यका धातु एवम् विलासिताका वस्तुहरूको आयात बढ्दै गएको, साथै समयमा नियन्त्रणका उपाय अवलम्बन नगरिएको, वैदेशिक लगानीको सम्बन्धमा नीतिगत स्थायीत्व कमजोर रहेको लगायतका कारणले वाह्य क्षेत्रमा दबाब परेको निष्कर्ष निकालेको छ । यस्तै, वैदेशिक लगानीबाट आर्जित रकम फिर्ता लैजाने प्रक्रिया अझै पनि अपेक्षित रुपमा सरल र झन्झटरहित तुल्याउन नसकिएको, सरकारी स्वीकृति र क्लियरेन्सको लागि प्रशस्त समय लाग्ने गरेको, नेपालबाट बाह्य लगानीमा रोकावट नै रहेकोले विदेशी लगानी भित्रिने वातावरण विश्वस्त नबनेको लगायतका कारणले पनि बाह्य क्षेत्रमा दबाब सिर्जना भएको उल्लेख गरेको छ । अध्ययन प्रतिवेदनले चालू आर्थिक वर्षमा विगतका ऋणको तुलनामा द्विपक्षीय ऋण, बहुपक्षित वैदेशिक सहायता/ऋण भित्रिन नसकेको, कोभिड संक्रमणमा कमी भएको अवस्थामा पनि पर्यटन क्षेत्रलाई चलायमान बनाउन कूटनैतिक र सो अनुसारको कार्यक्रम सञ्चालन गरी पर्यटक भित्र्याई विदेशी मुद्रा आर्जन गर्न नसक्नुले पनि समस्या आएको प्रतिवेदनमा उल्लेख गरेको छ । यस्तै, विदेशबाट औपचारिक रुपमा विप्रेषण पठाउनका लागि नेपाली कामदारहरूसम्म सहज तथा सुलभ रुपमा सेवा पुग्न नसकेको कारण पनि मुख्य भएको उल्लेख गरेको छ ।