मुद्दती खातामा सानिमाको डबल धमाका
काठमाडौं । सनिमा बैंकले नयाँ वर्षको अवसरमा सानिमा डबल धमाका मुद्दती खाता सार्वजनिक गरेको छ । सानिमा डबल धमाका मुद्दती खाता व्यक्तिगत ग्राहकहरूलाई लक्षित गरी ल्याइएको बैंकले जनाएको छ । उक्त मुद्दतीमा न्यूनतम पाँच लाखको मुद्दती खोल्न सक्नेछन् । ग्राहकहरूले यो योजनामा उक्त रकम साढे ६ वर्षमा दोब्बर भएर शत प्रतिशत प्रतिफल प्राप्त गर्न सक्नेछन् । मुद्दती निक्षेप रकम परिपक्वतापश्चात् दोब्बर भई भुक्तानी गरिनेछ । प्रतिफलमा लाग्ने कर रकम ग्राहकहरू स्वयंले ब्यहोर्नु पर्नेछ । व्यावहारिक कार्यका लागि रकम आवश्यक परेमा ९० प्रतिशतसम्मको ऋण लिन सक्नेछन् । ग्राहकले २ लाख सम्मको निःशुल्क क्रेडिट कार्डको लागि आवेदन दिन सक्नेछन् । यस योजना अन्तर्गत एकभन्दा बढी मुद्दती खाताहरू समेत खोल्न सक्नेछन् ।
सेञ्चुरी बैंकद्वारा तल्लो चिरखुवा होइड्रोइलेक्टिक प्रोजेक्टको वित्तीय समापन सम्पन्न
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले चार मेगावाटको तल्लो चिरखुवा होइड्रोइलेक्टिक प्रोजेक्टको फाइनान्सियल क्लोजर सम्पन्न गरेको छ । षडानन्द नगरपालिका भोजपुरमा अवस्थित यो जलविद्युत् परियोजना एलसी इनर्जी प्राइभेट लिमिटेडले प्रवर्द्धन गरेको हो । तल्लो चिरखुवा चिरखुवा होइड्रोइलेक्टिक प्रोजेक्टमा सञ्चुरी बैंकको एकल लगानी रहेको यस परियोजनामा बैंकको ऋण लगानी ७० प्रतिशत र बाँकी प्रवर्द्धकको लगानी छ । यस परियोजनाका प्रर्वद्धकमा दिपक राई, विश्वमोहन श्रेष्ठ, केदारनाथ कार्की, दावाजंग्मु श्रेष्ठ लामा तथा ग्रुप छन् भने उक्त समूहले ४.७ मेगावाट क्षमताको उपल्लो चिरखुवा होइड्रोपावर परियोजना निर्माण गरी विद्युत् उत्पादन गर्ने क्रममा रहेको छ । सेञ्चुरी बैंकले १२९ शाखा १० एक्सटेन्सन काउन्टर, २४ शाखारहित बैंकिङ र ११३ एटीएममार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।
नबिल बैंक र पिआईएससी नेपालबीच सम्झौता
काठमाडौं । काठमाडौंमा गत चैत २५ र २६ गते सम्पन्न ‘युवा उद्यमशीलतामार्फत दिगो विकास लक्ष्यहरू प्राप्त गर्ने’ कार्यशालाको प्रायोजन नबिल बैंकले गरेको छ । सामाजिक परिवर्तनका लागि परोपकारी अभियान (पिआईएससी) को आयोजनामा सञ्चालित दुईदिने कार्यशालाको प्रायोजन गरेको हो । नबिल बैंकको तर्फबाट नायब महाप्रबन्धक आदर्श बजगाईं र पिआईएससीका कार्यकारी निर्देशक प्रवीण खनालले युवा उद्यमशीलतालाई मद्दत र प्रवर्द्धन गर्ने उक्त प्रायोजन सम्झौतामा हस्ताक्षर गरेका थिए । युवा उद्यमशीलतामार्फत दिगो विकास लक्ष्यहरू प्राप्त गर्न आयोजित उक्त कार्यशालामा विभिन्न विश्वविद्यालयका विद्यार्थी, इच्छुक उद्यमीलगायत उद्यमशीलता विकासका लागि आफ्नो विचार र अवधारणा नोट प्रस्तुत गरेका थिए । उत्कृष्ट अवधारणालाई पिआईएससीद्वारा प्रकाशित पुस्तिकामा प्रकाशित गरिने आयोजक संस्थाले बताएको छ । उक्त कार्यशालाबाट अब्बल छानिएका अवधारणा तथा कार्यपत्रहरूलाई नबिल बैंकले आवश्यक परेमा बैंकको नीतिको अधिनमा रही विभिन्न बैंकिङ्ग सेवाहरू प्रदान गर्नेछ । उक्त कार्यशालामा बोल्दै नबिल बैंकका नायव महाप्रबन्धक आदर्श बजगाईंले युवा उद्यमशीलता मार्फत आर्थिक वृद्धि तथा दिगो विकाशका लक्ष्यहरू हसिल गर्नुपर्ने बताए । कार्यक्रममा बोल्दै आयोजक संस्थाका कार्यकारी निर्देशक प्रवीण खनालले राष्ट्र निर्माणका लागि युवा उद्यमशीलता महत्त्वपूर्ण रहेकोमा जोड दिए । साथै, नेपाल महिला उद्यमी महासंघकी अध्यक्ष निरु रायमाझी खत्रीले राष्ट्रको आर्थिक उन्नतिमा महिलाद्वारा सञ्चालित व्यवसाय/उद्यमलाई प्रवर्द्धन गर्नुपर्ने बताइन् ।