एनसीसी बैंकले नेपाल राष्ट्रिय नाई संघ सदस्यहरुलाई छुट दिने

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंकले नेपाल राष्ट्रिय नाई संघको चौथो राष्ट्रिय सम्मेलनको अवसरमा वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको छ । उक्त कार्यक्रममा बैंकले वित्तीय साक्षरता अन्तर्गत बैंकिङ्ग कारोबार, बचतका फाइदा तथा क्यू।आर। कोडबाट हुने कारोबार सम्बन्धमा जानकारी दिएको थियो । कार्यक्रममा नेपाल राष्ट्रिय नाई संघमा आबद्ध देशै भरिका ७०० भन्दा बढी नाई सदस्यहरुको सहभागिता रहेको थियो । नेपाल राष्ट्रिय नाई संघमा आवद्ध नाईहरुलाई क्यूआर कोड सेवा प्रदान गर्ने सम्बन्धी द्विपक्षीय सम्झौता समेत भएको छ । यस सम्झौता अन्तर्गत नेपाल राष्ट्रिय नाई संघमा आवद्ध भई क्यूआर कोड सेवा लिएका नाईलाई बैंकले उपलब्ध गराउने सेवा सुविधामा उच्च प्राथमिकता दिने तथा शुल्कहरुमा आवश्यक छुट दिनेछ । सम्झौता पत्रमा बैंकका तर्फबाट नायव महा–प्रबन्धक मुकुन्द सुबेदी र नेपाल राष्ट्रिय नाई संघका तर्फबाट अध्यक्ष पल्टन ठाकुरले हस्ताक्षर गरेका छन् । देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकले ७ वटै प्रदेशमा गरी १३७ शाखा १३ एक्स्टेन्सन काउन्टर र ११४ एटिएम वुथहरु सञ्चालन गरीे ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गर्दै आएको छ ।

शुक्रबारदेखि राष्ट्र बैंकमा आधा मात्रै सञ्चालक, नातेदारलाई ल्याउन व्यावसायिक घरानाको दौडधूप

काठमाडौं । नेपाल राष्ट्र बैंकको सञ्चालक समितिकाे सदस्य संख्या आगामी शुक्रबारदेखि आधामात्रै रहने भएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको निलम्बन र दुईजना सञ्चालकहरूको कार्यकाल शुक्रबार सकिँदैछ । त्यसैले राष्ट्र बैंकको सञ्चालक समिति आधामात्रै रहने भएको हो । राष्ट्र बैंकको सञ्चालक समितिमा ७ जना रहने व्यवस्था छ । राष्ट्र बैंकको गभर्नर अध्यक्ष रहने समितिमा दुईजना डेपुटी गभर्नर, अर्थसचिव र तीनजना विज्ञहरू सञ्चालक रहने व्यवस्था छ । गभर्नर महाप्रसाद अधिकारी निलम्बनमा परेपछि कार्यवाहक गभर्नर स्वतः समितिको अध्यक्ष बन्ने व्यवस्था छ । हाल सरकारले राष्ट्र बैंकको कार्यवाहक गभर्नरमा वरिष्ठ डेपुटी गभर्नर निलम ढुङ्गानालाई नियुक्त गरेको छ । गभर्नर निलम्बनमा परेपछि समितिको सदस्य संख्या ६ जनामा झरेको छ । आगामी शुक्रबारदेखि दुईजना विज्ञ सञ्चालकको कार्यकाल पनि सकिँदैछ । राष्ट्र बैंकको सञ्चालक समिति सदस्यबाट डा. श्रीराम पौडेल र रामजी रेग्मी पाँचवर्षे कार्यकाल पूरा गरेर आगामी शुक्रबारबाट बिदा हुने भएसँगै पुनः समितिको सदस्यको संख्या ४ मा झर्ने भएको हो । यस्तै, राष्ट्र बैंककै सञ्चालक डा. सुवोधकुमार कर्ण अहिले विवादमा मुछिएका छन् । उसो त उनी यसअघिका कयौं बैठकमा पनि उपस्थित भएका छैनन् । त्यसैले आगामी शुक्रबारदेखि बैठकमा उपस्थितमा सञ्चालकको संख्या ३ मात्र हुने देखिन्छन् । अहिले कर्णमाथि काम गरिदिन्छु भन्दै कमिसन मागेको आरोप छ । सोही आरोपलाई आधार मानेर सरकारले उनलाई पनि निलम्बन गर्न सक्छ । उनी पनि निलम्बनमा परे भने राष्ट्र बैंक सञ्चालकहरूको संख्या तीनमा मात्रै सीमित हुन्छ । समितिमा कार्यवाहक गभर्नर डा. निलम ढुङ्गाना तिमिल्सिना, डेपुटी गभर्नर बमबहादुर मिश्र र पदेन सदस्य तथा अर्थसचिव मधुकुमार मरासिनीमात्रै रहनेछन् । सञ्चालक बन्न लविङ सुरु शुक्रबार मात्रै सञ्चालहरूको कार्यकाल सकिने भए पनि सञ्चालक बन्न र बनाउनका लागि भने लविङ सुरू भइसकेको छ । स्रोतका अनुसार अहिले अर्थमन्त्रालयमा व्यावसायिक घरानाको आवतजावत बढ्दो छ । विभिन्न व्यावसायिक घरानाले अर्थमन्त्री जनार्दन शर्मा समक्ष विभिन्न व्यक्तिहरूलाई सञ्चालक बनाउनका लागि नाम पठाइरहेका छन् । राष्ट्र बैंक स्रोतका अनुसार सञ्चालक रेग्मीले भने कार्यकाल दोहोर्‍याउन खोजेका छन् । नयाँ सञ्चालकका लागि राष्ट्र बैंककै पूर्वकार्यकारी निर्देशक शिवनाथ पाण्डे र नारायण पौडेलको नाम पनि चर्चामा छ । नेपाल सरकार, मन्त्रिपरिषद्ले सञ्चालकको नियुक्ति गर्न सक्ने ऐनमा व्यवस्था छ । सञ्चालकको नियुक्ति गर्दा आर्थिक, मौद्रिक, बैकिङ, वित्तीय, वाणिज्य, व्यवस्थापन तथा वाणिज्य कानून क्षेत्रका लब्ध प्रतिष्ठित व्यक्तिहरूमध्ये अलग-अलग क्षेत्रको प्रतिनिधित्व हुने गरी गर्नुपर्ने व्यवस्था छ ।

गरिमा विकास बैंकका ग्राहकलाई पोखरा बाटिकामा छुट

काठमाडौं । नयाँ वर्षमा आन्तरिक पर्यटक प्रवर्द्धनका लागि गरिमा विकास बैंकले ‘पोखरा बाटिका–क्लासिक होटल’सँग विभिन्न सेवा सुविधामा छुटसम्बन्धी सम्झौता गरेको छ । गरिमाले आफ्ना ग्राहकहरूलाई थप सुविधाहरू प्रदान गर्नका लागि पर्यटकीय स्थल पोखराको प्रख्यात होटल ‘पोखरा बाटिका–क्लासिक होटल’सँग सम्झौता गरेको जनाएको छ । उक्त सम्झौताअनुसार होटलका रुममा २० प्रतिशतसम्म छुट, फुड एण्ड वेभरेजमा १५ प्रतिशत छुट साथै अन्य सेवा सुविधाहरुमा आर्कषित छुटको व्यवस्था गरिएको छ । बैंकका डेविट कार्ड र गरिमा स्मार्ट प्रयोग गरी बिल भुक्तानी गर्ने ग्राहकहरूले उक्त होटलबाट उल्लेखित छुट सुविधाहरु लिन सक्ने जानकारी दिएको छ । हाल गरिमा विकास बैंकले ११८ शाखा,दुई एक्स्टेन्सन काउण्टर र ५१ एटीएमबाट बैकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।