काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरू आफ्नो मुख्य उद्देश्यबाट विमुख भएको निष्कर्ष निकालेको छ । नेपाल राष्ट्र बैंकको एक अध्ययन प्रतिवेदनले बैंक तथा वित्तीय संस्थाहरूको कर्जा प्रवाह नीति उत्पादन अभिवृद्धिको उद्देश्यबाट विमुख भई आयात प्रोत्साहन हुने क्षेत्र तथा वस्तुहरूमा अधिकेन्द्रित हुन पुगेकोले अहिलेको समस्या सिर्जना भएको निष्कर्ष निकालेको हो ।
सो अध्ययन प्रतिवेदनले वाह्य क्षेत्रमा दबाब पर्नुका विभिन्न कारणहरू औल्याएको छ । अध्ययन प्रतिवेदनले वैदेशिक व्यापार (आयात–निर्यात) देशगत तथा वस्तुगत रुपमा केन्द्रित रहेको, सुन, चाँदीलगायत उच्च मूल्यका धातु एवम् विलासिताका वस्तुहरूको आयात बढ्दै गएको, साथै समयमा नियन्त्रणका उपाय अवलम्बन नगरिएको, वैदेशिक लगानीको सम्बन्धमा नीतिगत स्थायीत्व कमजोर रहेको लगायतका कारणले वाह्य क्षेत्रमा दबाब परेको निष्कर्ष निकालेको छ ।
यस्तै, वैदेशिक लगानीबाट आर्जित रकम फिर्ता लैजाने प्रक्रिया अझै पनि अपेक्षित रुपमा सरल र झन्झटरहित तुल्याउन नसकिएको, सरकारी स्वीकृति र क्लियरेन्सको लागि प्रशस्त समय लाग्ने गरेको, नेपालबाट बाह्य लगानीमा रोकावट नै रहेकोले विदेशी लगानी भित्रिने वातावरण विश्वस्त नबनेको लगायतका कारणले पनि बाह्य क्षेत्रमा दबाब सिर्जना भएको उल्लेख गरेको छ ।
अध्ययन प्रतिवेदनले चालू आर्थिक वर्षमा विगतका ऋणको तुलनामा द्विपक्षीय ऋण, बहुपक्षित वैदेशिक सहायता/ऋण भित्रिन नसकेको, कोभिड संक्रमणमा कमी भएको अवस्थामा पनि पर्यटन क्षेत्रलाई चलायमान बनाउन कूटनैतिक र सो अनुसारको कार्यक्रम सञ्चालन गरी पर्यटक भित्र्याई विदेशी मुद्रा आर्जन गर्न नसक्नुले पनि समस्या आएको प्रतिवेदनमा उल्लेख गरेको छ ।
यस्तै, विदेशबाट औपचारिक रुपमा विप्रेषण पठाउनका लागि नेपाली कामदारहरूसम्म सहज तथा सुलभ रुपमा सेवा पुग्न नसकेको कारण पनि मुख्य भएको उल्लेख गरेको छ ।