काठमाडौं । नेपाल राष्ट्र बैंकका निलम्बित गभर्नर महाप्रसाद अधिकारी अदालत गएपछि मात्रै जाँचबुझ समिति तातेको छ । उनीमाथि छानविन गर्न बनेको जाँचबुझ समिति बनेको १० दिनपछि समितिले काम थालेको जनाएको हो ।
मन्त्रिपरिषद् बैठकले गत चैत २४ गते बिहीबार गभर्नरलाई निलम्बन गरेर उनीमाथि छानविन गर्न जाँचबुझ समिति गठन गरको थियो । तर, जाँचबुझ समिति बनेको १० दिनपछि मात्रै समिति काम गर्न थालेको हो ।
समितिले साेमबार एक विज्ञप्ति जारी गर्दै समितिले काम सुरु गरेको जनाएको छ । सरकारले पूर्व न्यायाधीश पुरुषोत्तम भण्डारीको नेतृत्वमा तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ ।
राष्ट्र बैंक ऐनमा ‘जाँचबुझ समितिले जाँचबुझ गरी आफ्नो राय ठहरसहितको सिफारिस सरकार समक्ष पेस गर्नुभन्दा अघि गभर्नरसँग बयान लिन वा सोधपुछ गर्न सक्नेछ’ भन्ने व्यवस्था उल्लेख छ ।
राष्ट्र बैंक ऐन २०५८ अनुसार जाँचबुझ समितिले राय ठहर सहितको आफ्नो सिफारिस एक महिनाभित्र सरकारसमक्ष पेस गर्नु पर्ने व्यवस्था छ ।
अधिकारी निलम्बन खारेजीको माग राख्दै आइतबारसर्वोच्च पुगेपछि समितिले पनि काम थालेको जनाएको हो । अधिकारीले दायर गरेको मुद्दा सर्वोच्चमा दर्ता भइसकेको छ । त्यसको पेसी पनि मंगलबारका लागि तोकिएकेको छ ।