महालक्ष्मी विकास बैंक नेपालगञ्ज शाखा स्थानान्तरण

काठमाडौं । महालक्ष्मी विकास बैंकको नेपालगञ्ज शाखा नेपालगञ्ज उपनगरपालिका-१२ सुर्खेत रोडबाट वडा नम्बर-२, पुष्पलाल चोकमा स्थानान्तरण भएको छ । वैशाख १३ गते मंगलबार आयाजित एक विशेष कार्यक्रमका बLच उक्त शाखाको उद्घाटन संयुक्त रुपमा नेपाल राष्ट्र बैंक, नेपालगञ्ज शाखाका कार्यालय प्रमुख निभा श्रेष्ठ र यस बैंकका सञ्चालक दिपक रौनियरले गरे । शाखाको उद्घाटन समारोहमा स्थानीय तहका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघसंस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो । यस शाखाबाट ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवा साथै साना तथा कर्पोरट व्यवसायीहरुमाझ वित्तीय पहुँच पुर्‍याउने लक्ष्य बैंकले राखेको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जालगायत वित्तीय सेवाहरू छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकहरुलाई प्रदान गर्ने प्रतिबद्धता शाखाका प्रबन्धक कोमल बिष्टले जनाए ।

दुई सातामा बैंकहरूमा २२ अर्बले घट्यो निक्षेप, कर्जा दिनै छोडे

काठमाडौं । दुई सातामा वाणिज्य बैंकहरुको निक्षेप २२ अर्ब रुपैयाँले घटेको छ । नेपाल बैंकर्स संघका अनुसार वाणिज्य बैंकहरुको निक्षेप बैशाख दोस्रो सातासम्म २२ अर्ब रुपैयाँले घटेको हो । चैत मसान्तसम्म बैंकहरुको कुल निक्षेप ४३ खर्ब ८९ अर्ब रुपैयाँ रहेकोमा बैशाख दोस्रो सातासम्म आइपुग्दा कुल ४३ खर्ब ६७ अर्ब रुपैयाँमा सीमित भएको हो । यस्तै, बैंकहरुको कर्जा लगानी पनि सुस्त देखिएको छ । चैत मसान्तसम्म ४१ खर्ब ९७ अर्ब रुपैयाँ कर्जा लगानी गरेकोमा बैशाख दोस्रो सातासम्म ४१ खर्ब ९४ अर्ब रुपैयाँ कायम भएको हो । वाणिज्य बैंकहरुमा दोस्रो सातामा ३ अर्ब रुपैयाँ कर्जा लगानी बढेको देखिएको छ । दुई सातासम्म ३ अर्ब रुपैयाँ मात्रै कर्जा लगानी हुँदा अब बैंकहरुले कर्जा लगानी नै छोडे भन्ने बुझिन्छ । अहिले बैंक तथा वित्तीय संस्थाहरु तरलताको समस्या भोगिरहेका छन् ।

ओकिनावा स्कुटर किन्दा माछापुच्छ्रे बैंकका ग्राहकलाई शूल्य प्रतिशतमा ऋण

काठमाडौं । माछापुच्छ्रे बैंकले आफ्ना ग्राहकले ओकिनावा स्कुटर खरिद गरेमा शून्य प्रतिशत ब्याजमा ऋण उपलब्ध गराउने भएको छ। बैंकले विद्युतीय सवारी साधनको प्रयोगलाई प्राथमिकता दिँदै आफ्ना ग्राहकका लागि शून्य प्रतिशतमा ऋण दिने स्किम ल्याएको हो। बैंकले बीएचसी इन्टरनेशनल प्रालिसँग सम्झौता गरी इन्स्टापे सुविधामार्फत शून्य प्रतिशत इएमआइमा पाउने व्यवस्था गरेको हो। सम्झौतापत्रमा बीएचसीका प्रबन्ध निर्देशक हासिम अन्सारी र बैंकका प्रमुख व्यवसाय अधिकृत डिल्लीराम गिरीले हस्ताक्षर गरेका छन्। ग्राहकले ६ देखि १८ महिनासम्मका लागि शून्य प्रतिशत इएमइमा स्कुटर किन्न सक्नेछन् ।