काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले आफ्नो स्थापनाको २०औँ वार्षिकोत्सवको अवसरमा ‘गरिमा रोड रेस २०८३’ आयोजना गर्ने भएको छ ।
‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने नारासहित प्रतियोगिताको तेस्रो संस्करण आगामी मंसिर ५ गते शनिबार काठमाडौंमा सञ्चालन हुने बैंकले जनाएको छ ।
स्वस्थ जीवनशैली प्रवर्द्धन, खेलकुदप्रति जनचेतना अभिवृद्धि तथा धावकहरूको प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले बैंकले २०८१ सालदेखि यो प्रतियोगिता आयोजना गर्दै आएको छ । यस वर्ष प्रतियोगितामा खुला र कर्पोरेट विधामा गरी करिब १ हजार ५०० धावक सहभागी हुने अपेक्षा गरिएको छ ।
प्रतियोगिता खुला र कर्पोरेट गरी दुई विधामा सञ्चालन हुनेछ । खुलातर्फ महिला तथा पुरुष दुवै समूहमा १० किलोमिटर र कर्पोरेटतर्फ महिला तथा पुरुष दुवै समूहमा ५ किलोमिटर दौड हुनेछ ।
कर्पोरेट विधामा नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज, बैंक तथा वित्तीय संस्था, मर्चेन्ट बैंक, बिमा कम्पनी, भुक्तानी सेवा प्रदायक र भुक्तानी प्रणाली सञ्चालक संस्थामा कार्यरत स्थायी कर्मचारीले मात्र सहभागिता जनाउन पाउनेछन् ।
प्रतियोगितामा खुलातर्फ महिला तथा पुरुष दुवै समूहका विजेताले ५० हजार रुपैयाँ, दोस्रो हुनेले ३५ हजार, तेस्रो हुनेले २० हजार, चौथो हुनेले १५ हजार र पाँचौँ हुनेले १० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।
त्यस्तै, कर्पोरेट विधातर्फ महिला तथा पुरुष दुवै समूहका विजेताले ३० हजार रुपैयाँ, दोस्रो हुनेले २० हजार, तेस्रो हुनेले १५ हजार, चौथो हुनेले १० हजार र पाँचौँ हुनेले ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । दौड पूरा गर्ने सबै सहभागीलाई प्रमाणपत्र र पदकसमेत प्रदान गरिने बैंकले जनाएको छ ।
खुलातर्फको १० किलोमिटर दौड बैंकको केन्द्रीय कार्यालय बालुवाटारबाट सुरु भई बूढानीलकण्ठ नगरपालिका–३ को वडा कार्यालय परिसर पुगेर पुनः बालुवाटारमै आएर टुंगिनेछ । कर्पोरेटतर्फको ५ किलोमिटर दौड बालुवाटारबाट सुरु भई बाँसबारीस्थित न्युरो अस्पताल पुगेर पुनः बालुवाटारमै समापन हुनेछ ।
प्रतियोगिता व्यवस्थित र प्रतिस्पर्धात्मक बनाउन बैंकले एनआरएस स्पोर्ट्स फाउन्डेसनसँग सहकार्य गरेको छ ।
प्रतियोगितामा सहभागी हुन इच्छुक धावकले कात्तिक २८ गतेदेखि मंसिर २ गतेसम्म अनलाइनमार्फत १०० रुपैयाँ दर्ता शुल्क तिरेर नाम दर्ता गराउन सक्नेछन् ।
बैंकले खेलकुदमार्फत स्वस्थ, सक्रिय र अनुशासित समाज निर्माणमा योगदान पुर्याउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागेको जनाएको छ । प्रतियोगितासम्बन्धी थप जानकारीका लागि बैंकको कल सेन्टर ०१–५९७०१७९ मा सम्पर्क गर्न सकिनेछ ।