नेशनल क्यापिटलले ७.३६ प्रतिशत लाभांश वितरण गर्ने
काठमाडौं । नेशनल क्यापिटल लिमिटेडले सेयरधनीलाई ७.३६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनी सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लाभांश प्रस्ताव पारित गर्न कम्पनीले असोज २८ गते बिहान साढे १० बजे काठमाडौं महानगरपालिका–३ स्थित आफ्नै कार्यालयमा तेस्रो वार्षिक साधारण सभा बोलाएको छ । सभाले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट चुक्ता पुँजी २० करोड रुपैयाँको ७ प्रतिशतका दरले १ करोड ४० लाख रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.३६ प्रतिशतका दरले ७ लाख ३६ हजार रुपैयाँ नगद लाभांश प्रस्ताव पारित गर्नेछ । यस्तै, सभाले गत आर्थिक वर्षको सञ्चालक समितिको प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदन पारित गर्नेछ । साथै, चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्तावसमेत पारित गर्नेछ । सभाले सञ्चालकहरूको बैठक भत्ता अनुमोदन गर्ने, सञ्चालक समितिको संरचना संशोधन गर्न नियमावली संशोधन तथा नियामकबाट प्राप्त निर्देशन बमोजिम आवश्यक फेरबदल गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्तावसमेत पारित गर्नेछ ।
कुमारी बैंकले असोज २८ गते डाक्यो २६औं सभा, लाभांश पारित गर्ने
काठमाडौं । लाभांश प्रस्ताव पारित गर्न कुमारी बैंकले वार्षिक साधारण सभा बोलाएको छ । बैंक सञ्चालक समितिको असोज ६ गते बसेको बैठकले असोज २८ गते बिहान ११ बजे काठमाडौंस्थित सिल्भरओक ब्याङ्क्वेटमा २६औं वार्षिक साधारण सभा बोलाएको हो । सभाले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजी २६ अर्ब २२ करोड ५८ लाख ६१ हजार रुपैयाँको करसहित २.१० प्रतिशतका दरले ५५ करोड २१ लाख ३३ हजार रुपैयाँ नगद लाभांश प्रस्ताव पारित गर्नेछ । यस्तै, सभाले गत आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन तथा सहायक कम्पनी कुमारी क्यापिटल र केबिएल सेक्युरिटीजको वित्तीय विवरणसहित बैंकको एकीकृत वित्तीय विवरण पारित गर्नेछ । सभाले चालु आर्थिक वर्ष २०८३/८४ का लागि बाह्य लेखापरीक्षक नियुक्त तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्तावसमेत पारित गर्नेछ । लाभांश तथा साधारण सभा प्रयोजनार्थ बैंकले असोज १९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले असोज १६ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भइ कायम सेयरधनीहरूले साधारण सभामा सहभागी भई लाभांश प्राप्त गर्न सक्नेछन् ।
मुक्तिनाथ म्युचुअल फण्ड–२ मा आवेदन दिने समय थपियो
काठमाडौं । मुक्तिनाथ क्यापिटलले निष्कासन गरेको मुक्तिनाथ म्युचुअल फण्ड-२ मा आवेदन दिने समय थपिएको छ । असोज १ गतेदेखि बिक्री खुला गरिएको उक्त योजनामा लगानीकर्ताले असोज १५ गतेसम्म आवेदन दिन सक्ने भएका छन् । यद्यपि, मागभन्दा बढी आवेदन परेमा तोकिएको अवधिभन्दा अगावै निष्कासन तथा बिक्री बन्द गरिने क्यापिटलले जनाएको छ । मुक्तिनाथ विकास बैंक कोष प्रवर्द्धक र मुक्तिनाथ क्यापिटल योजना व्यवस्थापक रहेको यस योजनाले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका कुल १० करोड इकाई बिक्री खुला गरेको हो । क्यापिटलले कुल १ अर्ब रुपैयाँ बराबरको इकाई निष्कासन गरेको छ । कुल इकाईमध्ये १३ प्रतिशत अर्थात् १ करोड ३० लाख इकाई कोष प्रवद्र्धक मुक्तिनाथ विकास बैंकका लागि र २ प्रतिशत अर्थात् २० लाख इकाई योजना व्यवस्थापक मुक्तिनाथ क्यापिटलका लागि सुरक्षित गरिएको छ । बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि बिक्री खुला गरिएको क्यापिटलले जनाएको छ । उक्त योजनामा न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्मका लागि आवेदन दिन सकिनेछ । इकाई खरिदका लागि नेपाल धितोपत्र बोर्डबाट आस्बा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाका साथै ‘मेरो सेयर’मार्फत आवेदन दिन सकिनेछ । यस योजनाको निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ ।
एनआईसी एशियाको इक्विटी अपोर्चुनिटी फण्ड बिक्री खुला, कति आवेदन दिने ?
काठमाडौं । एनआईसी एशिया क्यापिटलले आज असोज ७ गतेदेखि ‘एनआईसी एशिया इक्विटी अपोर्चुनिटी फण्ड’को इकाई निष्काशन तथा बिक्री खुला गरेको छ । एनआईसी एशिया बैंक कोष प्रवद्र्धक र एनआईसी एशिया क्यापिटल योजना व्यवस्थापक रहेको एनआईसी एशिया बैंक म्युचुअल फण्डअन्तर्गत सञ्चालित यस योजनाले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका कुल ८ करोड इकाई निष्काशन गरेको हो । कुल निष्काशित इकाईमध्ये १५ प्रतिशत अर्थात् १ करोड २० लाख इकाई कोष प्रवद्र्धक एनआईसी एशिया बैंकका लागि सुरक्षित गरिएको छ । बाँकी ६ करोड ८० लाख इकाई सर्वसाधारणका लागि बिक्री खुला गरिएके कम्पनीले जनाएको छ । उक्त फण्डमा न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्मका लागि आवेदन दिन सकिनेछ । लगानीकर्ताले असोज १३ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिसम्म मागअनुसार आवेदन नपरेमा निष्काशन अवधि असोज २१ गतेसम्म थप गरिने कम्पनीले जनाएको छ । इकाई खरिदका लागि धितोपत्र बोर्डबाट आस्बा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ । यस योजनाको निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल रहेको छ ।
लाभांश पारित गर्न सिटिजन्स बैंकले असोज २८ गते डाक्यो साधारण सभा
काठमाडौं । लाभांश प्रस्ताव पारित गर्न सिटिजन्स बैंकले वार्षिक साधारण सभा बोलाएको छ । बैंक सञ्चालक समितिको असोज ६ गते बसेको बैठकले असोज २८ गते बिहान ११ बजे काठमाडौंको डिल्लीबजार कालिकास्थानस्थित अमृतभोगमा २०औँ वार्षिक साधारण सभा बोलाएको हो । सभाले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजी १५ अर्ब ५० करोड ७४ लाख ६३ हजार रुपैयाँको ३.८० प्रतिशतका दरले ५८ करोड ९२ लाख ८३ हजार रुपैयाँ बोनस सेयर तथा कर प्रयोजनका लागि ०.२० प्रतिशतका दरले ३ करोड १० लाख १४ हजार रुपैयाँ नगद लाभांश गरी कुल ४ प्रतिशत अर्थात् ६२ करोड २ लाख ९८ हजार रुपैयाँ लाभांश प्रस्ताव पारित गर्नेछ । यस्तै, सभाले गत आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन तथा सहायक कम्पनीको वित्तीय विवरणसहित बैंकको एकीकृत वित्तीय विवरण पारित गर्नेछ । सभाले चालु आर्थिक वर्ष २०८३/८४ का लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्तावसमेत पारित गर्नेछ । साथै, बोनस सेयर वितरणपछि कायम हुने बैंकको जारी तथा चुक्ता पुँजी वृद्धि गर्न प्रबन्धपत्रमा संशोधन गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ । बैंकको प्रबन्धपत्रमा आवश्यक संशोधनका लागि नियामकबाट प्राप्त हुने निर्देशन बमोजिम कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्तावसमेत सभामा पेश हुनेछ । लाभांश तथा साधारण सभा प्रयोजनका लागि बैंकले असोज १९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले असोज १६ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भई कायम रहेका सेयरधनीले साधारण सभामा सहभागी हुनुका साथै प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् ।
राजनीतिक कार्यक्रममा सहभागी शिक्षकमाथि निगरानी र कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन
काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरू राजनीतिक दलका कार्यक्रममा सहभागी भएको विषयमा निगरानी बढाउँदै कानुनअनुसार आवश्यक कारबाही गर्न ७७ वटै शिक्षा विकास तथा समन्वय एकाइलाई निर्देशन दिएको छ । मन्त्रालयको विद्यालय शिक्षा शाखाले आज जारी गरेको निर्देशनमा बैतडी, बाग्लुङ, सिन्धुली, सिन्धुपाल्चोक, मुगु, रौतहट, सल्यानलगायत जिल्लाका विभिन्न सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरू राजनीतिक दलका कार्यक्रममा सहभागी भएको समाचार सामाजिक सञ्जाल तथा सञ्चारमाध्यमबाट सार्वजनिक भइरहेको उल्लेख गरिएको छ । मन्त्रालयले शिक्षकहरूको यस्तो गतिविधि शिक्षा नियमावली, २०५९ को नियम १३३ को उपनियम (१) को खण्ड (ग) विपरीत हुने जनाएको छ । निर्देशनमा त्यस्ता गतिविधिबारे थप खोजबिन तथा निगरानी गर्न र सम्बन्धित स्थानीय तहसँग समन्वय गरी आचारसंहिता उल्लङ्घन गर्ने शिक्षकलाई नियम १३७ को खण्ड (ग) तथा नियम १४३ बमोजिम आवश्यक कारबाहीको व्यवस्था गर्न भनिएको छ । मन्त्रालयका उपसचिव लिलानाथ पोखेलद्वारा हस्ताक्षरित पत्रमा उक्त निर्देशन मन्त्रालयको २०८३ असोज ६ गतेको निर्णयअनुसार जारी गरिएको उल्लेख छ । निर्देशनको बोधार्थ शिक्षा विभागलाई समेत दिइएको छ ।
एकता होटल व्यवसायी संघले ३ लाख बढी आर्थिक सहायतासहित ५१ जनालाई रोजगारीको घोषणा
काठमाडौं । एकता होटल तथा गेष्ट हाउस व्यवसायी संघ, नेपालले गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढी तथा पहिरोबाट प्रभावित होटल तथा पर्यटन व्यवसायी एवं पीडित परिवारका लागि ३ लाख १ हजार १ सय ११ रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ । संघले संकलन गरेको उक्त सहयोग रकमको चेक संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेल (गणेश) लाई उनकै कार्यकक्षमा हस्तान्तरण गरेको हो । चेक संघका अध्यक्ष सरोज आले, उपाध्यक्ष प्रज्वल श्रेष्ठ, महासचिव लालबहादुर बानियाँ (अनिश), कोषाध्यक्ष एकदेव पाण्डे (सन्दीप) तथा सदस्य खेम घिमिरेको उपस्थितिमा हस्तान्तरण गरिएको थियो । चेक हस्तान्तरणका क्रममा संघका अध्यक्ष सरोज आलेले पछिल्लो समय आएको बाढी तथा पहिरोका कारण होटल तथा पर्यटन व्यवसाय क्षेत्रमा परेको गम्भीर असरबारे मन्त्री पौडेललाई जानकारी गराए । साथै, आगामी असोज ८ गतेदेखि १२ गतेसम्म भारी वर्षा हुने पूर्वानुमानसँग सम्बन्धित समाचार तथा सूचनाका कारण पर्यटन व्यवसायमा थप नकारात्मक असर पर्न सक्ने अवस्था रहेको भन्दै अध्यक्ष आलेले यसतर्फ सम्बन्धित निकायको विशेष ध्यानाकर्षण गराए । उनले नेपाल सुरक्षित गन्तव्य हो भन्ने सकारात्मक सन्देश प्रवाह गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड तथा सम्बन्धित सरकारी निकायमार्फत नेपालका प्रमुख पर्यटकीय गन्तव्यहरू सुरक्षित छन् भन्ने सन्देशमूलक भिडियो तथा सूचना सामग्री सार्वजनिक गर्नुपर्ने आवश्यकता रहेको बताए । यसबाट नेपाल भ्रमणमा आउने विदेशी तथा स्वदेशी पर्यटकमा रहेको सम्भावित अन्योल हटाउन तथा पर्यटन क्षेत्रलाई पुनः चलायमान बनाउन सहयोग पुग्ने उनको भनाइ थियो । सो अवसरमा अध्यक्ष आलेले बाढी तथा विपद्का कारण होटल, गेष्ट हाउस, रेष्टुरेन्ट तथा पर्यटन व्यवसायीहरूले भोग्नुपरेका समस्या, व्यवसायमा पुगेको क्षति तथा पीडित व्यवसायी र उनीहरूका परिवारको वर्तमान अवस्थाबारे समेत मन्त्री पौडेललाई जानकारी गराए । साथै, प्रभावित व्यवसायीको पुनःस्थापना तथा पर्यटन व्यवसायलाई पूर्ववत् अवस्थामा फर्काउन सरकारको सहयोग आवश्यक रहेको बताए । यसै क्रममा अध्यक्ष आलेले एयरपोर्टको पार्किङभित्र देखिएका समस्या, पिङ्गलास्थान तथा गौशाला आसपासमा देखिएका विभिन्न बेथिति तथा पर्यटन व्यवसायसँग सम्बन्धित केही नीतिगत समस्याहरूका विषयमा समेत मन्त्रीको ध्यानाकर्षण गराएका थिए । आर्थिक सहयोगसँगै संघले बाढीबाट प्रभावित ५१ जना पीडित परिवारका सदस्यलाई तत्कालका लागि संघमा आबद्ध होटल तथा गेष्ट हाउस व्यवसायीमार्फत रोजगारीको अवसर उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । विपद्का कारण रोजगारी तथा आयआर्जनको स्रोत गुमाएका परिवारका सदस्यलाई कामको अवसर प्रदान गरी उनीहरूको दैनिक जीवनयापनमा सहयोग पुर्याउने उद्देश्यले उक्त पहल अघि बढाइएको संघले जनाएको छ । संघका अध्यक्ष आलेले विपद्को समयमा पीडित व्यवसायी तथा परिवारलाई आर्थिक सहयोग मात्र पर्याप्त नहुने भन्दै रोजगारीको अवसर, पुनःस्थापना र व्यवसाय पुनःसञ्चालनका लागि आवश्यक वातावरण निर्माण गर्नु पनि उत्तिकै महत्वपूर्ण रहेको बताए । एकता होटल तथा गेष्ट हाउस व्यवसायी संघ नेपालले बाढी तथा पहिरोबाट प्रभावित होटल, गेष्ट हाउस, रेष्टुरेन्ट तथा पर्यटन व्यवसायीहरूको वास्तविक क्षतिको सम्बोधन, राहत, पुनःस्थापना तथा व्यवसाय पुनरुत्थानका लागि आवश्यक पहल गर्न नेपाल सरकार तथा सम्बन्धित निकायसँग आग्रह गरेको छ । संघले आगामी दिनमा पनि व्यवसायीको हितसँगै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै विपद्मा परेका व्यवसायी तथा प्रभावित परिवारको साथमा रहने प्रतिबद्धता व्यक्त गरेको छ । राहतसँगै रोजगारीको अवसर सिर्जना गर्ने यो पहलले प्रभावित परिवारलाई तत्कालको कठिन परिस्थितिबाट माथि उठ्न तथा आत्मनिर्भर बन्न सहयोग पुग्ने संघको विश्वास छ ।
प्रधानमन्त्रीको राष्ट्रसंघ भ्रमणप्रति सभापति लामिछानेले शुभकामना दिँदै भने- अन्तर्राष्ट्रिय मञ्चमा राष्ट्रिय हित सशक्त रूपमा प्रस्तुत होस्
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका प्रस्थान गरेका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)लाई शुभकामना व्यक्त गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना सन्देश जारी गर्दै सभापति लामिछानेले नेपालको राष्ट्रिय हित र सरोकारका विषयहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा उठाउन आग्रह गरेका हुन् । उनले फेसबुकमा लेखेका छन्, ‘संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्न संयुक्त राज्य अमेरिका प्रस्थान गर्नुभएका सम्माननीय प्रधानमन्त्रीज्यूलाई हार्दिक शुभकामना । नेपालको राष्ट्रिय हित र हाम्रा सरोकारका सबै विषयहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा प्रस्तुत गर्न यो भ्रमण अर्थपूर्ण र सफल होस् । ’ प्रधानमन्त्री नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्युयोर्क प्रस्थान गरेपछि भ्रमणको सफलताको कामना गर्ने क्रममा लामिछानेको यो अभिव्यक्ति आएको हो ।