काठमाडौं । नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्न आवश्यक पर्ने एन–ट्याग अब सानिमा बैंकका देशभरका शाखाबाट लिन सकिने भएको छ ।
सानिमा बैंकले नागढुङ्गा सुरुङमार्गमा प्रयोग हुने रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन (आरएफआईडी) प्रविधिमा आधारित एन–ट्याग वितरण सुरु गरेको हो ।
सडक बोर्ड नेपालद्वारा सञ्चालित उक्त सुरुङमार्गमा टोल भुक्तानीका लागि विद्युतीय टोल सङ्कलन प्रणाली लागू गरिएको छ । सवारीसाधनको अगाडिको सिसामा टाँसिने एन–ट्यागलाई सुरुङमार्गको प्रवेश तथा निकास गेटमा जडान गरिएका उपकरणले स्वतः पहिचान गर्नेछन् । त्यसपछि टोल शुल्क सम्बन्धित ट्यागबाटै कट्टा हुने भएकाले यात्रुले नगद भुक्तानीका लागि लाइनमा बस्नुपर्ने छैन ।
बैंकका अनुसार सवारीधनीले सानिमा बैंकको देशभर रहेका जुनसुकै शाखाबाट एन–ट्याग लिन सक्नेछन् । एन–ट्यागमा इसेवा, फोनपे, खल्ती तथा बैंकको मोबाइल बैंकिङ सेवामार्फत रकम रिचार्ज गर्न सकिनेछ ।
यस सेवाले काठमाडौं उपत्यकाबाहिरका सवारीधनीलाई समेत आफ्नै नजिकको शाखाबाट एन–ट्याग लिन सहज हुने बैंकले जनाएको छ ।
सानिमा बैंकका प्रमुख निक्षेप अधिकृत हेमराज सञ्ज्यालले राष्ट्रिय पूर्वाधारमा डिजिटल भुक्तानी प्रणालीको सहजीकरण गर्न पाउनु गौरवको विषय भएको बताए । उनले बैंकको फराकिलो शाखा सञ्जालमार्फत सर्वसाधारणसम्म यो सेवा पुर्याउन प्रतिबद्ध रहेको पनि बताए ।
एन–ट्याग तथा यससम्बन्धी थप जानकारीका लागि सानिमा बैंकको नजिकैको शाखा वा ग्राहक सेवा नम्बर ९८४७६९४५१० मा सम्पर्क गर्न सकिने बैंकले जनाएको छ ।