काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूह गुल्मीको जिल्ला सभापतिमा वेदबहादुर थापा निर्विरोध निर्वाचित भएका छन् ।
पार्टीको १५औं महाधिवेशनअन्तर्गत जिल्ला सदरमुकाम तम्घासमा सम्पन्न अधिवेशनले थापाको नेतृत्वमा सिंगो कार्यसमिति नै सर्वसम्मत चयन गरेको हो ।
अधिवेशनबाट जिल्ला उपसभापतिमा मार्कण्डेय भण्डारी र कृष्णबहादुर थापा निर्वाचित भएका छन् । त्यस्तै, सचिवमा रविन्द्र घिमिरे निर्विरोध चयन भएका छन् ।
जिल्ला कार्यसमितिका अन्य पदाधिकारी तथा सदस्यसमेत निर्विरोध निर्वाचित भएको सचिव घिमिरेले जानकारी दिए ।
अधिवेशनले पार्टीका पूर्व जिल्ला सभापति सुरेश भुसाल तथा पूर्वसांसदहरू झकबहादुर पुन र सुवर्ण ज्वारचनलाई महाधिवेशन प्रतिनिधि चयन गरेको घिमिरेले जानकारी दिए ।
घिमिरेका अनुसार जिल्लाका दुई निर्वाचन क्षेत्रबाट कुल समावेशि सहित ७० जना महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् ।
महाधिवेशन प्रतिनिधिमा सुदर्शन गौतम, योगराज कँडेल, ज्ञानबहादुर कार्की, कृष्णप्रसाद खरेल र पूर्णबहादुर केसीलगायत रहेको घिमिरेले जानकारी दिए ।