विकासन्युज

प्रभु बैंकको रक्तदान कार्यक्रमबाट ३२१ पिन्ट रगत संकलन

काठमाडौं । प्राकृतिक विपद् तथा बाढीबाट प्रभावित घाइतेलाई सहयोग पुर्‍याउने उद्देश्यले प्रभु बैंक लिमिटेडले देशका सातै प्रदेशमा रक्तदान कार्यक्रम सञ्चालन गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा बुधबार २०८३ भदौ ३० गते एकैसाथ रक्तदान कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा बैंकको केन्द्रीय कार्यालयसहित सातै प्रदेशका आठ शाखा सहभागी भएका थिए । बागमती प्रदेशमा बैंकको केन्द्रीय कार्यालय बबरमहल र नारायणगढ शाखा, कोशी प्रदेशमा विराटनगर शाखा, मधेस प्रदेशमा सिमरा शाखा, गण्डकी प्रदेशमा अमरसिंहचोक शाखा पोखरा, लुम्बिनी प्रदेशमा बुटवल शाखा, कर्णाली प्रदेशमा सुर्खेत शाखा र सुदूरपश्चिम प्रदेशमा धनगढी शाखामा रक्तदान कार्यक्रम सञ्चालन गरिएको थियो । उक्त कार्यक्रममा विभिन्न प्रदेशबाट गरी ३२१ पिन्ट रगत संकलन भएको बैंकले जनाएको छ । प्रभु बैंकले यसअघि पनि बाढीबाट प्रभावित तथा घरबारविहीन परिवारलाई राहत पुर्‍याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत २ करोड ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेको थियो । त्यसैगरी बैंकका सञ्चालक तथा कर्मचारीले स्वेच्छिक रूपमा संकलन गरेको ४० लाख ८० हजार ५० रुपैयाँ समेत कोषमा सहयोग गरिएको बैंकले जनाएको छ । यस्तै, बाढी प्रभावित परिवारलाई राहत उपलब्ध गराउन बैंकले १०० थान टेन्ट र १०० थान स्लिपिङ ब्याग जिल्ला प्रशासन कार्यालय, नुवाकोटलाई हस्तान्तरण गरेको थियो । प्राकृतिक विपद्का कारण ज्यान गुमाएका स्वदेशी तथा विदेशी नागरिकप्रति बैंकले श्रद्धाञ्जली व्यक्त गर्दै सम्पर्कविहीन नागरिकको शीघ्र उद्धार तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । बैंकले विपद्को कठिन अवस्थामा प्रभावित नागरिक तथा समुदायको राहत, उद्धार र पुनःस्थापनाका लागि आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गतका सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।

विमानस्थल छिर्न खोज्ने जिसी पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अर्कै व्यक्तिको प्रवेश पास प्रयोग गरी प्रवेश गर्न खोज्ने एक व्यक्ति नियन्त्रणमा परेका छन्। मंगलबार विमानस्थल सुरक्षा जाँचका क्रममा नागरिक उड्डयन प्राधिकरणबाट जारी भएको शशी थापाको प्रवेश पास लिएर विमानस्थलभित्र प्रवेश गर्न खोज्ने प्रशान्त जिसी पक्राउ परेका हुन् । प्रहरीका अनुसार जिसीले प्रवेश पास नम्बर ०६४१६ प्रयोग गरी विमानस्थलभित्र प्रवेश गर्न खोजेका थिए। शंका लागेपछि उनलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि नागरिक उड्डयन प्राधिकरणअन्तर्गतको टर्मिनल ड्युटी अधिकृतको कार्यालय, गौचरमा बुझाइएको प्रहरीले जनाएको छ । जिसी कीर्तिपुर नगरपालिका–६ का रहेको प्रहरीले उल्लेख गरेको छ ।

अष्ट्रेलिया पठाउन लागिएको १ हजार ४१० प्याकेट चुरोट नियन्त्रण

काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद गरेको छ ।  विमानस्थलबाट ठूलो परिमाणमा चुरोट पठाउन लागेको अवस्थामा चेकजाँचका क्रममा प्रहरीले नियन्त्रणमा लिएको हो । विमानस्थल सुरक्षा कार्यालय गौचरका अनुसार अन्तर्राष्ट्रिय उडानतर्फको कार्गो परिसरमा नियमित सुरक्षा जाँचका क्रममा दुई वटा कार्टुन शंकास्पद देखिएपछि थप जाँच गरिएको थियो।  जाँचका क्रममा नयाँ बजारस्थित स्काई किङ लजिस्टिकका सञ्चालक सुवास कुँवरमार्फत अष्ट्रेलिया पठाउन लागिएको उक्त कार्टुनबाट ‘शिखर आइस रुस’ लेखिएको चुरोट बरामद भएको हो। बरामद चुरोट १२६ बन्डल रहेको र प्रत्येक बन्डलमा १० प्याकेटका दरले जम्मा १ हजार २६० प्याकेट रहेको प्रहरीले जनाएको छ। त्यस्तै, गौश्वारा हुलाक कार्यालय डिल्लीबजारमार्फत सगुन खड्काले कमलराज कार्कीको नाममा अष्ट्रेलिया पठाउन लागेको कार्गो सामान पनि विमानस्थलमा जाँचका क्रममा शंकास्पद देखिएको थियो। थप जाँच गर्दा उक्त सामानबाट ‘शिखर आइस रुस’ चुरोटका १५ बन्डल अर्थात् १५० प्याकेट बरामद भएको प्रहरीले जनाएको छ। दुवै घटनामा बरामद भएको कुल १ हजार ४१० प्याकेट अवैध चुरोट आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता राजकुमार सिलवालले जानकारी दिए ।

राति बत्ती बालेर सुत्ने बानी छ ? मुटुमा पर्नसक्छ यस्तो असर

काठमाडौं । राति सुत्दा कोठामा बत्ती बालेर सुत्ने वा मोबाइलको स्क्रिन धेरै प्रयोग गर्ने बानीले स्वास्थ्यमा गम्भीर असर पार्नसक्ने एक अध्ययनले देखाएको छ । विशेषगरी यस्तो बानीले मुटुको संरचना र कार्यक्षमतामा असर पार्दै विभिन्न हृदयसम्बन्धी रोगको जोखिम बढाउन सक्ने शोधकर्ताहरूले बताएका छन् । युरोपियन हार्ट जर्नलमा सेप्टेम्बर ९ मा प्रकाशित अध्ययनमा ११ हजारभन्दा बढी मानिसलाई सहभागी गराइएको थियो । अध्ययनमा राति सुत्ने समयमा प्रकाशको सम्पर्कमा रहने मानिसको मुटुको संरचना र कार्यक्षमतामा परिवर्तन देखिएको उल्लेख छ । अध्ययनका अनुसार राति सुत्दा ३ लक्सभन्दा बढी प्रकाशको सम्पर्कमा रहनु स्वास्थ्यका लागि जोखिमपूर्ण हुन सक्छ । ३ लक्सलाई सामान्यतया चन्द्रमाको उज्यालोसँग तुलना गर्न सकिन्छ । अध्ययनमा केही सहभागीलाई प्रकाश मापन गर्ने उपकरण लगाएर सुताइएको थियो भने केहीलाई पूर्ण अँध्यारोमा सुताइएको थियो । करिब तीन वर्षपछि गरिएको मुटुको एमआरआई परीक्षणमा राति प्रकाशमा सुत्ने व्यक्तिको मुटुको संरचना र कार्यक्षमतामा उल्लेख्य परिवर्तन देखिएको थियो । यसमा कोठाको बत्ती, नाइट बल्ब तथा मोबाइलको स्क्रिनबाट आउने प्रकाशसमेत समावेश गरिएको थियो ।  शोधकर्ताहरूका अनुसार राति प्रकाशको सम्पर्कमा रहँदा मुटुको संरचनामा परिवर्तन आउन सक्छ । यसले हृदयघात, मुटु कमजोर हुने समस्या, मुटुको धड्कन अनियमित हुने समस्या, स्ट्रोक तथा मुटुसम्बन्धी रोगका कारण मृत्यु हुने जोखिम बढाउन सक्ने देखिएको छ । विशेषगरी राति अत्यधिक प्रकाशमा सुत्ने मानिसको मुटुको बायाँ भेन्ट्रिकलको भित्तामा सूजन तथा मोटोपन देखिएको अध्ययनमा उल्लेख छ । यसले मुटुको कोठाभित्रको ठाउँ कम गराउनुका साथै प्रभावकारी रूपमा रगत पम्प गर्ने क्षमता घटाउन सक्छ । यस्तै, मुटुको दायाँ भेन्ट्रिकल र बायाँ एट्रियममा समेत परिवर्तन देखिएको शोधकर्ताहरूले बताएका छन् ।  किन हुन्छ यस्तो ? अध्ययनका प्रमुख शोधकर्ता प्रोफेसर लु क्यूईका अनुसार राति अत्यधिक प्रकाशको सम्पर्कमा रहनु प्रकाश प्रदूषणको एक हिस्सा हो । यस्तो प्रकाशको सम्पर्कले मुटुको संरचना र कार्यक्षमतामा परिवर्तन ल्याउन सक्ने उनको भनाइ छ । लामो समयसम्म तनाव वा चोटका कारण मुटुको संरचना परिवर्तन हुँदै जाँदा त्यसलाई कार्डियाक रिमोडलिङ भनिन्छ । यस्तो परिवर्तनले समयसँगै मुटुको कार्यक्षमता कमजोर बनाउन सक्छ र हृदयघात तथा मुटु कमजोर हुने समस्या निम्त्याउन सक्छ । त्यसैले विशेषज्ञहरूले राति सुत्दा कोठामा अनावश्यक बत्ती नबाल्ने, मोबाइल तथा अन्य विद्युतीय उपकरणको स्क्रिन प्रयोग कम गर्ने र सकेसम्म अँध्यारो वातावरणमा सुत्ने सुझाव दिएका छन् ।

कृष्णभीरमा पाखो ताछेर ‘फेरि ठूलो विपत्ति निम्त्याउने जोखिम’ : माटोविज्ञ न्यौपाने

काठमाडौं । बाढीपहिरोका कारण क्षतिग्रस्त पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीर खण्डमा सडक विभागले असोज १ गतेदेखि दुईतर्फी सवारी सञ्चालन गर्ने तयारी गरिरहेको छ । तर भू–प्राविधिक विज्ञले भने हाल पाखो काटेर बनाइँदै गरेको अस्थायी सडकलाई दीर्घकालीन समाधानका रूपमा लिन नहुने बताएका छन्  । बाढीपछि नदीले सडकको तल्लो भाग कटान गरेपछि कृष्णभीरमा सडक सञ्चालनका लागि माथिल्लो भागको पाखो काटेर अस्थायी सडक निर्माण भइरहेको छ । सडक विभागले तत्काल यातायात सञ्चालन सहज बनाउन उक्त विकल्प अघि बढाएको हो । तर भू–प्राविधिक इन्जिनियर उदयराज न्यौपानेले कृष्णभीरको भौगोलिक अवस्था नै संवेदनशील रहेकाले सडक निर्माण गर्दा जमिनको अवस्था र नदी कटानलाई मुख्य आधार बनाउनुपर्ने बताए । न्यौपानेले कृष्णभीरको सडक रहेको स्थान सामान्य बलियो चट्टानी भूभाग नभई नदी तथा पहिरोले थुपारेको पदार्थमाथि रहेको बताए । उनका अनुसार सडकको तलबाट नदीले निरन्तर कटान गरिरहेको अवस्थामा माथिल्लो भाग काटेर सडक बनाउँदा जोखिमको प्राविधिक मूल्याङ्कन आवश्यक हुन्छ । ‘लगभग हामी डिपोजिटमै रोड छौँ । तलबाट खोलाले काटिरहेको छ । पहाड, चट्टान पनि त्यति राम्रो छैन,’ उनले भने । नदीको कटानका कारण सडकको तल्लो भाग कमजोर हुँदै गएको अवस्थामा माथिल्लो भागमा गरिने कटानले भू–भागको स्थिरतामा दखल हुनसक्ने उनको भनाइ छ । कृष्णभीरको समस्या केवल सडक भत्किएको वा सडकको चौडाइ घटेको विषय नभई त्यसको तल रहेको जमिन र नदीको बहावसँग जोडिएको उनले बताए । ‘तलबाट खोला यति ठूलो मात्रामा हिट गरेपछि तलको काटिदिएपछि यो झर्ने त भइहाल्यो । धन्न पुरै झरेन,’ न्यौपानेले भने । सडक विभागका अनुसार बाढीपछि पृथ्वी राजमार्गका विभिन्न स्थानमा क्षति पुगेको छ । त्यसक्रममा नदीले सडकको तल्लो भाग कटान गरेपछि परेवाभीर, कृष्णभीरलगायतका स्थानमा थप समस्या आएको थियो । कृष्णभीर पुरानो सक्रिय पहिरो क्षेत्रसमेत भएकाले सडक विभागले विज्ञ तथा नेपाल जियोटेक्निकल सोसाइटीसँग परामर्श गरेर पहिरोको साइडबाट पाखो काटी अस्थायी सडक निर्माण गर्ने निर्णय गरेको हो । सडक विभागका योजना तथा अनुगमन महाशाखाका उपमहानिर्देशक शुभराज न्यौपानेका अनुसार अस्थायी सडकको एकतर्फी ट्र्याकमा ग्यासका बुलेटलगायतका सवारीसाधन परीक्षण गरिसकिएको छ । सडकमा ग्राभेल राख्ने, सतहमुनिको पानी व्यवस्थापन गर्ने, फ्रेन्च ड्रेन निर्माण गर्ने तथा पानी निकासका लागि होरिजोन्टल ड्रिलिङ गर्ने काम बाँकी रहेको उनले बताए । विभागले असोज १ गतेदेखि दुईतर्फी सवारी सञ्चालनको तयारी गरे पनि पहिरो वा अन्य प्राविधिक समस्या देखिएमा अवस्थाअनुसार निर्णय गरिने जनाएको छ । वर्षा र बाढीको अवस्था सामान्य भएपछि कृष्णभीरको विस्तृत प्राविधिक अध्ययन गरी आवश्यक मर्मत तथा पुनर्निर्माण अघि बढाउने विभागको योजना छ । तर न्यौपानेका अनुसार तत्काल यातायात सञ्चालन गर्नु र दीर्घकालीन रूपमा सडकलाई सुरक्षित बनाउनु फरक विषय हुन् । अहिलेको अस्थायी सडकले यातायातको समस्या समाधान गर्न सक्ने भए पनि कृष्णभीरको भौगोलिक जोखिमलाई भने स्थायी रूपमा समाधान गर्न नसक्ने उनको भनाइ छ । उनले कृष्णभीरमा सडक निर्माणको दीर्घकालीन विकल्पका रूपमा सुरुङ वा वैकल्पिक संरचनाबारे गम्भीर अध्ययन गर्नुपर्ने बताए । ‘अरू दीर्घकालीन उपाय भनेको कि टनेलमा जानुपर्‍यो । कि पारी एउटा पुल हाल्नुपर्‍यो र तलपट्टिको कनेक्सन बनाउनुपर्‍यो,’ उनले भने । कृष्णभीरमा कुन विकल्प उपयुक्त हुन्छ भन्ने विषय भने विस्तृत भू–प्राविधिक अध्ययनपछि मात्रै निर्धारण गर्नुपर्ने न्यौपानेको भनाइ छ । तत्काल सडक खोल्नुपर्ने आवश्यकता भए पनि भविष्यमा पुनः सोही ठाउँमा सडक क्षति हुने अवस्था दोहोरिन नदिन संरचनाको दीर्घकालीन स्थायित्व, जोखिम र लागत सबैलाई एकैपटक हेर्नुपर्ने उनले बताए । ‘कुन चाहिँ फिजिबल छ, कुन रिजिलियन्ट छ, कुन भायबल छ, त्यो पत्ता लगाएर काम हामीले गर्नै पर्छ,’ न्यौपानेले भने । उनका अनुसार कृष्णभीर सामान्य सडकखण्ड मात्र नभई मुलुकको प्रमुख यातायात सञ्जालसँग जोडिएको महत्वपूर्ण मार्ग हो । पटक–पटक पहिरो र सडक अवरोधको समस्या देखिँदै आएको यस क्षेत्रमा हरेकपटक तत्काल सडक खुलाउनेभन्दा दीर्घकालीन समाधानतर्फ जानुपर्ने आवश्यकता रहेको उनले बताए । ‘यो हाम्रो लाइफलाइन रोड हो । बारम्बार समस्या आइरहेको छ भने त्यसलाई दीर्घकालीन रूपमा सोच्नुपर्छ,’ उनले भने । कृष्णभीरको अहिलेको अवस्था बाढीपहिरोपछि सडक पुनः सञ्चालन गर्ने नेपालको परम्परागत अभ्यास र पूर्वाधारलाई जलवायु तथा प्राकृतिक विपद्का नयाँ जोखिमअनुसार पुनः डिजाइन गर्ने आवश्यकताबीचको उदाहरणसमेत बनेको न्यौपानेको भनाइ छ । उनका अनुसार सडक बनाउँदा केवल अहिलेको अवस्थालाई हेरेर संरचना तयार गर्नेभन्दा नदीको सम्भावित कटान, पहिरोको सक्रियता, जमिनको प्रकृति र भविष्यमा आउन सक्ने ठूलो बाढीको प्रभावसमेत अध्ययन गर्नुपर्छ । विशेष गरी पहाडी क्षेत्रमा सडकको तलबाट हुने नदी कटानलाई बेवास्ता गरेर माथिल्लो भागमा मात्रै संरचना थप्दा समस्या एक ठाउँबाट अर्को ठाउँमा सर्नसक्ने जोखिम रहने उनले बताए । कृष्णभीरमा अहिले अस्थायी सडक निर्माण गरेर यातायात सञ्चालन गर्ने तयारी भइरहेको भए पनि त्यसलाई अन्तिम समाधानका रूपमा नलिई विस्तृत भू–प्राविधिक अध्ययनबाट सुरक्षित र दीर्घकालीन विकल्प छनोट गर्नुपर्ने उनको सुझाव छ । ‘हामीले दीर्घकालीन सोच्नैपर्छ । यो लाइफलाइन हो । पटक–पटक समस्या भइरहेको ठाउँमा फेरि त्यही तरिकाले मात्रै सोच्यौँ भने दीर्घकालमा समस्या समाधान हुँदैन,’ न्यौपानेले भने । सडक विभागले भने तत्काल यातायात सञ्चालनका लागि अस्थायी व्यवस्थासँगै वर्षायामपछि विस्तृत प्राविधिक अध्ययन गर्ने जनाएको छ ।

विशेष महाधिवेशनविरुद्ध देउवा, भन्छन्- ‘मूकदर्शक भएर बस्दिनँ’

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति शेरबहादुर देउवाले पार्टीको विधि, विधान र पद्धतिविपरीत हुने कुनै पनि गतिविधिबाट कांग्रेसलाई कमजोर वा विभाजित हुन नदिने बताएका छन् ।  देउवाले सार्वजनिक रूपमा अपिल जारी गर्दै यस्तो बताएका हुन् । विशेष महाधिवेशनको वैधता सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा त्यसको अन्तिम निरुपण नहुँदै महाधिवेशनको प्रक्रिया अघि बढाउनु उपयुक्त नहुने उनको भनाइ छ । उनले पार्टीलाई कमजोर बनाउने गरी अवैधानिक महाधिवेशन गरिए आफू मूकदर्शक भएर बस्न नसक्ने चेतावनी दिएका छन् ।  साथै उनले कांग्रेसका नेता तथा कार्यकर्तालाई आगामी मंसिर २१, २२ र २३ गते हुने १५औं महाधिवेशनको तयारीमा एकताबद्ध भएर जुट्न अपिल गरेका छन् । देउवाले नेपाली कांग्रेसभित्र बढ्दै गएको आन्तरिक मतभेदप्रति पनि गम्भीर चिन्ता व्यक्त गरेका छन् । उनले कांग्रेस केवल एउटा राजनीतिक दल नभई आधुनिक नेपाल निर्माणको प्रमुख आधारस्तम्भ भएको उल्लेख गर्दै २००७ सालदेखि भएका प्रमुख राजनीतिक परिवर्तनमा पार्टीले नेतृत्वदायी र निर्णायक भूमिका निर्वाह गरेको बताएका छन् । कांग्रेसको ऐतिहासिक विरासत कुनै व्यक्तिको महत्वाकांक्षा वा नियोजित षड्यन्त्रबाट निस्तेज हुन नसक्ने उनको भनाइ छ ।  उनले पछिल्लो तीन दशकमा भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, मानव संशाधन विकास, गरिबी न्यूनीकरण तथा नागरिक पहुँचका क्षेत्रमा भएको प्रगतिलाई तुलनात्मक रूपमा हेर्न पनि आग्रह गरेका छन् । देउवाले आफूलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीको लोभ नरहेको पनि दावी गरेका छन् ।  अब कुनै पदमा पुग्ने लालसा नरहे पनि राज्य र कांग्रेसले आफ्नो अनुभवको सदुपयोग आवश्यक ठाने जीवनको अन्तिम क्षणसम्म जिम्मेवारी निर्वाह गर्न पछि नहट्ने उनले बताएका छन् । साथै देउवाले विनाशकारी बाढीबाट प्रभावितको खोज, उद्धार, राहत, पुनस्र्थापना र पुनर्निर्माणका लागि सबै नेपालीलाई एकजुट हुन अपिल पनि गरेका छन् । बाढीमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै देउवाले शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन् । 

सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुखकै तलबबाट असुलिने

काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन सबै मन्त्रालय, आयोग, सचिवालय, सातवटै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र स्थानीय तहलाई आग्रह गरेको छ । सरुवा भएका कर्मचारीलाई विभिन्न बहानामा साविककै कार्यालयमा राखेर काम गराउने तथा सरुवा भइसकेपछि पनि पुरानै कार्यालयबाट तलबभत्ता भुक्तानी गर्ने प्रवृत्ति देखिएपछि मन्त्रालयले सबै निकायलाई यस्तो आग्रह गरेको हो । मन्त्रालयले मंगलबार (आज) जारी गरेको पत्रमा निजामती सेवा नियमावलीअनुसार सरुवा भएका कर्मचारीलाई तोकिएको अवधिभित्र रमाना नदिई साविककै कार्यालयबाट तलबभत्ता भुक्तानी गरिएमा रमाना दिनुपर्ने म्यादभन्दा बढी अवधिको तलबभत्ता सम्बन्धित कार्यालय प्रमुख र भुक्तानी दिने लेखा प्रमुखबाट असुलउपर हुने व्यवस्था रहेको स्पष्ट पारेको छ । मन्त्रालयका अनुसार पछिल्लो समय सरुवा भएका कर्मचारीलाई नियमावलीमा तोकिएको बहाली म्याद सकिँदासमेत रमाना नदिने, विभिन्न बहानामा साविककै कार्यालयमा राखेर काम गराउने र सरुवा भइसकेपछि पनि पूर्वकार्यालयबाटै तलबभत्ता भुक्तानी गर्ने गरेको पाइएको छ । यसकारण विशेषगरी स्थानीय तहमा जनशक्ति अभाव हुने र सेवा प्रवाहमा समेत गम्भीर समस्या सिर्जना हुने गरेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई कानुनले तोकेको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन सम्बन्धित सबै मन्त्रालय, आयोग, सचिवालय, सातवटै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र स्थानीय तहलाई निर्देशन दिएको छ । अन्यथा कानुनबमोजिम कारबाही हुनेसमेत मन्त्रालयले स्पष्ट पारेको छ । सरुवा भएका कर्मचारीलाई रमाना नदिई साविककै कार्यालयबाट तलबभत्ता भुक्तानी गरेको पाइएमा लेखापरीक्षणका क्रममा त्यस्तो रकमलाई बेरुजु कायम गरी निर्णय कार्यान्वयनमा सहयोग गर्न महालेखा परीक्षकको कार्यालयलाई आग्रह गरिएको छ । त्यस्तै, निर्णय कार्यान्वयनमा सहयोग गर्न मातहतका सबै कोष तथा लेखा नियन्त्रक कार्यालयलाई समेत परिपत्र गरिदिन महालेखा नियन्त्रकको कार्यालयलाई मन्त्रालयले अनुरोध गरेको छ । साबिकमा मन्त्रालयबाट सरुवाको निर्णय हुने तर त्यसको प्रभावकारी कार्यान्वयन नहुने अवस्थालाई अन्त्य गर्न यो कदम चालिएको मन्त्रालयले जनाएको छ ।   

तातोपानी नाका तत्काल खुलाउन नेकपाको माग

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख सचेतक युवराज दुलालले तातोपानी नाका तत्काल सञ्चालनमा ल्याउन सरकारसँग माग गरेका छन् । मंगलबार (आज) बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण केरुङ नाका अवरुद्ध भएकाले वैकल्पिक नाकाका रूपमा रहेको तातोपानी नाका खुलाउन सरकारले तत्काल कूटनीतिक पहल गर्नुपर्ने बताए । तातोपानी नाका लामो समयदेखि बन्द हुँदा दशैंको मुखमा आयात–निर्यात प्रभावित हुनुका साथै बजारमा वस्तुको अभाव र महँगी बढ्ने अवस्था सिर्जना भएको उनले बताए ।  सरकारले तातोपानी नाका सञ्चालनका लागि प्रभावकारी कूटनीतिक पहल गर्न नसकेको आरोपसमेत उनले लगाए । भोटेकोशी नदीको बाढीले सामान बगाउँदा व्यवसायीले ठूलो क्षति बेहोर्नुपरेको र नाका बन्द हुँदा चाडपर्वका बेला अत्यावश्यक वस्तुको आपूर्तिमा समेत समस्या आउन सक्ने उनको भनाइ छ ।  महँगीका कारण गरिब तथा विपन्न परिवारको दैनिक जीवन प्रभावित भइरहे पनि सरकार यस विषयमा गम्भीर हुन नसकेको उनले आरोप लगाए । ‘रसुवाको केरुङ नाका भोटेकोशीको बाढीले बगाएपछि सहज यातायात र नाका सञ्चालन गर्न सकिने तातोपानी नाका आज बन्द अवस्थामा छ । दुई हप्ताभन्दा लामो समय भइसक्दा पनि सरकारले कूटनीतिक पहल गरेर तातोपानी नाका खुलाउने प्रभावकारी प्रयत्न गरेको छैन,’ उनले भने । दशैं नजिकिँदै गर्दा भोटेकोशी नदीको बाढीले एकातिर व्यवसायीको ठूलो क्षति भएको र अर्कोतर्फ बजारमा सामानको अभाव हुने अवस्था सिर्जना भएको उनले बताए ।  नाकाबाट सामान आयात हुन नसके चाडपर्वको समयमा सर्वसाधारणले थप सास्ती व्यहोर्नुपर्ने उनको भनाइ छ । ‘एकातिर महँगी आकाशिएको छ । खसीको मासुमा चार सय रुपैयाँ बढ्यो, चामलमा चार सय रुपैयाँ बढ्यो भनेर सामान्य रूपमा लिने अवस्था छैन । चार सय रुपैयाँ बढ्दा त्यो गरिबको चुलोमा कसरी असर गर्छ भन्ने कुरा सरकारले बुझ्नुपर्छ,’ उनले भने । महँगीको मारले गरिब तथा विपन्न परिवारको दैनिक जीवनमा पारिरहेको असरलाई सरकारले गम्भीर रूपमा लिनुपर्ने बताउँदै उनले तातोपानी नाका अविलम्ब सञ्चालनका लागि कूटनीतिक पहल गर्न जोडदार माग गरे । त्यस्तै, उनले मुस्ताङको कोरला नाकामा समेत व्यवसायीले समस्या भोगिरहेको बताए ।  चिनियाँ पक्षले मुस्ताङबाहेक अन्य जिल्लाका नेपाली चालकलाई प्रवेश अनुमति नदिँदा ठूला सवारी सञ्चालनका लागि पर्याप्त चालक जनशक्ति अभाव भएको उनले बताए । ‘कोरला नाकामा चिनियाँ पक्षले मुस्ताङबाहेकका अन्य जिल्लाका चालकलाई प्रवेश अनुमति नदिएका कारण ठूला सवारी चलाउने पर्याप्त चालक जनशक्ति छैन । यसबाट व्यवसायीले ठूलो समस्या भोग्नुपरेको छ,’ उनले भने । कोरला नाकाबाट चालकलाई आवश्यक गन्तव्यसम्म जान सक्ने व्यवस्था मिलाउन तत्काल कूटनीतिक पहल गर्न व्यवसायी क्षेत्रबाट माग भएको भन्दै उनले सरकारको ध्यानाकर्षण गराए ।