कृष्णभीरमा पाखो ताछेर ‘फेरि ठूलो विपत्ति निम्त्याउने जोखिम’ : माटोविज्ञ न्यौपाने

काठमाडौं । बाढीपहिरोका कारण क्षतिग्रस्त पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीर खण्डमा सडक विभागले असोज १ गतेदेखि दुईतर्फी सवारी सञ्चालन गर्ने तयारी गरिरहेको छ । तर भू–प्राविधिक विज्ञले भने हाल पाखो काटेर बनाइँदै गरेको अस्थायी सडकलाई दीर्घकालीन समाधानका रूपमा लिन नहुने बताएका छन्  ।

बाढीपछि नदीले सडकको तल्लो भाग कटान गरेपछि कृष्णभीरमा सडक सञ्चालनका लागि माथिल्लो भागको पाखो काटेर अस्थायी सडक निर्माण भइरहेको छ । सडक विभागले तत्काल यातायात सञ्चालन सहज बनाउन उक्त विकल्प अघि बढाएको हो ।

तर भू–प्राविधिक इन्जिनियर उदयराज न्यौपानेले कृष्णभीरको भौगोलिक अवस्था नै संवेदनशील रहेकाले सडक निर्माण गर्दा जमिनको अवस्था र नदी कटानलाई मुख्य आधार बनाउनुपर्ने बताए । न्यौपानेले कृष्णभीरको सडक रहेको स्थान सामान्य बलियो चट्टानी भूभाग नभई नदी तथा पहिरोले थुपारेको पदार्थमाथि रहेको बताए ।

उनका अनुसार सडकको तलबाट नदीले निरन्तर कटान गरिरहेको अवस्थामा माथिल्लो भाग काटेर सडक बनाउँदा जोखिमको प्राविधिक मूल्याङ्कन आवश्यक हुन्छ ।

‘लगभग हामी डिपोजिटमै रोड छौँ । तलबाट खोलाले काटिरहेको छ । पहाड, चट्टान पनि त्यति राम्रो छैन,’ उनले भने ।

नदीको कटानका कारण सडकको तल्लो भाग कमजोर हुँदै गएको अवस्थामा माथिल्लो भागमा गरिने कटानले भू–भागको स्थिरतामा दखल हुनसक्ने उनको भनाइ छ । कृष्णभीरको समस्या केवल सडक भत्किएको वा सडकको चौडाइ घटेको विषय नभई त्यसको तल रहेको जमिन र नदीको बहावसँग जोडिएको उनले बताए ।

‘तलबाट खोला यति ठूलो मात्रामा हिट गरेपछि तलको काटिदिएपछि यो झर्ने त भइहाल्यो । धन्न पुरै झरेन,’ न्यौपानेले भने ।

सडक विभागका अनुसार बाढीपछि पृथ्वी राजमार्गका विभिन्न स्थानमा क्षति पुगेको छ । त्यसक्रममा नदीले सडकको तल्लो भाग कटान गरेपछि परेवाभीर, कृष्णभीरलगायतका स्थानमा थप समस्या आएको थियो ।

कृष्णभीर पुरानो सक्रिय पहिरो क्षेत्रसमेत भएकाले सडक विभागले विज्ञ तथा नेपाल जियोटेक्निकल सोसाइटीसँग परामर्श गरेर पहिरोको साइडबाट पाखो काटी अस्थायी सडक निर्माण गर्ने निर्णय गरेको हो ।

सडक विभागका योजना तथा अनुगमन महाशाखाका उपमहानिर्देशक शुभराज न्यौपानेका अनुसार अस्थायी सडकको एकतर्फी ट्र्याकमा ग्यासका बुलेटलगायतका सवारीसाधन परीक्षण गरिसकिएको छ ।

सडकमा ग्राभेल राख्ने, सतहमुनिको पानी व्यवस्थापन गर्ने, फ्रेन्च ड्रेन निर्माण गर्ने तथा पानी निकासका लागि होरिजोन्टल ड्रिलिङ गर्ने काम बाँकी रहेको उनले बताए ।

विभागले असोज १ गतेदेखि दुईतर्फी सवारी सञ्चालनको तयारी गरे पनि पहिरो वा अन्य प्राविधिक समस्या देखिएमा अवस्थाअनुसार निर्णय गरिने जनाएको छ ।

वर्षा र बाढीको अवस्था सामान्य भएपछि कृष्णभीरको विस्तृत प्राविधिक अध्ययन गरी आवश्यक मर्मत तथा पुनर्निर्माण अघि बढाउने विभागको योजना छ ।

तर न्यौपानेका अनुसार तत्काल यातायात सञ्चालन गर्नु र दीर्घकालीन रूपमा सडकलाई सुरक्षित बनाउनु फरक विषय हुन् । अहिलेको अस्थायी सडकले यातायातको समस्या समाधान गर्न सक्ने भए पनि कृष्णभीरको भौगोलिक जोखिमलाई भने स्थायी रूपमा समाधान गर्न नसक्ने उनको भनाइ छ ।

उनले कृष्णभीरमा सडक निर्माणको दीर्घकालीन विकल्पका रूपमा सुरुङ वा वैकल्पिक संरचनाबारे गम्भीर अध्ययन गर्नुपर्ने बताए ।

‘अरू दीर्घकालीन उपाय भनेको कि टनेलमा जानुपर्यो । कि पारी एउटा पुल हाल्नुपर्यो र तलपट्टिको कनेक्सन बनाउनुपर्यो,’ उनले भने ।

कृष्णभीरमा कुन विकल्प उपयुक्त हुन्छ भन्ने विषय भने विस्तृत भू–प्राविधिक अध्ययनपछि मात्रै निर्धारण गर्नुपर्ने न्यौपानेको भनाइ छ । तत्काल सडक खोल्नुपर्ने आवश्यकता भए पनि भविष्यमा पुनः सोही ठाउँमा सडक क्षति हुने अवस्था दोहोरिन नदिन संरचनाको दीर्घकालीन स्थायित्व, जोखिम र लागत सबैलाई एकैपटक हेर्नुपर्ने उनले बताए ।

‘कुन चाहिँ फिजिबल छ, कुन रिजिलियन्ट छ, कुन भायबल छ, त्यो पत्ता लगाएर काम हामीले गर्नै पर्छ,’ न्यौपानेले भने ।

उनका अनुसार कृष्णभीर सामान्य सडकखण्ड मात्र नभई मुलुकको प्रमुख यातायात सञ्जालसँग जोडिएको महत्वपूर्ण मार्ग हो । पटक–पटक पहिरो र सडक अवरोधको समस्या देखिँदै आएको यस क्षेत्रमा हरेकपटक तत्काल सडक खुलाउनेभन्दा दीर्घकालीन समाधानतर्फ जानुपर्ने आवश्यकता रहेको उनले बताए ।

‘यो हाम्रो लाइफलाइन रोड हो । बारम्बार समस्या आइरहेको छ भने त्यसलाई दीर्घकालीन रूपमा सोच्नुपर्छ,’ उनले भने ।

कृष्णभीरको अहिलेको अवस्था बाढीपहिरोपछि सडक पुनः सञ्चालन गर्ने नेपालको परम्परागत अभ्यास र पूर्वाधारलाई जलवायु तथा प्राकृतिक विपद्का नयाँ जोखिमअनुसार पुनः डिजाइन गर्ने आवश्यकताबीचको उदाहरणसमेत बनेको न्यौपानेको भनाइ छ ।

उनका अनुसार सडक बनाउँदा केवल अहिलेको अवस्थालाई हेरेर संरचना तयार गर्नेभन्दा नदीको सम्भावित कटान, पहिरोको सक्रियता, जमिनको प्रकृति र भविष्यमा आउन सक्ने ठूलो बाढीको प्रभावसमेत अध्ययन गर्नुपर्छ ।

विशेष गरी पहाडी क्षेत्रमा सडकको तलबाट हुने नदी कटानलाई बेवास्ता गरेर माथिल्लो भागमा मात्रै संरचना थप्दा समस्या एक ठाउँबाट अर्को ठाउँमा सर्नसक्ने जोखिम रहने उनले बताए ।

कृष्णभीरमा अहिले अस्थायी सडक निर्माण गरेर यातायात सञ्चालन गर्ने तयारी भइरहेको भए पनि त्यसलाई अन्तिम समाधानका रूपमा नलिई विस्तृत भू–प्राविधिक अध्ययनबाट सुरक्षित र दीर्घकालीन विकल्प छनोट गर्नुपर्ने उनको सुझाव छ ।

‘हामीले दीर्घकालीन सोच्नैपर्छ । यो लाइफलाइन हो । पटक–पटक समस्या भइरहेको ठाउँमा फेरि त्यही तरिकाले मात्रै सोच्यौँ भने दीर्घकालमा समस्या समाधान हुँदैन,’ न्यौपानेले भने ।

सडक विभागले भने तत्काल यातायात सञ्चालनका लागि अस्थायी व्यवस्थासँगै वर्षायामपछि विस्तृत प्राविधिक अध्ययन गर्ने जनाएको छ ।

Share News