काठमाडौं । नेपाली कांग्रेसका उपसभापति शेरबहादुर देउवाले पार्टीको विधि, विधान र पद्धतिविपरीत हुने कुनै पनि गतिविधिबाट कांग्रेसलाई कमजोर वा विभाजित हुन नदिने बताएका छन् ।
देउवाले सार्वजनिक रूपमा अपिल जारी गर्दै यस्तो बताएका हुन् ।
विशेष महाधिवेशनको वैधता सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा त्यसको अन्तिम निरुपण नहुँदै महाधिवेशनको प्रक्रिया अघि बढाउनु उपयुक्त नहुने उनको भनाइ छ ।
उनले पार्टीलाई कमजोर बनाउने गरी अवैधानिक महाधिवेशन गरिए आफू मूकदर्शक भएर बस्न नसक्ने चेतावनी दिएका छन् ।
साथै उनले कांग्रेसका नेता तथा कार्यकर्तालाई आगामी मंसिर २१, २२ र २३ गते हुने १५औं महाधिवेशनको तयारीमा एकताबद्ध भएर जुट्न अपिल गरेका छन् ।
देउवाले नेपाली कांग्रेसभित्र बढ्दै गएको आन्तरिक मतभेदप्रति पनि गम्भीर चिन्ता व्यक्त गरेका छन् ।
उनले कांग्रेस केवल एउटा राजनीतिक दल नभई आधुनिक नेपाल निर्माणको प्रमुख आधारस्तम्भ भएको उल्लेख गर्दै २००७ सालदेखि भएका प्रमुख राजनीतिक परिवर्तनमा पार्टीले नेतृत्वदायी र निर्णायक भूमिका निर्वाह गरेको बताएका छन् ।
कांग्रेसको ऐतिहासिक विरासत कुनै व्यक्तिको महत्वाकांक्षा वा नियोजित षड्यन्त्रबाट निस्तेज हुन नसक्ने उनको भनाइ छ ।
उनले पछिल्लो तीन दशकमा भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, मानव संशाधन विकास, गरिबी न्यूनीकरण तथा नागरिक पहुँचका क्षेत्रमा भएको प्रगतिलाई तुलनात्मक रूपमा हेर्न पनि आग्रह गरेका छन् ।
देउवाले आफूलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीको लोभ नरहेको पनि दावी गरेका छन् ।
अब कुनै पदमा पुग्ने लालसा नरहे पनि राज्य र कांग्रेसले आफ्नो अनुभवको सदुपयोग आवश्यक ठाने जीवनको अन्तिम क्षणसम्म जिम्मेवारी निर्वाह गर्न पछि नहट्ने उनले बताएका छन् ।
साथै देउवाले विनाशकारी बाढीबाट प्रभावितको खोज, उद्धार, राहत, पुनस्र्थापना र पुनर्निर्माणका लागि सबै नेपालीलाई एकजुट हुन अपिल पनि गरेका छन् ।
बाढीमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै देउवाले शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन् । 